मेनु

खोज रिपोर्ट

व्यवसायिक बन्दैछन् पूर्व लडाकू

२०५८ सालदेखि करिब १० वर्षसम्म तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनामा बिताएका ललितपुर इकुडोलका प्रवीण थापा मगर २ वर्षदेखि ललितपुरको चापागाँउमा बंगुर पालेर बसेका छन् । जनमुक्ति सेनामा कम्पनी कमाण्डर रहेका थापाले स्वेच्छिक अवकास लिंदा ६ लाख रुपैयाँ पाएका थिए । यसमा केही ऋण पनि थपेर १२ लाख रुपैयाँको लगानीमा शुरू गरेको बंगुर फर्ममा अहिले माउ र बच्चा गरेर ४० वटा बंगुर छन् । यहि व्यवसायबाट वर्षको ४ लाखसम्म कमाउन थालेको उनले बताए । -कमल पराजुली : खोज पत्रकारिता केन्द्र   


२०५८ सालदेखि करिब १० वर्षसम्म तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनामा बिताएका ललितपुर इकुडोलका प्रवीण थापा मगर २ वर्षदेखि ललितपुरको चापागाँउमा बंगुर पालेर बसेका छन् । जनमुक्ति सेनामा कम्पनी कमाण्डर रहेका थापाले स्वेच्छिक अवकास लिंदा ६ लाख रुपैयाँ पाएका थिए । यसमा केही ऋण पनि थपेर १२ लाख रुपैयाँको लगानीमा शुरू गरेको बंगुर फर्ममा अहिले माउ र बच्चा गरेर ४० वटा बंगुर छन् । यहि व्यवसायबाट वर्षको ४ लाखसम्म कमाउन थालेको उनले बताए ।




-कमल पराजुली : खोज पत्रकारिता केन्द्र   




शान्ति प्रक्रियामा आएर स्वेच्छिक अवकास रोजेका पूर्व लडाकूहरू अहिले आ–आफ्ना व्यवसायमा लागेका छन् । तीमध्येका एक हुन्– गोर्खाका जीवनाथ घिमिरे । स्वेच्छिक अवकासबाट फर्कंदा ५ लाख पाएका उनी अहिले त्यही पैसा लगाएर काठमाडांैको सुन्दरीजलमा तरकारी खेती गरेर बसेका छन् । भाडामा लिएको ४ रोपनी जमिनमा उनले शुरू गरेको तरकारी खेतीबाट वर्षमा २ लाखजति कमाउन थालेको उनी बताउछन् । उनी भन्छन्, ‘अब त परिवार पनि पाल्नुप¥यो नि ।’ 




Ex Combatants 2-minजनमुक्ति सेनामा सबैले छिरिङ भन्ने ललितपुर बुखेलका ईन्द्रबहादुर तामाङले पनि चापागाँउमा गोलभेडा खेती गरिरहेका छन् । जनमुक्ती सेनामा कम्पनी कमाण्डर रहेका उनले त्यतिबेला पाएको ६ लाख रुपैयाँबाटै यो व्यवसाय शुरू गरेका हुन् ।




स्वेच्छिक अवकासमा फर्किएका पूर्व लडाकूहरू यस्तै खेतीपाती र अन्य व्यवसायमा लागेका छन् । पूर्व जनमुक्ती सेनाको ब्रिगेड कमाण्डर र तेश्रो डिभिजनको सचिव रहेका प्रकाश जिएम अबिरलले अहिले काठमाडांैको गोंगबुमा होटल चलाइरहेका छन् । स्वेच्छिक अवकासबाट पाएको ७ लाख र बाँकी अरु ३ जना साथी मिलेर २१ को लगानीमा शुरू गरेको होटलमा आउने पाहुनाको सत्कार गर्न उनलाई अहिले भ्याइनभ्याइ छ ।




काठमाडौं आलापोटका नारायण नगरकोटी जनमुक्ती सेनामा रहदा थुप्रै ठाँउको लडाईंमा सहभागी भए । तर शान्ति प्रक्रियामा आएपछि स्वेच्छिक अवकासमा पाएको ५ लाख रुपैयाँ लगानी गरेर अहिले सुन्दरीजलमा फर्निचर उद्योग चलाएर बसेका छन् ।  




अडियोको लागि तलको LINC मा CLICK गर्नुहोला ।




… … … ND




प्रकाशित समाचारको लागि LINK मा CLICK गर्नुहोला ।




 http://ujyaaloonline.com/news/35809/Ex-Combatants/




यी पूर्व लडाकूहरू व्यवसायिक बन्दै गरेका केही उदाहरण हुन् । लडाँइ छोडेर शान्ति प्रक्रियामा आएका पूर्व लडाकूहरू आफ्नो लडाकू छविलाई फेरेर व्यवसायिक बन्दै छन् । १२ बुँदे सहमतीअनुसार तत्कालीन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पूर्व लडाकूहरूलाई नेपाली सेनामा समायोजन प्रकया शुरू गरिएको थियो । यस क्रममा अनमिनले प्रमाणीकरण गर्ने क्रममा १९ हजार ६ सय २ लडाकूमध्ये १५ हजार ६ सय ३० जनाले स्वेच्छिक अवकास रोजेर घर फर्किए भने १ हजार ४ सय २१ जना नेपाली सेनामा समायोजन भएका थिए । तीबाहेक करिब पाँच हजार पूर्व लडाकूलाई अयोग्य भएका भन्दै शिविरबाट निकालिएको थियो । उनीहरूले आफूलाई अयोग्य भनिएको, कुनै सुविधा र अवसर नदिएको भन्दै विभिन्न समयमा आन्दोलन गरिरहेका छन् । दुवै माओवादीका पार्टी कार्यालयमा धर्नादेखि लिएर बेलाबेलामा सडकमा समेत आन्दोलनका कार्यक्रम गरिरहेका ती बर्हिगमित लडाकूको समस्या समाधानको लागि अहिलेसम्म केही भएको छैन ।




स्वेच्छिक अवकास रोजेर घर फर्किएका लडाकूलाई भने सरकारले अवकास भत्ता र बाटो खर्चस्वरुप ८ अर्ब १५ करोड ५५ लाख ४४ हजार रुपैयाँ खर्च गरेको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको तथ्यांकले देखाउँछ । स्वच्छिक अवकास रोजेका लडाकूलाई दर्जा हेरेर ५ लाखदेखि ८ लाखसम्म बाँडिएको थियो ।




Ex Combatants-minराज्य सत्ता परिवर्तन गर्न भन्दै माओवादीले शुरू गरेको सशत्र युद्धमा हतियार बोकेर युद्ध मैदानमा होमिएका पूर्व लडाकूहरू अब आफ्नो परिवारको हेरचाहमा लागेका छन् । सुन्दरीजलमा भर्खरै रोपेको गोलभेडाको स्याहार गर्दै गरेको अवस्थामा भेटिएका पूर्व लडाकू जीवनाथ घिमिरे आफूले अहिले गरिरहेको काम समयको माग हो भन्छन् । ‘हिजो एउटा परिस्थितिमा बन्दुक बोकेर हिडियो’ उनी भन्छन्, ‘अब त्यो समय सकियो, सँधै पाटी भनेर भएन नि !, परिवारलाई पनि हेर्नुप¥यो ।’




चापागाँउमा तरकारी खेती गरेर बसेका पूर्व लडाकू छिरिङ पनि लामो समय युद्धमा हुँदा परिवारलाई हेर्न नभ्याएकोमा दुःखी छन् । ‘युद्धमा हुँदा त परिवारसँग भेट पनि हुँदैनथ्यो ।’ श्रीमती र ३ वर्षकी छोरीतिर हेर्दै उनी भन्छन्, ‘अब शान्ति प्रक्रियामा आएपछि परिवारको पनि त ख्याल गर्नुप¥यो । यिनलाई पाल्नको लागि अरु विकल्प नदेखेर तरकारी खेती गर्न लागेको हुँ ।’ छिरिङ एकीकृत नेकपा माओवादीको गाँउ कमिटीमा पनि छन् ।  ‘पार्टी त कहाँ छोड्न सकिन्छ र ?’ उनी भन्छन्, ‘तर पहिलाजस्तो लागेर भएन नि परिवार पनि त हेर्नुप¥यो ।’




व्यवसायी बनेपछि समाजमा पुनस्र्थापित

लामो समय बन्दुक बोकेका पूर्व लडाकूलाई फेरि समाजमा फर्केर बस्न केही असजिलो भयो । तर व्यवसायिक काममा लागेपछि विस्तारै सहज हँुदै गएको उनीहरूको अनुभव छ । ‘शुरूमा त बन्दुक बोक्ने मान्छे भनेर अलि फरक तरिकाले हेर्थे, अहिले त त्यस्तो छैन् ।’ छिरिङ्ग भन्छन, ‘अब सबैले कुरा बुझिसके, सबैले सम्मान नै गर्छन् ।’ 




सुन्दरीजलमा फर्निचर बनाइरहेका नारायण नगरकोटी पनि व्यवसायमा लागेसँगै आफूहरूलाई समाजले हेर्ने दृष्टिकोण बदलिएको बताउँछन् ।




Narayan Nagarkoti




‘हिजो लडाकू भए पनि अहिले त हामी नागरिकको हैसियतमा बस्न थालेका छौ ।’ उनी भन्छन्, ‘सबैले राम्रै रुपमा लिएका छन् ।’ शुरूमा एकजना डकर्मी राखेर व्यवसाय शुरू गरेर उनी अहिले आफंै पनि फर्निचरको काम गर्न सक्ने भएका छन् ।




राज्यको ढुकुटीबाट दिएको पैसाको अनुगमन छैन




स्वेच्छिक अवकासमा गएका पूर्व लडाकूहरूले पाँचदेखि आठलाख रुपैयाँसम्म लिएर गएका छन् । यो पैसा राज्यको ढुकुटीबाटै गएको हो । यसरी गएको सवा ८ अर्ब पैसा के भइरहेको छ भन्नेबारेमा कसैले चासो दिएको छैन र त्यसको अनुगमन गर्ने संयन्त्र पनि छैन ।




गोंगबुमा होटल चलाइरहेका पूर्व ब्रिगेड कमाण्डर प्रकाश जिएम अविरल भन्छन्, ‘केही साथीहरू विदेश पनि गएका छन् तर धेरैले केही न केही व्यवसाय शुरू गरेका छन् ।’




तर स्वेच्छिक अवकास लिएर घर फर्केका लडाकूहरू सबैले के–के गरिरहेका छन् भन्ने तथ्यांक कसैसँग छैन । ‘केही साथीहरू त नियमित सम्पर्कमा छन् ।’ अविरल भन्छन्, ‘धेरै साथीहरूसँग सम्पर्क छैन, सबैको रेकर्ड त पाटीसँग पनि छैन ।’




लडाकूका पूर्व कमान्डर समेत रहेका एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा पनि पूर्व लडाकूहरूको रेकर्ड पार्टीको केन्द्रिकृत रूपमा नभएको स्वीकारछन् । तर अधिकांश पूर्व लडाकू पार्टीमै रहेको उनी बताउँछन् । ‘थोरै साथीहरू रोजगारीको लागि विदेशमा गएका छन्, केही थोरै वैद्यजीको पार्टीमा छन् र धेरै त हाम्रै पार्टी मै छन्’ उनी भन्छन्, ‘सबै जिल्ला–जिल्लामा, गाँउ–गाँउमा केही न केही व्यवसाय गरेर बसेकाछन् र पार्टी काममा पनि लागेका छन् ।’




पार्टीका नेताहरूले पनि पूर्व लडाकूहरू अहिले कहाँ के गरिरहेका छन् भन्नेबारे खासै चासो नदिएको उनीहरूको भनाइ छ । ‘वर्षमान पुन र झक्कु सुवेदी एक पटक आउनु भएको थियो, त्यसबाहेक नेताहरूले खासै चासो देखाएका छैनन्’ चापागाँउमा बंगुर पालिरहेका पूर्व लडाकू प्रवीण थापाले भने ।




स्वेच्छिक अवकास रोजेका पूर्व लडाकूलाई पैसा दिएपछि शान्ति प्रक्रिया सकिएको र जिम्मेवारी पूरा भएको ठानेर बसेको सरकारले पनि घर फर्किएका पूर्व लडाकूहरू कहाँ के गरिरहेका छन् भन्नेमा ध्यान दिएको छैन । शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहसचिव गोविन्द खनाल यो विषय आफूहरूको कार्यक्षेत्रमा नपर्ने बताउँछन् । सेना समायोजन पछिको अवस्थाबारे अनुमगन गर्नेबारे कुनै संयन्त्र नै नबनाइएकोले अब यो विषयमा कस्ले हेर्ने हो भन्नेबारे यकिन नभएको उनको भनाइ छ ।




तर एकीकृत नेकपा माओबादीका नेता शर्मा भने अनुगमनको आवश्यक्ता नभएको बताउँछन् । ‘उनीहरूलाई आन्दोलनमा सहभागी भएवापत यो रकम दिइएको हो । त्यसको दुरूपयोग भएको छैन, त्यसैले अनुगमन किन गर्नुप¥यो ।’




सेना समायोजन विशेष समिति सचिवालयका संंयोजक रहेका पूर्वरथी बालानन्द शर्माले भने पुनस्र्थापना र स्वेच्छिक अवकास पछि पनि पूर्व लडाकूको अनुगमन गर्न संयन्त्र बनाउनुपर्ने बताउँछन । ‘मैले यो कुरा पहिल्यै उठाएको हँु तर सुनिएन ।’ उनले भने, ‘यो पैसाको दुरूपयोग भएर समस्या पनि ल्याउन सक्छ ।’




नेकपा माओवादीका सचिव सीपी गजुरेल पनि पूर्व लडाकूको कारण समस्या आउँछ कि भन्ने डरमा हुनुहुन्छ । ‘उनीहरूले लड्ने कला जानेका छन्, लामो तालीम लिएका छन्, लडाईंको योजना बनाउन जान्दछन्, ठूलाठूला लडाई लडेर आएकाहरूलाई यसरी समाजमा बाहिर फाल्दिनु र आक्रोशित बनाएर छाड्नु राष्ट्रको हितमा हुँदैन ।’ गजुरेल भन्छन्, ‘विभिन्न प्रकारका एजेन्सीहरूले नेपाल विरोधी गतिविधि सञ्चालन गर्ने र उनीहरूलाई कुनै न कुनै प्रकारले आकर्षित गर्ने खतरा देखिन्छ, त्यसले नेपाली जनतालाई ठूलो घाटा पु¥याउँछ ।’




तर ओखलढुङ्गा हर्कपुरकी पूर्व लडाकू गीता कटुवाल भने पूर्व लडाकूकै कारण त्यस्तो कुनै समस्या नआउने बताउँछिन् । नेपाली सेनामा समायोजन रोजेकी गीता पहिलो चरणको छनौटमा सफल हुनुभयो र दुई महीना तालीम पनि लिनुभयो । तर पछि मुटुमा समस्या देखिएपछि समायोजनमा जान पाउनु भएन र अरु साथीहरूले ५ लाखसम्म पाए पनि उहाँलाई साढे २ लाख मात्रै दिएर घर फर्काइयो । त्यो पैसा पनि उपचार गर्दागर्दै सकियो, त्यसैले अहिले समस्यामा रहकी गीतालाई अब के गरेर खाने भन्ने समस्या भएको छ । ‘मेरो जस्तो समस्या धेरैलाई छ र म जस्तै धेरै साथीहरू निराश छन्, तर त्यसो भन्दैमा गलत काम नै हुन्छ भन्न मिल्दैन’ उनले भनिन् ।




“हुन त हामी हतियार चलाउन जान्ने व्यक्तिहरू हांै, तर अहिलेसम्म कसैले यस्तो गरिदिन्छु आऊ भनेर बोलाएको छैन, सबै साथीहरूले कुरा बुझेका छन्, कसैले त्यसरी गलत कामको लागि बोलाउँदैमा जाँदैनन् ।’ पार्टीले फेरि कुनै न कुनै रूपमा संगठित गरेर पूर्व लडाकूलाई पनि राजनीतिक काम दिने र व्यवसायमा लगाउने हो भने त्यस्तो समस्या नआउने उनको भनाइ छ ।




तर विभिन्न समयमा पूर्व लडाकूहरू विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको पनि पाइएको छ । मनाङको धारापानीमा २०७१ साउन १ गते एकजना पूर्व लडाकू हतियारसहित पक्राउ परेको कुराले पनि यसलाई पुष्टि गर्छ । मनाङको सीमा प्रहरी चौकी धारापानीले माओवादी पूर्व लडाकू रुकुमको हुकाम गाविस ९ का नवीन रोकामगर र अर्को एक जनालाई एक थान एके फोर्टीसेभेन र त्यसको १८ राउण्ड गोली, एउटा चाइनिज पेस्तोल र ७ राउण्ड गोली तथा एउटा कटुवा पेस्तोल र त्यसको ७ राउण्ड गोलीसहित पक्रेको थियो । पक्राउ परेका नवीन रोकामगरले म्याग्दीको बेनीमा ज्यान गुमाएका माओवादी लडाकूका कमाण्डरसँग रहेको हतियार लिएर आफू भागेको बताएको प्रहरीको भनाइ छ ।




यसले पनि पूर्व लडाकूहरू निराश हुँदा र जीवनयापन कठीन हुँदै जाँदा शान्ति निर्माण प्रक्रियामा असर पु¥याउने खालका गतिविधि बढ्न सक्ने संकेत गर्छ ।




 अन्र्तवार्ताः–




Govinda khanal




गोविन्द खनाल, सहसचिव शान्ति तथा पुनर्निमार्ण मन्त्रालय




स्वेच्छिक अवकास रोजेर घर गएका पूर्व लडाकू कहाँ के गरिरहेका छन् ? तपार्इंहरूलाई थाहा छ ?

उनीहरूले स्वेच्छिक अवकास रोजेर सरकारले तोकेको रकम बुझेर उनीहरू आ–आफ्नो ठाँउमा गइसकेपछि अब त्यसको अध्ययन अनुगमन चाहिँ मन्त्रालयबाट हालसम्म भएको छैन ।

अनुगमन किन नगरिएको ?

अहिलेसम्म हामीलाई तोकिएको काम हामीले गरिरहेका छांै । विशेष समितिले तोकेअनुसार नेपाल सरकारबाट आएको रकम उनीहरूलाई दर्जाअनुसार वितरण गर्नेसम्मको काम हामीले ग¥यौं । सेनामा गएका त्यहीं छन् । त्यसबाहेक पैसा लिएर गएकाहरू आफ्नो जीवन गुजारा कसरी गरिरहेका छन् अथवा के–के गरिरहेका छन् भन्ने यो पाटोबारे अध्ययन अनुगमन गर्ने कार्यक्रम मन्त्रालयलाई अहिलेसम्म दिइएको छैन ।

कार्यक्रम बनाउने त मन्त्रालय आफैले हो नि होइन र ?

होइन यो राजनीतिक विषय हो, राजनीतिक रूपमा सहमती गरेर नेपाल सरकारबाट तोकेपछि मात्रै गर्ने विषय हो । मन्त्रालयले मात्रै गर्ने काम नभएर राजनीतिक विषय भएकोले हामीले मात्रै केही गर्न सक्दैनांै ।

हतियार चलाइरहेका पूर्व लडाकूलाई घर पठाएपछि के गरिरहेका छन् भन्ने कुरालाई यही हल्का रूपमा लिन मिल्छ र ?

उत्तरः होइन, मैले भनिहाले नि, यो राजनीतिक विषय हो त्यसैले यसमा कर्मचारी स्तरमाभन्दा राजनीतिक तहमा नै बहस गरेर के गर्ने भन्ने निश्कर्ष निकाल्नु राम्रो हुन्छ ।




balananda-sharma

वालानन्द शर्मा, पूर्वरथी, नेपाली सेना




स्वेच्छिक अवकास रोजेका पूर्व लडाकूहरू अहिले के गरिरहका छन् भन्ने तपार्इंलाई थाहा छ ?

यस्तो छ, हामीहरूको म्यान्डेड चाहिँ रेखदेख पुनस्र्थापना र समायोजनमा केन्द्रित थियो । अब स्वेच्छिक अवकासमा जानेलाई हामीले दुई किस्तामा रकम दिएको हो । यो रकम राज्यले दिएको हो । त्यसैले राज्यको ढुकुटीबाट दिएको रकमको अनुमगन गर्नुपर्ने त्यतिबेला सम्झाना गराइएको हो । तर त्यतिबेलाको राजनीतिक माहोल चाहिँ नगर्ने भन्ने भयो त्यसैले त्यसबारे केही थाहा छैन ।   

पूर्व लडाकूहरू तपाईंसँग व्यक्तिगत रूपमा सम्पर्कमा आउँछन कि आउँदैनन् ?

आउँछन्, कतिले मैले यस्तो गरेको छु हेर्न आइज भन्छन्, कतिले मलाई दुःख प¥यो सहयोग मिलाइदिनु प¥यो भन्दै आउँछन् । तर यो व्यक्तिगत रूपले सम्पर्क राख्ने कुरा भिन्नै भयो । आधिकारिक रूपमा राज्यले अनुगमन गरेको मलाई थाहा छैन ।

यस्तो अनुगमन संयन्त्र किन आवश्यक छ ?

स्वेच्छिक अवकास रोजेपछि उहाँहरू क्यान्टोनमेन्टबाट जानुभयो, हतियार राज्यको मातहत आयो तर यत्तिले शान्ति प्रक्रिया सकिंदैन । उनीहरूले के गरिरहेका छन् । राज्यको रकम केमा खर्च गरिरहेका छन् कतै दुरूपयोग पो भएको छ कि भन्नेबारे अनुगमन संयन्त्र बनाएको भए राम्रो हुने थियो ।

के यसले शान्ति प्रक्रियामा फेरि समस्या ल्याउँछ त ?

राज्यले उहाँहरूलाई पाँचदेखि आठ लाख दिएको छ । नेपालको सन्दर्भमा यो ठूलो रकम हो । राज्यले यति ठूलो सम्मान गरिसकेपछि फेरि अप्ठ्यारो पारेर आउनुहुन्छ भन्ने मलाई लागेको छैन । मसँग सम्पर्कमा आउने धेरै पूर्व लडाकूहरू अब आफ्नै व्यवसायमा लागेको थाहा पाएको छु । त्यसैले समस्या नै आउँछ भन्ने होइन तर राज्यले दिएको सानो रकमको त अनुगमन हुनुपर्ने हो भने यति ठूलो रकम के भइरहेको छ भन्नेबारे आखाँ नचिम्लिएको भए राम्रो हुन्थ्यो भन्ने हो ।




CP-Gajurel




सीपी गजुरेल, सचिव नेकपा माओवादी




पूर्व जनमुक्ति सेनाहरू अहिले कहाँ के अवस्थामा छन्, तपाईहरूको सम्पर्कमा हुनुहुन्छ ?

जनमुक्ति सेनालाई समायोजन गर्ने भन्ने उद्देश्य नै अर्कै थियो । त्यसको उद्देश्य के थियो भने जनमुक्ति सेना पनि राष्टकै सेना मान्नुपर्छ र एउटा छुट्टै भूमिका दिनुपर्छ भन्ने थियो । तर त्यो विल्कुलै भएन । त्यो भइसकेपछि उनीहरूको सेना समायोजनको नाममा भर्ती खोलियो । भर्ती गरेर १ हजार ३÷४ सय जति त्यहाँ गए, नेपाली सेनामा अरु चाहिँ स्वेच्छिक अवकास पाए । अरु ५ हजार जतिलाई अयोग्य लडाकू भनेर बाहिर निकालियो र अहिले सबैभन्दा नराम्रो अवस्था छ किनभने गाउँघरमा जान पनि उनीहरूलाई आफ्नै घर फर्कन पनि गा¥हो भा’छ । किन भने सबैले अयोग्य भएर आइस् भन्छन् ।




त्यसो भए शिविरबाट निस्केका पूर्व लडाकूको कारण फेरि शान्ति प्रक्रियामा खतरा हुने छ ?

होइन, त्यो त देखिराखेको छ । किनभने अहिले उनीहरूले केही पनि गर्न नसकेर चुप लागेर बस्नु एउटा कुरा हो । तर उनीहरूले लड्ने कला जानेका छन्, लामो तालीम लिएका छन्, लडार्इंको योजना बनाउन जान्दछन्, ठूल्ठूला लडाईं लडेर आएकाहरूलाई यसरी समाजमा बाहिर फाल्दिनु र आक्रोशित बनाएर छाड्नु चाहिँ कहिले पनि राष्ट्रको हितमा हुँदैन । उनीहरूलाई केही न केही व्यवस्था त गर्नुपर्छ नि, तर राष्ट्रले गरेको छैन । र उनीहरूले बारम्बार कहिले जुलुस निकाल्ने कहिले बन्द गर्ने गरिरहेका छन् । तर उनीहरूको त्यो समस्या हल भएकै छैन ।  




उनीहरूमा जुन निराशा छ भन्नुभयो तपार्इंले, त्यसले के खतरा ल्याउला त ?

एउटा कुनै निश्चित उद्देश्यको लागि नेपालमा फेरि सशत्र आन्दोलन भयो तर नेपालको राष्ट्रिय हितको लागि र त्यसमा सहभागी भए भने त्यसले राष्ट्रलाई नोक्सान पु¥याउँदैन तर त्यस्तो आन्दोलन संगठित भएन र यदि यहाँ अन्य विभिन्न प्रकारका एजेन्सीहरूले नेपाल विरोधी गतिविधि सञ्चालन गर्ने र उनीहरूलाई कुनै न कुनै प्रकारले आकर्षित गर्ने खतरा देखिन्छ, त्यसले नेपाली जनतालाई ठूलो घाटा पु¥याउँछ ।




कुनै अपराधिक समूहले उनीहरूलाई प्रयोग गर्न सक्ने खतरा छ त्यसो भए ?

त्यो त उनीहरूमा आक्रोश छ नि !, उनीहरूले अब ठीक संगठनमा काम गर्न पाए र सही बाटोमा लागे भने उनीहरूबाट धेरै राम्रो काम हुन सक्छ यो राष्ट्रको लागि तर दुरूपयोग हुने खतरा पनि छ ।  




तपार्इंहरूले पनि फेरि युद्ध गर्न उनीहरूलाई संगठित गरिरहनु भएको छ कि ?

होइन पार्टीमा लागेर राजनीतिक गतिविधिमा लाग्न चाहनेलाई त हामीले आउनुस् भन्ने कुरा भइहाल्यो तर युद्धकै लागि छुट्टै संगठित गरेका छैनौं किनभने अहिले हामीले युद्धमा जानेवालै छैनौं अनि युद्धमा नजाने भएपछि युद्धका लागि फौजी संगठन बनाउने कुरै भएन । 




तपाईंहरूको पार्टीले केही समयअगाडि केही पूर्व लडाकूहरूलाई रोल्पामा भेला गराउनु भएको थियो यो चाहिँ के को लागि हो त ?

अब यो त्यस्तो होइन । जनमुक्ति सेनामा काम गर्नेसाथीहरू युवा नै छन् । उनीहरू समाजमा बसेकै छन् । उनीहरूले हामी यत्रो समयसम्म गरेको उद्देश्य पुरा भएन, जनमुक्ति सेना पनि विघठन भयो, अब हामी राजनीतिमा लाग्छौ भनेपछि होइन तपाईहरू पाउनुहुन्न भन्न मिलेन, तर मैले भनिहाले नि अहिले नै हामीले फौजी संगठन बनाइहाल्ने, सेना बनाइहाल्ने नीति छैन । किनभने हामी अहिले नै हतियार उठाइहाल्ने पक्षमा छैनौं ।  




अहिले तपाईंको पार्टीका पूर्व लडाकू कति सम्लग्न हुनुहुन्छ ?

उत्तरः धेरै कम हुनुहुन्छ । अब ३० हजार सेनामा ढेड हजार नेपाली सेनामा गएपछि त बाँकि बाहिरै हो । अहिले एकीकृत माओवादीमा पनि केही साथीहरू हुनुहन्छ । उतातिर कमान्डर स्तरका साथीहरू हुनुहुन्छ । हामीसँग तल्लो स्तरमा काम गर्ने साथीहरू हुनुहुन्छ । यी दुवै गरेर राजनीतिक गतिविधिमा त्यति धेरै छैनन् ।




janardan-sharma

जनार्दन शर्मा प्रभाकर, नेता एकीकृत नेकपा माओवादी 




पूर्व लडाकूहरू स्वच्छिक अवकासमा निस्किएपछि अहिले कहाँ हुनुहुन्छ ?

उहाँहरू पार्टी मै हुनुुहुन्छ, पार्टीको विभिन्न संगठनमा हुनुहुन्छ । केही साथीहरू रोजगारीको लागि विदेशतिर जानु पनि भएको छ  । उहाँहरू आ–आफ्नो पेशा व्यवसाय गरेर पनि बस्नु भएको छ तर पार्टीमै हुनुहुन्छ ।  




तपाईंहरूको पार्टी कार्यालयमा त त्यस्तो कुनै रेकर्ड भेटिंदैन नि पूर्व लडाकूको ?

त्यस्तो होइन, हिजो सेनामा एउटा खालको फरमेशन थियो, संगठन थियो, परिचालन थियो, चौबीस घण्टा अलर्ट भएर रहनुपर्ने अवस्था थियो । त्यही खालको अवस्था अहिले हुने कुरा त भएन । आज अलि फरक खालको अवस्था छ । हिजो क्याम्पिङ्ग गरेको अवस्था थियो, अहिले जिल्लामा गाउँमा समाजमा बस्नु भएको छ, त्यहीको पार्टीमा काम गर्नु भएको छ । त्यसकारणले रेकर्ड नभएको भन्नेकुरा होइन । त्यसमध्ये केही साथीहरू वैद्य जीको पार्टीमा पनि हुनुुहन्छ तर धेरै साथीहरू हाम्रै पार्टीमा क्रियशील हुनुहुन्छ ।




उहाँहरूमा ठूलो निराशा देखिन्छ नि किन होला ?

अब निराशा स्वभाविक रूपमा हुने कुरा भइहाल्यो । महान् जनयुद्धको क्रममा उहाँहरूले ठूलो भूमिका निभाउनुभयो । देश प्रगतिको बाटोमा लाजा भन्ने आशा उहाँहरूले गर्नु भएको थियो तर त्यसो नहँुदा निराशा हुनु त स्वभाविकै हो ।




यो निराशाले केही खतरा ल्याउँछ कि ?

हो शान्ति प्रक्रिया राम्रोसँग अघि बढ्न सविधान बनेन र विकास निर्माणको काम भएन भने फेरि युद्ध हुनसक्छ । तर उनीहरूले हतियार चलाउन जानेका छन् भनेर खतरा भइहाल्ने भन्ने होइन । हिजो हामीले हतियार चलाउन नजानेर पनि त युद्ध त भयो नि त्यसैले जानेर हुने होइन राज्यले दमन गर्छ, सही ढंगले व्यवस्थापन गर्न सकेन भने युद्ध त हुन्छ ।




उनीहरूले राज्यको ढुकुटीबाट पैसा पनि लिएर गएका छन्, त्यसको दुरूपयोग भएको छ कि ?

आन्दोलनको परिणाम हो त्यो, आन्दोलनमा सहभागी भएबापत, घर परिवार त्यागेर आएबापत दिएको पैसा हो त्यो, गएर कमसेकम गएर फेरि जीविका शुरू गर्न सकुन् भनेर दिएको हो । उनीहरू जिम्मेवार छन् नि व्यक्तिगत रूपमा । त्यसैले त्यसको दुरूपयोग भएको छैन । त्यो अनुसारको उनीहरूले पेशा, व्यवसाय गरेर बसेका छन । होला केहीले खर्च गरे होला सिध्याए होला तर धेरैले त व्यवसाय नै गरेका छन् ।






[२०७१ साल भदौ ८ (24 August 2014)गतेको उज्ज्यालो ९० नेटवर्कको 'नेपाल दर्पण'मा प्रसारित]




तथा

[२०७१ साल भदौ ९ (25 August 2014)गतेको उज्ज्यालोअनलाईमा प्रकाशित]


प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमै पुस्तैनी भूमिहीन

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमै पुस्तैनी भूमिहीन

सरकारले सार्वजनिक जग्गा हडपेको भन्दै सुकुमवासी बस्तीमा डोजर चलाइरहँदा वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पुस्तैनी भूमिहीनको ठूलो संख्या लालपुर्जा...
वन्यजन्तु जोगाउने नीतिले मानव असुरक्षितः बर्दिया–बाँकेमा बढ्दो त्रास

वन्यजन्तु जोगाउने नीतिले मानव असुरक्षितः बर्दिया–बाँकेमा बढ्दो त्रास

चुनावका बेला मानव–वन्यजन्तु द्वन्द्व समाधानको वाचा गरेका राजनीतिक दलहरू सत्ता पुगेपछि मौन देखिन्छन्। नतिजा—वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति वर्षेनी बढ्दो छ।...
ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि ‘मृत्युको प्रतीक्षालय’ बनिरहेका कारागार

ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि ‘मृत्युको प्रतीक्षालय’ बनिरहेका कारागार

विभिन्न कसुरमा कारागार पुगेका वृद्धवृद्धा र थला परेका दीर्घरोगीलाई कानूनले दिएको कैद छुटको व्यवस्था नै लागू हुन सकेको छैन। परिणाम–...