मेनु

खोज रिपोर्ट

जनकपुर बमकाण्ड: बम पड्काउन ६० लाखको 'डिल'

जनकपुर बमकाण्डमा सभासद् एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह र मुकेश चौधरीबीच ६० लाख रुपैयाँको 'डिल' भएको खुलासा भएको छ। सशस्त्र समूहका नाइके मुकेश चौधरी एक महिनाअघि पक्राउ परेपछि बमकाण्डमा सभासद् साहको संग्लनता खुलेको थियो। चौधरीको प्रारम्भिक बयानका आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई पक्राउ गरेको थियो। यादवले विस्फोट योजनाकै सिलसिलामा साहले दिएको आठ लाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान प्रहरीसमक्ष दिएका छन्। -नवीन झा: खोज पत्रकारिता केन्द्र


जनकपुर बमकाण्डमा सभासद् एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह र मुकेश चौधरीबीच ६० लाख रुपैयाँको 'डिल' भएको खुलासा भएको छ। सशस्त्र समूहका नाइके मुकेश चौधरी एक महिनाअघि पक्राउ परेपछि बमकाण्डमा सभासद् साहको संग्लनता खुलेको थियो। चौधरीको प्रारम्भिक बयानका आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई पक्राउ गरेको थियो। यादवले विस्फोट योजनाकै सिलसिलामा साहले दिएको आठ लाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान प्रहरीसमक्ष दिएका छन्।




-नवीन झा: खोज पत्रकारिता केन्द्र




 




[प्रकाशित समाचारको लागि तलको LINK मा CLICK गर्नुहोला ।]




http://www.annapurnapost.com




स्रोतका अनुसार साहले धनुषा जिविसका सहलेखापाल जीवनाथ चौधरीलाई 'समाप्त' पार्नेगरी बम विस्फोट गराउने योजना बनाएका थिए। त्यसबापत साहले मुकेशलाई ६० लाख रुपैयाँ दिने बाचा गरेका थिए। तर घटनामा जीवनाथ 'समाप्त' नभएपछि साहले उनलाई बाचा गरेको रकम नदिएका कारण विस्फोट योजना बनाउने क्रममा साह र मुकेशबीच भएको टेलिफोन वार्ताको अडियो चुहिएको थियो। विस्फोटपछि सभासद् साह र मुकेशको सम्बन्ध बिग्रिएको हो।




sanjaya mukesh




सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह                                         सशस्त्र समूहका नाइके मुकेश चौधरी




मुकेशले विस्फोटको केही समयपछि आफ्नो सम्पर्कमा रहेका केही पत्रकारलाई साहले आफूलाई धोका दिएको र आफ्ना सबै मान्छे पक्राउ गराइदिएको भन्दै उनलाई सिद्ध्याइदिने चेतावनी दिने गरेका थिए। साहले पनि आफूलाई मुकेशले फसाउन खाजेको बताउँदै आएका थिए।




उनीहरूको टेलिफोनवार्ता समेटिएको समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएपछि प्रहरीले अनुसन्धान गरी उक्त वार्ता सभासद् साह र मुकेशकै भएको प्रमाणित गरेको थियो। समाचार प्रकाशित भएको चार दिनपछि प्रहरीले सभासद् साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। उनी फरार भएको भन्दै प्रहरीले पक्राउ गर्न भने सकेको छैन।




गत फागुन १९ गते प्रहरीले मुकेशलाई भारतीय सुरक्षा निकायको सहयोगमा भारतबाटै पक्राउ गरेर ल्याएको थियो। मुकेशको साथबाट प्रहरीले आठवटा सिमकार्ड, एउटा ट्याब्लेट, एउटा पेस्तोल र भूमिगत संगठनसम्बन्धी केही दस्ताबेज बरामद गरेको थियो।




प्रहरी अनुसन्धानबाट सभासद् साह र मुकेशबीच पुरानो सम्बन्ध रहेको देखिएको छ। कल डिटेललगायत केही प्रमाणका आधारमा साह नै सशस्त्र समूहको सञ्चालक रहेको निष्कर्ष प्रहरीले निकालेको छ।




प्रहरी अनुसन्धानअनुसार साहले प्रयोग गरेका मोबाइल नम्बर ९८५४०२०२०७, ९७२१५४९८३८ र ९८१६८८४५५१ तथा मुकेश चौधरीले प्रयोग गरेका भारतीय फोन नम्बर ८०९०३७५५६९ र ९१२५३१४७९९ बीच दुई सय ४० मिनेटभन्दा बढी कुरा भएको छ। विस्फोट भएको दिन उनीहरूबीच सातपटक कुरा भएको थियो। त्यस बेला एक सातामा ६५ पटक साहले चौधरीसँग कुरा गरेका थिए।




मिथिला राज्य माग गर्दै जनकपुरको रामानन्दचोकमा मिथिला राज्य संघर्ष समितिले शान्तिपूर्ण धर्ना दिइरहेका बेला २०६९ वैशाख १८ गते बम विस्फोट गराइँदा पाँचजनाको ज्यान गएको थियो। घटनामा परी ३२ जना घाइते भएका थिए।




२०६९ पुस ४ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा साहविरुद्ध परेको उजुरीमा उल्लेख छ, 'सञ्जय साहले मधेसमा रहेका भूमिगत आपराधिक समूह र पार्टीसँगसमेत साँठगाँठ राखेका छन्। त्यसमा प्रमुख हुन्- आकाश त्यागी भनिने श्रीराम यादव, पृथ्वी सिंह भनिने श्याम यादव, अर्जुन सिंह र प्रकाश विद्यार्थी भनिने मुकेश चौधरी। मुकेश र श्रीरामले भूमिगत हुनुभन्दा अगाडि पनि सञ्जयकै गुन्डागर्दीको फर्ममा कार्य गरेका थिए।' यी भूमिगत समूहलाई परिचालन गरेर साहले जनकपुर क्षेत्रका उद्योगी, व्यापारी, निर्माण व्यवसायी, सरकारी कार्यालयका प्रमुख र अन्य कर्मचारीलाई धम्क्याई मोटो रकम असुली गर्दै आएको र रकम दिन नमाने हत्या गर्ने गरेको पनि उजुरीमा उल्लेख थियो।




२०६० जेठ ३० गते धनुषाको सखुवा महेन्द्रनगरमा डकैती गरेको आरोपमा साहलाई एक वर्ष नौ महिना कैद सजाय सुनाइएको थियो। त्यतिबेला साहको साथबाट हतियार बरामद भएपछि हातहतियार तथा खरखजाना मुद्दामा उक्त कैद सुनाइएको थियो। साहमाथि आफ्नै गाडीचालक नन्दकुमार राउतको हत्या गरेको आरोप पनि छ। राउत परिवारले साहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छन्।




[२०७० चैत्र २७(April 10, 2014) को अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित]




 


प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

२४४ करोडको सहकारी स्क्यामः सञ्चालकले गरे अपचलन, चुके स्थानीय–प्रदेश सरकार

२४४ करोडको सहकारी स्क्यामः सञ्चालकले गरे अपचलन, चुके स्थानीय–प्रदेश सरकार

ललितपुरको लगनखेलस्थित गतिशील सहकारीका पहुँचवाला सञ्चालकले साढे २ अर्ब अपचलन गरेर बचतकर्ताको बिल्लीबाँठ बनाएका छन्। ठिकठाक चलिरहेको सहकारीमा रचिएको यो...
बाघ संरक्षणको मूल्य चुकाउँदैछन्, जंगलछेउका गरीब

बाघ संरक्षणको मूल्य चुकाउँदैछन्, जंगलछेउका गरीब

नेपालले बाघको संख्या दोब्बरभन्दा बढी बनाएर अन्तर्राष्ट्रिय मञ्चमा वाह्वाही पाइरहँदा बाँके र बर्दियाका बाघ पीडितहरू लाखौंको ऋणमा डुबिरहेका छन्। उपचारका...
राउटेको भत्तामै भ्रष्टाचार, ‘मूलप्रवाहीकरण’ले बढायो जोखिम

राउटेको भत्तामै भ्रष्टाचार, ‘मूलप्रवाहीकरण’ले बढायो जोखिम

नेपालको अन्तिम फिरन्ते समुदाय राउटे बाह्य हस्तक्षेप र मूलप्रवाहीकरणको नाममा भइरहेका कार्यक्रमका कारण अस्तित्वकै संकटमा छ। उदेकलाग्दो त यो समुदायका...