खोज रिपोर्ट

सीमावर्ती भारतीय बजारहरू मज्जफरपुर, भिठामोड र लखनऊमा नेपालीको बढ्दो उपस्थिति र लोभलाग्दो प्रगतिले पारिको आकर्षण बढ्दो छ भन्ने देखाउँछ ।
- नवीन झा : खोज पत्रकारिता केन्द्रका लागि
मज्जफरपुरको मुसहरी टोलका छोटु कुमार त्यहाँका नामूद जग्गा दलाल हुन् । छोटुका दाइ गणेशबहादुर चाहिं मज्जफरपुरमै भारत सरकारको कृषि विभागमा काम गर्छन् । छोटु नेपालको पूर्वी पहाड ताप्लेजुङका हुन् । उनको विवाह बुटवलकी केटीसँग भयो । छोटु भन्छन्, “काम गर्न आएपछि यतै ‘सेटल’ भएँ । नेपाल फर्कन मन लागेन । घर बनाइयो, कामधन्दा यतै शुरू गरियो ।”
उनका दुई छोरालाई पनि पुख्र्यौली थलो नेपालसँग खासै सरोकार छैन । छोटु भन्छन्, “अब त ससुराली खलकका मानिस पो यता आउने योजना बनाउँदैछन् ।” अहिले उनको परिवारमा कसैसँग पनि नेपाली नागरिकता छैन । छोटु भन्छन्, “अब यतै बस्ने भयौं, नेपाली नागरिकता बनाउँदैनांै होला ।”
मज्जफरपुर जेल चोककी शोभादेवी थापा सपरिवार त्यहाँ बस्न थालेको २५ वर्ष भयो । काठमाडौं, नयाँबानेश्वरकी शोभाका श्रीमान् शमशेरबहादुर थापा कम्प्युटर पसलमा काम गर्छन् । चारमध्ये तीन छोरी विश्वविद्यालयस्तरको पढाइसँगै काम पनि गर्छन् । शोभादेवी भन्छिन्, “हामी उहिल्यै यताका भइसक्यौं । नेपालतिरको कुनै कागजात पनि छैन । अब त छोरीहरूको उता जाने इच्छा पनि छैन ।”
मज्जफरपुरको जेल चोकमा घर बनाउँदै गरेकी शोभाका दुई छोरी एउटा स्थानीय ब्यांकमा काम गर्छन् । सरकारी जागीर खाने उनीहरूको लक्ष्य छ त्यसैले सरकारी सेवाको तयारी गर्दैछन । माइली छोरी आरतीसँगै उभिएकी शोभाले भनिन्, “यिनीहरूको विवाह चाहिं नेपालतिर गर्न पाए हुन्थ्यो ।”
बाल क्लब समेत चलाइरहेका पत्रकार कुमारका अनुसार मज्जफरपुरमा तीन हजार भन्दा बढी नेपाली समुदायका मानिस छन् । केही समय अघिसम्म मज्जफरपुरको जोगिया मठ नजिक नेपाली टोल नै थियो । विस्तारै उनीहरू आ–आफ्नो घर बनाउँदै अन्यत्र सर्दै गएकाले अहिले त्यो टोलको अस्तित्व छैन ।
मज्जफरपुरको मुसहरी टोल, जेल चोक, अमसद चोक वरिपरि ठूलो संख्यामा नेपाली बस्ने गर्छन् । पत्रकार प्रमोद कुमारका अनुसार, उनीहरू कोही व्यापार गरेर बसेका छन् भने कोही सरकारी जागीरमा छन् । कति त ठूल्ठूला उद्योगमा काम गर्ने पनि छन् ।
रासनकार्डको चक्कर
भिठामोडमा भेटिएका व्यापारी विक्रम अग्रवालले आफूलाई बिहार सुपौल जिल्ला निवासी भएको बताए । उनले भने, “बुबा नेपालबाट आउनुभएको हो । उहाँसँग नेपाली नागरिकता छैन । तर, हामी दाजुभाइ दुवैसँग नेपाली नागरिकता छ ।” सुपौलको ठूलो जमीनदार भएको बताउने अग्रवालका जेठा दाजु नारायणघाटमा हार्डवेयर पसल चलाएर बसेका छन् ।
कुराकानी गर्दै जाँदा विक्रमले आफ्ना पुर्खाको बखान गर्न भ्याइहाले । उनले भने, “हामी मारवाडी भनेका राजस्थानी हौं । समयक्रममा हामी व्यापार गर्दै नेपालसम्म पुगेका हौं । कुनै मारवाडी नेपालका मूल बासिन्दा होइनन् । तर अहिले प्रायः सबैले नेपाली नागरिकता लिइसकेका छन ।” नागरिकता लिएपछि व्यापार र घरजम गर्न सजिलो हुने भन्दै उनले भने, “मैले त बिहे नै जलेश्वरकी केटीसँग गरेको छु ।” विक्रमले चलाउँदै आएको भिठामोडको पसल बुबाको नाममा छ ।
भिठामोडका अर्का व्यापारी रामजसो दास महोत्तरी मरैयका हुन् । उनले बिहारमा रहेका आफन्तको सहारामा व्यापार गरिरहेका छन् । दास भन्छन्, “पसल दर्ता गरेर शुरू गर्न यहाँ आफन्तले सघाएका छन् । अब यहींबाट रासनकार्ड निकाल्ने बारे सोचिरहेको छु ।” भारतमा नेपालीले रासनकार्ड वा नागरिकता सरहको प्रमाण–पत्र ‘पहिचान पत्र’ निकाल्दा नेपालमा जस्तो राष्ट्रियताको नाममा हल्लाखल्ला मच्चिंदैन । केही महीना अगाडि मात्रै भिठामोडमा व्यापार गर्न छिरेका एक जना नेपाली भन्छन्, “पैसा खर्च गरेपछि यहाँ नेपाल भन्दा पनि सजिलै सबै कुरा मिल्छ ।” उनको भनाइमा, त्यस्तो कागजात र कारोबारसँग यहाँका स्थानीयको कुनै सरोकार हुँदैन । कर्मचारीतन्त्र भ्रष्ट छ, पैसा तिरेपछि रासनकार्डदेखि पहिचान पत्र समेत घरमै ल्याइदिन्छन् ।
मारवाडीः चन्दा दिने गाई
भिठामोडका प्रसिद्ध किराना व्यापारी ऋषिकुमार मुरारका भारतमा व्यापार गरे पनि हाकाहाकी आफू नेपाली भएको बताउँछन् । भिठामोड नजिकै रहेको ‘नेपाली गाउँ’ मलिवारमा आफ्नो जग्गाजमीन रहेको मुरारकाले बताए । उनका काकाहरू जनकपुरका स्थायी बासिन्दा हुन् ।
तपाईंले किन नेपाल छाड्नुभयो भन्दा मुरारका भन्छन्, “तनावले !” उनले आफ्नो दुःखको बेलिबिस्तार लगाउँदै भने, “पाँच वर्षअघि
अहिले उनी भिठामोडका नाम चलेका होलसेल व्यापारी हुन् । पाँच वर्षअघि उनले महोत्तरीमा रहेको आफ्नो सम्पूर्ण व्यापार बन्द गरे । सदरमुकाम जलेश्वरबाट तीन किमी दक्षिणमा रहेको सीमावर्ती भारतीय बजार भिठामोडमा बस्न थाले । आवश्यक कागजात बनाए । अहिले उनी त्यहाँका स्थायी बासिन्दा भइसकेका छन् ।
२५ वर्षदेखि महोत्तरीको मरैय बजारमा कपडा व्यापार गर्दै आएका रामजसो दास पनि तीन वर्षदेखि भिठामोड बजारमा व्यापार गर्छन् । खुश्वू बस्त्रालयको नामले प्रख्यात उनको पसल त्यहाँको चिनिने मध्येमा पर्छ । दास अघिल्लो मधेश आन्दोलनपछि विस्थापित भएका थिए । उनी भन्छन्, “मरैय बजारमा घर थियो । बस्न नसक्ने अवस्था आएपछि भारत पसें ।”
महोत्तरी थरुवाहीका २५ वर्षीय दिलीप मण्डल दुई वर्ष अगाडि भारतको अरुणाञ्चल प्रदेशबाट केही पैसा कमाएर नेपाल फर्किएका थिए । गाउँमा व्यापार गर्ने योजना सुनाउँदा परिवारका सदस्यले बस्नै दिएनन् । दिनैपिच्छेको बन्द, च्याउसरी जन्मिएका सशस्त्र समूह र नानाथरी संस्थाको चन्दा आतङ्कले परिवार हैरानीमा थियो । त्यसपछि उनले सीमावर्ती भारतीय शहरमा गएर व्यापार शुरु गरे । इलेक्ट्रोनिक्सको होलसेल पसल चलाएर बसेका मण्डल अहिले भारतीय हुने प्रक्रियामा छन् । उनी भन्छन्, “म आफ्नै देशमा बसेर व्यापार गर्न चाहन्थें तर परिस्थितिले त्यहाँ बस्नै दिएन ।” व्यापार गर्ने क्रममा उनले ‘भारतको नागरिक भए धेरै सजिलो हुने’ थाहा पाए । त्यसपछि रासनकार्ड लगायतका कागजात बनाउन थाले । एकजना किराना व्यापारी भन्छन्, “कानूनतः रासनकार्डका लागि यहाँ चार वर्ष बसेपछि प्रक्रियामा गएर बनाउन मिल्ने हो तर स्थानीय सरकारी अधिकारीसँग कुरा मिलाएर छिट्टै पनि बनाउन सकिन्छ ।”
नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व मेयर एवं भारत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी समसुद्दिन सिद्दिकीका दुई भाइ स–परिवार लखनऊमा बस्दै आएका छन् । काइँला भाइ चाद अलि सिद्दिकी समाजवादी पार्टीमा आबद्ध छन् । उनको ठेक्कापट्टाको व्यवसाय पनि छ । उनी उत्तरप्रदेश नगर निगमको ‘क’ वर्गको कन्ट्याक्टर हुन् । उनको वार्षिक ४०÷५० करोडको कारोबार हुन्छ ।
समसुद्दिनका कान्छा भाइ आफताब सिद्दिकी स्पोर्टस् सप्लायर्स छन् । लखनऊको केशरवाग नजिकै रहेको जयहिन्द कम्प्लेक्समा उनको भव्य पसल छ । आफताब पनि व्यवसायमा राम्रैसँग जमेका छन् । पूर्व उपमेयर सिद्दिकी भन्छन्, “दुवै भाइ उतै ‘सेटल’ भए । अब फर्कंदैनन् ।”
नेपालगन्जका चर्चित व्यापारी मामराज अग्रवालका छोरा राजेश अग्रवाल एक दशकदेखि स–परिवार लखनऊमा छन् । जग्गा प्लटिङको व्यापार गरिरहेका राजेश नेपालमा संकटकाल लागेपछि लखनऊ छिरेका हुन् । छोराको बसोबास उतै भएपछि बुबा मामराज पनि ६ महीना लखनऊ र ६ महीना नेपालगन्ज बस्न थालेका छन् ।
बर्दिया, गुलरियाका ४२ वर्षीया अशोक गुप्ता भारतको लखनऊमा बस्न थालेको २० वर्ष भयो । क्याम्पस पढ्न लखनऊ गएका अशोकले त्यहीं बिहेबारी गरे । उनी अहिले समाजवादी पार्टीकोे युवा संगठनका केन्द्रीय तहका कार्यकर्ता हुन् । गुप्ता सो पार्टीका युवा नेता तथा उत्तरप्रदेशका मुख्य मन्त्री अखिलेश यादवका विश्वासपात्र मानिन्छन् ।
पारिको आकर्षण
भिठामोडमा होलसेल व्यापार गरिरहेका जलेश्वर–१३ का शम्भुप्रसाद साहको भनाइमा, “पहिला आवश्यकता अनि मात्रै समाज, राजनीति र प्रशासनिक सम्बन्ध हुँदोरहेछ ।” उनले थपे, “यताको उता र उताको यता अब सामान्य भयो । मान्छे बस्ने, रमाउने भनेको समाजको चरित्रसँग जोडिएको विषय हो ।” साहको बुझाइमा, “राम्रो अवसर र उपयुक्त वातावरणको खोजीले मानिसलाई तानेर लैजाने हो, बाँकी कुरा त्यसपछि मात्रै आउँछन् ।” भिठामोडका किराना व्यापारी श्रवण मुरारका झन् स्पष्ट छन् । मुरारका भन्छन्, “जसले जेसुकै भनोस् मानिस जहिले पनि सम्भावनाको पछि लाग्छ ।”
कृष्ण अधिकारी, नेपालगञ्जमा
‘अवसर नै महत्वपूर्ण र अन्तिम लक्ष्य हो’
नेपाल र भारतबीच खुला सीमाका कारण यताको उता र उताको यता सत्य हो । दुई देशको सांस्कृतिक सम्बन्ध नै हजारौं वर्ष पुरानो छ । अहिले विश्वव्यापी रूपमा मानिस अवसरको पछाडि दौडिरहेका छन् । सन् १९६४ मा भारत र नेपालको मुद्रा बराबरीमा थियो, त्यसपछि भारतको बढ्यो, हाम्रो बढेन । त्यही वेलादेखि नेपालबाट भारत काम गर्न जाने जमात बढे । मुख्यगरी हरियाणा र पन्जाबमा जब हरित क्रान्ति शुरू भयो, त्यहाँ कामदारको व्यापक खाँचो देखियो ।
नेपालको तराईबाट ह्वात्तै उता जान थाले । त्यहाँ बाह्रै महीना काम पाउन थालेपछि यहाँ को बसून् ? ज्याला पनि भारतीय रुपैयाँमा आउने । त्यसपछि मात्रै हो तराई मधेशमा खेतमा काम गर्नेहरूको ज्यालामा वृद्धि भएको । पछिल्लो दशक भारतले टेक्नोलोजीमा व्यापक फड्को मार्न थालेको छ । यसले अब यहाँका पढ्ने लेख्ने जमातलाई पनि तान्न थालेको छ । म यसलाई स्वाभाविक रूपमा लिन्छु । किनकि मानिस आफूसँग पढाइलेखाइ भएपछि त्यही अनुसारको काम, सेवा र सुविधा खोज्छ ।
जस्तो कि शुरू शुरूमा किसानहरू हरियाणा र पन्जाब जान्थे । पछि उनीहरू त्यहाँभन्दा धेरै पैसा आउने कतार र मलेशिया जान थाले । अब नेपालको पढे–लेखेको जमातले भारतमा अवसर देखिरहेको छ त्यता लाग्छ । यो स्वाभाविक हो । पंचायतकालमा नेपालमा निर्माण कामको अवसर हुँदा त्यताबाट धेरै जना यता आए, उनीहरूले राम्रो अवसरहरू पनि पाए । यो भइराख्छ, यसलाई कसैले रोक्न सक्दैन । अवसर नै मानिसको अन्तिम र सबैभन्दा महत्वपूर्ण लक्ष्य हो, जसले उसको जीवन व्यवस्थित हुन्छ ।
थपखोज रिपोर्ट

सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन
तरकारीको उत्पादनदेखि बजारसम्मको नेटवर्क निर्माण गरी किसानलाई उचित मूल्य र उपभोक्तालाई सुपथ मूल्यमा तरकारी उपलब्ध गराउने भनी झण्डै एक अर्ब...
कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौंका डीपीआर
कोशी प्रदेश सरकारले करोडौं रुपैयाँ खर्च गरेर बनाएका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयनमा जानै नसक्ने अवस्थामा छन्। कार्यकर्ता पोस्न र...
प्रतिक्रिया दिनुहोस्