मेनु

खोज रिपोर्ट

जनकपुर बमकाण्ड: बम पड्काउन ६० लाखको 'डिल'

जनकपुर बमकाण्डमा सभासद् एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह र मुकेश चौधरीबीच ६० लाख रुपैयाँको 'डिल' भएको खुलासा भएको छ। सशस्त्र समूहका नाइके मुकेश चौधरी एक महिनाअघि पक्राउ परेपछि बमकाण्डमा सभासद् साहको संग्लनता खुलेको थियो। चौधरीको प्रारम्भिक बयानका आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई पक्राउ गरेको थियो। यादवले विस्फोट योजनाकै सिलसिलामा साहले दिएको आठ लाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान प्रहरीसमक्ष दिएका छन्। -नवीन झा: खोज पत्रकारिता केन्द्र

जनकपुर बमकाण्डमा सभासद् एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह र मुकेश चौधरीबीच ६० लाख रुपैयाँको 'डिल' भएको खुलासा भएको छ। सशस्त्र समूहका नाइके मुकेश चौधरी एक महिनाअघि पक्राउ परेपछि बमकाण्डमा सभासद् साहको संग्लनता खुलेको थियो। चौधरीको प्रारम्भिक बयानका आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई पक्राउ गरेको थियो। यादवले विस्फोट योजनाकै सिलसिलामा साहले दिएको आठ लाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान प्रहरीसमक्ष दिएका छन्।

-नवीन झा: खोज पत्रकारिता केन्द्र

 

[प्रकाशित समाचारको लागि तलको LINK मा CLICK गर्नुहोला ।]

http://www.annapurnapost.com

स्रोतका अनुसार साहले धनुषा जिविसका सहलेखापाल जीवनाथ चौधरीलाई 'समाप्त' पार्नेगरी बम विस्फोट गराउने योजना बनाएका थिए। त्यसबापत साहले मुकेशलाई ६० लाख रुपैयाँ दिने बाचा गरेका थिए। तर घटनामा जीवनाथ 'समाप्त' नभएपछि साहले उनलाई बाचा गरेको रकम नदिएका कारण विस्फोट योजना बनाउने क्रममा साह र मुकेशबीच भएको टेलिफोन वार्ताको अडियो चुहिएको थियो। विस्फोटपछि सभासद् साह र मुकेशको सम्बन्ध बिग्रिएको हो।

sanjaya mukesh

सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह                                         सशस्त्र समूहका नाइके मुकेश चौधरी

मुकेशले विस्फोटको केही समयपछि आफ्नो सम्पर्कमा रहेका केही पत्रकारलाई साहले आफूलाई धोका दिएको र आफ्ना सबै मान्छे पक्राउ गराइदिएको भन्दै उनलाई सिद्ध्याइदिने चेतावनी दिने गरेका थिए। साहले पनि आफूलाई मुकेशले फसाउन खाजेको बताउँदै आएका थिए।

उनीहरूको टेलिफोनवार्ता समेटिएको समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएपछि प्रहरीले अनुसन्धान गरी उक्त वार्ता सभासद् साह र मुकेशकै भएको प्रमाणित गरेको थियो। समाचार प्रकाशित भएको चार दिनपछि प्रहरीले सभासद् साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। उनी फरार भएको भन्दै प्रहरीले पक्राउ गर्न भने सकेको छैन।

गत फागुन १९ गते प्रहरीले मुकेशलाई भारतीय सुरक्षा निकायको सहयोगमा भारतबाटै पक्राउ गरेर ल्याएको थियो। मुकेशको साथबाट प्रहरीले आठवटा सिमकार्ड, एउटा ट्याब्लेट, एउटा पेस्तोल र भूमिगत संगठनसम्बन्धी केही दस्ताबेज बरामद गरेको थियो।

प्रहरी अनुसन्धानबाट सभासद् साह र मुकेशबीच पुरानो सम्बन्ध रहेको देखिएको छ। कल डिटेललगायत केही प्रमाणका आधारमा साह नै सशस्त्र समूहको सञ्चालक रहेको निष्कर्ष प्रहरीले निकालेको छ।

प्रहरी अनुसन्धानअनुसार साहले प्रयोग गरेका मोबाइल नम्बर ९८५४०२०२०७, ९७२१५४९८३८ र ९८१६८८४५५१ तथा मुकेश चौधरीले प्रयोग गरेका भारतीय फोन नम्बर ८०९०३७५५६९ र ९१२५३१४७९९ बीच दुई सय ४० मिनेटभन्दा बढी कुरा भएको छ। विस्फोट भएको दिन उनीहरूबीच सातपटक कुरा भएको थियो। त्यस बेला एक सातामा ६५ पटक साहले चौधरीसँग कुरा गरेका थिए।

मिथिला राज्य माग गर्दै जनकपुरको रामानन्दचोकमा मिथिला राज्य संघर्ष समितिले शान्तिपूर्ण धर्ना दिइरहेका बेला २०६९ वैशाख १८ गते बम विस्फोट गराइँदा पाँचजनाको ज्यान गएको थियो। घटनामा परी ३२ जना घाइते भएका थिए।

२०६९ पुस ४ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा साहविरुद्ध परेको उजुरीमा उल्लेख छ, 'सञ्जय साहले मधेसमा रहेका भूमिगत आपराधिक समूह र पार्टीसँगसमेत साँठगाँठ राखेका छन्। त्यसमा प्रमुख हुन्- आकाश त्यागी भनिने श्रीराम यादव, पृथ्वी सिंह भनिने श्याम यादव, अर्जुन सिंह र प्रकाश विद्यार्थी भनिने मुकेश चौधरी। मुकेश र श्रीरामले भूमिगत हुनुभन्दा अगाडि पनि सञ्जयकै गुन्डागर्दीको फर्ममा कार्य गरेका थिए।' यी भूमिगत समूहलाई परिचालन गरेर साहले जनकपुर क्षेत्रका उद्योगी, व्यापारी, निर्माण व्यवसायी, सरकारी कार्यालयका प्रमुख र अन्य कर्मचारीलाई धम्क्याई मोटो रकम असुली गर्दै आएको र रकम दिन नमाने हत्या गर्ने गरेको पनि उजुरीमा उल्लेख थियो।

२०६० जेठ ३० गते धनुषाको सखुवा महेन्द्रनगरमा डकैती गरेको आरोपमा साहलाई एक वर्ष नौ महिना कैद सजाय सुनाइएको थियो। त्यतिबेला साहको साथबाट हतियार बरामद भएपछि हातहतियार तथा खरखजाना मुद्दामा उक्त कैद सुनाइएको थियो। साहमाथि आफ्नै गाडीचालक नन्दकुमार राउतको हत्या गरेको आरोप पनि छ। राउत परिवारले साहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छन्।

[२०७० चैत्र २७(April 10, 2014) को अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित]

 

प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन

सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन

तरकारीको उत्पादनदेखि बजारसम्मको नेटवर्क निर्माण गरी किसानलाई उचित मूल्य र उपभोक्तालाई सुपथ मूल्यमा तरकारी उपलब्ध गराउने भनी झण्डै एक अर्ब...
कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौंका डीपीआर

कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौंका डीपीआर

कोशी प्रदेश सरकारले करोडौं रुपैयाँ खर्च गरेर बनाएका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयनमा जानै नसक्ने अवस्थामा छन्। कार्यकर्ता पोस्न र...
स्वार्थको फन्दामा सांसद, बिचौलियाको हितमा कानून

स्वार्थको फन्दामा सांसद, बिचौलियाको हितमा कानून

कुनै विधेयक मस्यौदाका क्रममा मात्रै होइन, संसद्मा दर्तापछि पनि सांसदलाई आफैंले तयार पारेको संशोधन हाल्न लगाएर स्वार्थ समूहले मनपरी गरिरहेका...