मेनु

खोज रिपोर्ट

अस्पताल र चिकित्सकका शिकार

रामु सापकोटा (खोज पत्रकारिता केन्द्र )-

नेपालका अस्पताल र चिकित्सकहरुका लागि विरामीहरुको शरीर नै प्रयोगशाला हुँदै आएको छ । नेपाल मेडिकल काउन्सिल मुक भएकोले अस्पतालमा मर्ने मार्ने खेल नियमित रुपमा चलिरहेको छ । 

प्रकाशित समाचारको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

  http://swasthyakhabar.com/2014/05/10889.html

[PDF को लागि]

अक्सिजन एक्सिडेन्ट
ललितपुर वडा. न.९ सप्तखेलका दिकेश बज्राचार्यको ४ वर्षको उमेरमै ज्यान गयो । उनका पिता दीपकराज बज्राचार्य भन्छन्—पाटन अस्पतालको लापरवाहीले मेरो छोराको कलिलो उमेरमै मृत्यु भयो ।
२०६७ बैशाख २७ गते राति दिकेशलाई स्वाँ–स्वाँ हुन थाल्यो । उनका माता पिताले हतारमा अस्पताल पुर्याएर बिहान साढे ३ बजे आकस्मिक कक्षमा भर्ना गरे । ड्यूटीका डाक्टरले बच्चालाई गम्भीर समस्या भएको बताएर विहान ४ बजे देखि अक्सिजन दिए । ब्लड कल्चर र एक्सरेको रिपोर्ट पछि ईन्टेन्सिभ केयर युनिट (आईसीयु)मा राख्न सिफारिस गरे ।
दिकेशकी आमा ऐश्वर्यप्रभा बज्राचार्य भन्छिन् —ईमर्जेन्सीमा अक्सिजन र सलाइन दिइरहेको थियो । बच्चाको वार्ड (पेडियाट्रिक)मा सार्दा पनि अक्सिन र सलाईन चढाएरै लगिएको थियो । आईसीयुमा लैजादाँ नर्स देवी अधिकारीले अक्सिजन र सलाइनको पाईप झिकिदिईन् । त्यसपछि बच्चा छटपटाउन थाल्यो ।
दीपकले थपे—आईसीयुका डाक्टरले पनि अक्सिजन खोई भनेर सोध्दा नर्सले थाहा छैन भनेर टारिदिईन् । अक्सिजन हटाएको केही समयपछि बच्चा आत्तिएर ‘पानी’ माग्न थाल्यो । केही क्षणमा उसकोे प्राण गयो ।
पाटन अस्पताल ललितपुरको व्यवस्थापन पक्षले घटनामा अस्पतालको लापरवाही भएको स्वीकार गरेको छ । अस्पताल व्यवस्थापनको तर्फबाट तत्कालिन निर्देशक डा.पारस कुमार आचार्यले बैशाख २८ गते नै प्रतिवद्धता पत्र लेखेर भनेका छन्—दिकेशलाई पीआईसीयुमा लैजाने क्रममा एकाएक अक्सिजन झिकेर .....अक्सिजन नराखी लापरवाही पूर्वक सार्ने क्रममा बच्चाको स्वास्थ्य स्थिति बिग्रन गई देहान्त भएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा पाटन अस्पताल प्रशासन गहिरो दुःख व्यक्त गर्दछ ।
 
अस्पतालको दोहोरो चाल
दिकेशको मृत्युपछि पाटन अस्पतालका डा. इमरान अन्सारी र डा. निलम अधिकारीले मृतकका आफन्त रुपाप्रभा शाक्य, ज्वयली शाक्य र चैत्य प्रभालाई डाक्टरको कोठामा लगेर ईमरजेन्सीमा जाँच गर्ने डाक्टरले लापरवाही गरेका कारण बच्चाको ज्यान गएकोमा दुख व्यक्त गरे । दोषीलाई कारवाही गर्छौं भनेर आश्वासन पनि दिए ।
तर ४ वर्ष वितिसक्दा पनि अस्पतालले न दोषीको खोजी ग¥यो न पीडित पक्षलाई कुनै जानकारी नै दियो ।
पीडित दीपकले ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई बैशाख ३० गते निवेदन दिएका थिए । जिप्रकाले ३ महिनापछि साउन ११ गते जिल्ला क्षतिपूर्ति समिति ललितपुरलाई मामिला हस्तान्तरण गरिदिए । जिल्ला क्षतिपूर्ति समितिले बयान लिँदा नर्स देवी अधिकारीले बच्चालाई दिएको अक्सिजन ठूलो भएकोले सानो सिलिण्डर लिन जाँदा २–३ मिनेट मात्र अक्सिजन हटेको बयान दिईन् । तत्कालिन निर्देशक डा. पारशकुमार आचार्यले “अस्पतालको तर्फबाट कुनै गल्ती नभएको” दावी गरेर २०६७ बैशाख २८ गतेको सहमति पत्र बाध्यतामा परेर गरेको बताए । 
क्षतिपूर्ति समितिले अर्को दुई महिनापछि, असोज ११ गते प्रजिअ रत्नराज पाण्डेयको अध्यक्षतामा बैठक राखेर प्राविधिक परामर्श आवश्यक भएको ठहर गरि नेपाल मेडिकल काउन्सिलमा केस पठाईदियो ।
नेपाल मेडिकल काउन्सिलमा केस पुगेको पनि ४ वर्ष भयो । छानविन गर्न गठन भएको ६ सदस्यीय विशेषज्ञ समितिले दिएको सुझावको आधारमा काउन्सिलले जिल्ला क्षतिपूर्ति समितिलाई २०६७ मंसिर २६ गते विस्तृत विवरण सहितको पत्र पठायो । सो रिपोर्टको तीन नम्बर बुँदामा भनिएको छ—“मृत्युको कारण रिपोर्टमा खुलाइए पनि पोष्ट–मोर्टम जाँच भने नभएको देखिन्छ । पोष्टमोर्टम जाँचबाट मृत्युको कारण पत्ता लगाउन धेरै हदसम्म सहयोग मिल्छ ।”
विशेषज्ञ समितिले पोष्टमोर्टम नगरिएकोले मृत्युको थप कारण पत्ता लगाउन नसकेको राय दियो । पीडित दीपक भन्छन्— हामीले तत्काल पोष्टमोर्टम गरिदिन अस्पतालमा अनुरोध गरेका थियौं । तर डाक्टरहरुले गर्नु पर्दैन भनेर पन्छाई दिए । अहिले पोष्टमोर्टम नगराएको कारण देखाएर हामीलाई उल्लु बनाउँदैछन् । हामीले न्याय पाउने बाटो नै रोकियो ।


रगत फरक पर्दा
२० चैत्र २०६९मा २० वर्षीय निलिशा कार्की बिरामी परिन् । आमा अनिता कार्कीले विभिन्न अस्पतालमा उपचार गराईन् । तर उपचारकै सिलसिलामा नोवेल अस्पतालमा म्याच नहुने रगत परेर, २०७० बैशाख १८ गते उनको मृत्यु भयो ।
निलिशा रगत कम हुने आईटीपी (आईडियोप्याथिक थ्रोम्बोसाईटोपेनिक पुरपुरा ) रोग लागेको थियो । यस अघि सिद्धार्थ नर्सिङ होम भैरहवा, स्किन केयर अस्पताल काठमाण्डौं र शिक्षण अस्पतालमा उपचार गराईएको थियो । शिक्षणका डाक्टरले निलिशाको शरीरमा रगतको कमी भएको बताएका थिए । अनिता कार्की सम्झिन्छिन्—उनको शरीरमा रगत चढाउने बित्तिकै सिद्धिन्थ्यो । निलिशा ओ नेगेटिभ रक्त समूहकी थिईन् ।
रोग बढ्दै गएपछि निलिशालाई काठमाण्डौको ग्राण्डी अस्पताल लगियो । ग्राण्डीले नोबेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा लैजान सिफारिस गरिदियो । २०७० बैशाख ३ गते निलिशा नोबेल अस्पताल भर्ना भईन् । त्यहाँ हेमाटोलोजिष्ट डा. विशेष पौडेलले उपचार शुरु गरे ।
झण्डै दुई हप्ताको उपचारपछि घरमै औषधि खानु भनेर बैशाख १५ गते अस्पतालले घर पठायो । तर तेस्रो दिन निलिशालाई ज्वरो आयो । अनिता कार्की भन्छिन्—उनलाई सास फेर्न गाह्रो हुने, दिशा कालो हुने, शरीरमा नीलडाम देखिने, ओछ्यानमै पिसाब फेर्ने र हिडडुल गर्न नसक्ने भएपछि २०७० बैशाख १८ गते पुनः नोवेलमै अस्पताल भर्ना गरियो ।
निलिशाका बाबु खिमबहादुर भन्छन्—बिहान ९ः३० मा ईमर्जेन्सीमा भर्ना गरिएको बिरामी हेर्न दिउँसो ४ः१०मा डा. विशेष पौडेल आए । उनले निलिशाको स्वास्थ्य गम्भीर रहेको र शरीरमा रगत कम भएकाले तत्काल रगत दिनुपर्ने भनेर रगत चढाउने व्यवस्था गर्न थाले ।
अनिता भन्छिन्—रगतको खोजी भएपछि हामीले ओ नेगेटिभ रगत चाहिन्छ भने हामीसंगै छ भन्यौं, तर उनले वास्तै गरेनन् ।
डा. पौडेलले ईमर्जेन्सीमै रगत चढाउन थालेको २ मिनेटपछि निलिशा शिथिल भईन् र आँखा बन्द गर्न थालिन् । अनि डा. पौडेलले हतारमा आइसियुमा लगे । आईसियुमा लगेको केही छिनमै निलिशाको प्राण गयो । 


चिकित्सकको संवेदनहीनता
अनिता भन्छिन्—डाक्टरले विवेक गरेनन् । निलिशालाई ओ नेगेटिभ रगत दिनु पर्नेमा ओ पोजेटिभ रगत दिएछन् । त्यो रगत दिनासाथ निलिशाका आँखा बन्द भए ।  
पीडित पक्षले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा घटनाको छानविन गरि दोषीलाई कारवाही गरिपाउँ भनेर २०७० जेठ ५ गते निवेदन दर्ता गराए ।
छानविनको क्रममा नोवेल अस्पतालले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लिखित स्पष्टिकरण दियो । पत्रमा “निजकै नातेदारसँग अनुमति लिई यस अस्पतालको आकस्मिक कक्षमा ओ पोजेटिभ समूहको रगत चढाएर सघन उपचार कक्षमा सिफ्ट गरिएको थियो” भनेर पीडितले नै गल्ती गरेको जवाफ दियो । (हे. तलको पत्र)
 
वास्तवमा अस्पतालले ओ नेगेटिभ समूहकी निलिशालाई क्रशम्याच नगरी ओ पोजेटिभ रगत दिएको थियो ।
अस्पतालको स्पष्टिकरणको पाँचौं बुँदामा भनिएको छ—आफन्तले बिरामीकै रक्तसमूहको ओ नेगेटिभ रगत ल्याएपछि दिईरहेको ओ पोजेटिभ समूहको बाँकी रगत दिन बन्द गरि ओ नेगेटिभ समूहकै रगत दिइएको थियो । 


अस्पतालको लापरवाही
अस्पतालको रेकर्ड अनुसार, २०७० बैशाख १८ गते १०ः३०मा निलिशा आकस्मिक कक्षमा भर्ना भईन् । दिउसो १२ बजे हेमाटोलोजीको रिपोर्ट आयो । जसमा निलिशाको शरिरमा ७००० प्लेटलेटस रहेको देखियो । (हे. रिपोर्ट तल)
 
रगत रोग विशेषज्ञ डा. अजयकुमार झा भन्छन्—बिरामीको शरिरमा १० हजार जति प्लेटलेटस् हुँदा पनि त्यो खतरनाक अवस्था हुन्छ । यस्ता बिरामीलाई तत्काल प्लेटलेट्स बढाउने उपचार दिनुपर्छ । तत्काल रगत चढाई दिनु पर्छ ।
निलिशाको प्लेटलेटस् घटेर ७ हजार भैसकेको रिपोर्ट त १२ बजे नै आईसकेको थियो । डा. विशेष पौडेल ५घण्टा ढिला गरेर, ४ः१० बजे तिर हतार हतारमा ओ नेगेटिभ रक्त समूहकी निलिशालाई ओ पोजेटिभ रगत चढाई दिएका थिए । 


को सही, को गलत ?
नेपाल मेडिकल काउन्सिलले विशषज्ञ समितिको राय समेटेर २०७० कात्तिक २१ मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई पठाएको पत्रमा “ओ नेगेटिभ समूहको रगत अभाव भएमा र बिरामीको जीवन बचाउनका लागि रगत नदिई नहुने अवस्था आएमा ओ पोजेटिभ समूहको रगत दिएमा केही हानी हुँदैन, भनिएको छ ।
तर काउन्सिलको विशेषज्ञ समितिमा रगत रोग विशेषज्ञ रहे नरहेको जानकारी दिईएको छैन । नेपालमा रगत रोग विशेषज्ञ भनेर डा. विशेष पौडेल र डा. अजयकुमार झा मात्र चिनिन्छन् ।   
रगत तथा क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झा भन्छन्—ओ नेगेभिट ब्लड समूहको मान्छेलाई ओ पोजेटिभ समूहको रगत दिन मिल्दैन । मेडिकल साइन्सले यसै भनेको छ । ओ नेगेटिभ रगत सबैलाई दिन सकिन्छ तर ओ नेगेटिभका बिरामीलाई ओ नेगेटिभ नै चाहिन्छ । ओ नेगेटिभ रगत भएको बिरामीलाई ओ पोजेटिभ रगत दिईयो भने, त्यो मर्छ ।
को सही, को गलत भन्ने कुरा जिल्ला प्रशासन कार्यालय काठमाडौले छुट्याउन सकेको छैन । अस्पताल र चिकित्सकले यस्तै कमजोरीका लाभ लिई रहेका छन् ।
निलिशाका बाबु खिमबहादुरले भने, “हाम्रो मान्छे त फिर्ता आउँदैन । तर अस्पताल र डाक्टरले पनि आफ्नो गल्तीको नैतिक जिम्मेवारी लिनुप¥यो ।” 


बच्चासंग खेलवाड
२०७० भदौ ८ गते ३ वर्षीय बालक निश्चललाई ज्वरो आउने र पखाला चल्ने भएपछि आमा विनिताले दमौली बजारको भण्डारी मेडिकल क्लिनिकमा लगिन् । त्यहाँ ज्वरो घटाउन र पखाला रोक्न भनेर अजिथ्रो, मेट्रोन र ब्रुसेट औषधि दियो । ज्वरो कम नभएपछि भोलिपल्ट विहानै तनहुँ दमौलीको रत्नहरी मेमोरियल अस्पताल लगिन् । विनिता भन्छिन्—अस्पतालले विहान ६ बजेतिर सलाइनपानी र बान्ता रोक्ने औषधि दियो । ज्वरो घटाउन फ्लेक्सन भन्ने औषधि पनि दिए । तर १५ मिनेटसम्म पनि अवस्था नसुध्रिए पछि डा.रामकुमार श्रेष्ठले डयूटीको नर्सलाई डिक्लोफेनिक (इन्जेक्सन) लगाइदिन अह्राए । नर्सले ३ वर्षे बच्चालाई डिक्लोफेनिक झोल लगाई दिईन् । त्यसको १० मिनेट बच्चा सुस्त हुँदै गयो ।
डाक्टर रामकुमारले फेरि जाँच गरेर बच्चाको मृगौला र फोक्सोले काम गर्न छोडेको बताउँदै अरु अंगमा पनि समस्या देखिन थालेको भनेर पोखरा अस्पताल लैजान भने ।
विनिता भन्छिन्—डाक्टरले भनेपछि एम्बुलेन्समा राखेर पोखरा लैजादै थियौं, कोत्रे भन्ने ठाउँमा आईपुग्दा बच्चाको प्राण गयो । चालकले जबरजस्ती गण्डकी अस्पताल पु¥यायो । विहान १०ः४५मा गण्डकी अञ्चल अस्पताल पोखराले बच्चालाई मृत घोषणा गरिदियो । 


डिक्लोफेनिक विवाद
 विनिताले भनिन्—गण्डकी अञ्चल अस्पताल पोखराका डाक्टरहरुले निश्चललाई दिईएको औषधिको रिपोर्ट हेरेर बच्चालाई दिनै नहुने इन्जेक्सन दिईएछ भनेर दुख मनाउ गरे । निश्चलका बाबु रमेश श्रेष्ठ भन्छन्—बच्चाको घाँटी र सुई लगाइदिएको ठाउँ निलो भएको थियो ।
रमेशले निश्चलको लासको पोष्टमोर्टम गराईदिन कास्कीका मुद्दा शाखाका डिएसपी चक्रराज जोशीलाई गुहार लगाए । तर जोशीले पोष्टमोर्टम गर्न नपर्ने बताएर फर्काईदिए । रमेशले भने—त्यसैदिन बच्चाको अन्त्येष्टि गरिदिएँ । 
अन्त्येष्टि गरेको भोलिपल्ट रमेशका भाई सुरेश श्रेष्ठ जिल्ला प्रशासन कार्यालय तनहुँ पुगे । जिप्रकाले जिल्ला स्वास्थ्य कार्यालय तनहुँलाई सम्बोधन गरि डिक्लोफेनिक इन्जेक्सन कस्तो प्रकृतिको औषधि हो र कस्तो बिरामीलाई दिन मिल्ने÷नमिल्ने हो भनेर जानकारी मागे । जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा. विवेककुमार लालले डेक्लोफेनिक नामक औषधि नन्—स्टेरोइडल एन्टि—इनफ्लामेटरी ड्रग समूह अन्तर्गत पर्ने औषधि हो भन्ने जानकारी दिए ।
तनहुँ जिल्ला प्रशासनले अन्य चिकित्सकसंग पनि परामर्श लिँदा उनीहरुले डाईक्लोफेन ईन्जेक्सन बच्चालाई पनि लगाउन मिल्ने राय दिए । रत्नहरि मेमोरियल अस्पतालका डा. रामकुमार श्रेष्ठले स्पष्टिकरणमा लेखे—बिरामी निश्चलले अन्य मेडिकलबाट अजिथ्रो र मेट्रोन औषधि खाएको थियो । अस्पताल आईपुग्दा अक्सिजनको मात्रा एसपीओ टु ७७ प्रतिशत र पानीको मात्रा एकदम कम थियो । ज्वरो आएकोले १० मिली फ्लेक्सन दिईएको थियो । फ्लेक्सन दिएको १५ मिनेट सम्मपनि दुखाईले छटपटाए पछि त्यही दुखाई कम गर्न, बच्चाको तौल १२ किलो मात्र भएकाले ०.५ एमएल डाइक्लोफेनिक इन्जेक्सन दिईएको थियो ।”  
रत्नहरि अस्पतालले दिएको रिपोर्टमा भनिएको छ— बिहान ८ः३० बजे रगत र दिशाको रिपोर्ट आयो । विरामीको रगतमा किटाणु भेटिएको र मृगौला तथा फोक्सोमा असर परेको थियो ।
विशेषज्ञ चिकित्सकहरु भन्छन्—मृगौला र फोक्सोमा असर देखिएका बिरामीलाई डिक्लोफेनिक प्रयोग गर्न हुँदैन ।  
त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जका बाल शल्यरोग विशेषज्ञ डा. गेहराज दाहाल भन्छन्—मृगौलामा असर परेका बिरामीलाई डिक्लोफेनिक इन्जेक्सन प्रयोग गर्न हुँदैन । सामान्यतः बालबालिकामा यो औषधि दिईंदैन, दिनै पर्ने भए पनि खास अवस्था खुलाउनु पर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय वेभ—साइट सि हेल्थले पनि डिक्लोफेनिक औषधि १६ वर्षभन्दा मुनिका मानिसलाई प्रयोग गर्न हुँदैन भनेको छ । (हे. बक्स)

 

रत्नहरि मेमोरियल अस्पतालका डा. रामकुमार श्रेष्ठ एमडीजिपीका चिकित्सक हुन् । बालरोग विशेषज्ञ नभएको उक्त अस्पतालले बाल रोगका जटिल समस्याहरुको पनि उपचार गर्ने गरेको छ ।

डिक्लोफेनिकको विवाद देखिएपछि रमेश स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल पुगेर २०७० भदौ २१ गते नेपाल मेडिकल काउन्सिलमा निवेदन दिए । तर काउन्सिलले छानविन प्रक्रिया नै अघि बढाएन ।
पीडित रमेश भन्छन्—न्याय पाउनु त परै जाओस, जानकारी पाउने बाटो पनि बन्द भयो । 


औषधिको नकारात्मक असर
ललितपुर लामाटार बस्दै आएका गोरखाका कृष्णप्रसाद पोखरेल २०६९ चैत्र २९ गते विहान शौचालय जाँदा लडे । उनको दाँया करङको तीनवटा हड्डी भाँचियो, एउटा हड्डीे बांगियो । एक हप्ता जति वाफले सेकेर बैशाख ४ गते अल्का अस्पताल जावलाखेलका हाडजोर्नी विशेषज्ञ डा. किशोरलाल श्रेष्ठसँग उपचार शुरु गराए । पोखरेल भन्छन्—डा. श्रेष्ठले एक महिनाको औषधि दिए ।

 

कृष्णप्रसाद भन्छन्— औषधि खाएको ५ दिनपछि नाथ्रो र दिशाबाट रगत आयो । अनि एन्टिबायोटिक (द्यभकतयअभा  ऋख्, तबद० खान छाडेँ । अरु औषधि खाइरहें । औषधि खाको १५÷१६ दिन पछि एउटा चिजलाई तीनटा देख्न थालेँ ।
२०७० जेठ १ गते तिलगंगा आँखा अस्पतालमा जचाए । अस्पतालले काठमाण्डौ मेडिकल कलेजका डा. रविन्द्र श्रेष्ठ कहाँ पठाई दियो । डा. रविन्द्रले आँखा जाँच गरेर, “तपाईको आँखाको सेतो भागमा घाउ भएछ । कालो भाग चाहिँ देब्रेतिर सरेछ । यो आँखा डेढो भएछ । दाँया आँखाको सेतो भाग ब्लक भएछ” भनिदिए । औषधिको साइडइफेक्टले मेरो आँखा पनि बिग्रिएछ, पोखरेलले गुनासो गरे ।
रगतको परिक्षण गराउँदा अस्पतालले दिएको बायोकेमेस्ट्री रिपोर्टमा उनको शरिरमा सुगरको मात्रा ६० देखि १४० सम्म देखियो । पोखरेलले गुनासो गरे—अल्का अस्पतालका डाक्टरले मेरो रक्तचाप, रगत र मधुमेहको जाँच नगरी औषधि दिंएर गडबड गरेछन् । अचेल हेल्थ पोष्टमा पनि ४० नाघेको मानिसको रक्तचाप हेरेर मात्र औषधि दिईन्छ । विशेषज्ञ डाक्टरले नै गल्ती गरेछन् ।
पीडित पोखरेलका अनुसार, लडेको सात दिनपछि जचाँउन आउँदा घाउमा इन्फेक्सन भएको छ कि छैन भनेर रगत, रक्तचाप र मधुमेहको जाँच गराउनु पर्ने रहेछ । तर डाक्टरलाई धेरै बिरामी हेर्न आत्तुरी भयो । मलाई मर्कामा पारिदिए ।”
कृष्णप्रसाद स्वास्थ्य २०७० असार १ गते पुन अल्का अस्पताल पुगे । अस्पतालको हेमाटोलोजी र बायोकेमेस्ट्रीको रिपोर्टमा उनको ब्लड सुगरको स्तर १ सय ४५ देखियो । मधुमेह र उच्च रक्तचापको समस्या पनि देखियो ।
कृष्णप्रसादले अल्का अस्पतालका निर्देशकलाई भेटेर समस्या बताए । अस्पतालका अध्यक्ष कुमार थापाले पोखरेललाई डा. किशोर श्रेष्ठसंग भेटाई दिए । डा. किशोर पुनः स्वास्थ्य जाँच गर्ने तयारीमा लागे । यसपटक जाँच गरेर कृष्णप्रसादको गर्धन पछाडिको नशा चँुडिएको हुनाले आँखामा समस्या आएको बताए । चिकित्सकले नौलो कुरा गरेपछि कृष्णप्रसाद तर्सिए । अनि गैर जिम्मेवार चिकित्सकलाई कारवाही गराउनाका लागि मानवअधिकार आयोग, नेपाल मेडिकल काउन्सिल र जिल्ला प्रशासन तिर उजुरी लिएर धाउन थाले ।


मेडिकल साईन्सका कुरा
मेडिकल साइन्स भन्छ—मधुमेह र उच्च रक्तचाप भएका बिरामीलाई एन्टिबायोटिक दिन मिल्दैन । विशेषज्ञ चिकित्सकहरु भन्छन्— हड्डीमा घाऊ भएका बिरामीको उच्च रक्तचाप र सुगर जाँच गरेपछि मात्र औषधि दिनु पर्छ । तर डा. किशोरले मधुेमह र उच्च रक्तचाप भएका, हड्डीमा घाउ भएका कृष्णप्रसादलाई एन्टिबायोटिक दिए ।          
कृष्णप्रसादले नेपाल मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन दिएर न्याय मागे । कृष्णप्रसाद भन्छन्—निवेदन दिएको ७ महिना बितिसक्यो । काउन्सिलले वास्तै गरेन ।
कृष्णप्रसाद ओछ्यान परिसकेका छन् । उनी भन्छन्—“मानिसको स्वास्थ्यलाई त डाक्टरले प्रयोगशाला बनाउँदा रहेछन् । अब त डाक्टर देखेरै तर्सिन्छु ।”


नलागेको रोगको औषधि खाँदा
काठमाण्डौ बुद्धनगर बस्ने, बिराटनगरका मुकेशकुमार उपाध्यायलाई घुडाँको जोर्नी दुख्ने समस्या थियो । त्यो जचाउँन २०६९ असोज २ अल्का अस्पताल पुगे । अस्पतालका हेमाटोलोजिष्ट डा. विशेष पौडेलले जाँच गरेर छाति सम्बन्धि विशेषज्ञ डा. पुष्पा मल्लकहाँ पठाईदिए । डा. मल्ल नेपाल क्षयरोग केन्द्रकी अध्यक्ष हुन् । डा. मल्लले डा. विशेष पौडेलको रिपोर्ट हेरेर सिटि स्क्यान गराएर क्षयरोगको औषधि लेखिदिईन् ।
सामान्यतः क्षयरोग थाहा पाउन स्पोटुम पिसिआर मोन्टेक्स टेष्ट गराउनु पर्ने हुन्छ । मुकेशले एक महिना अगाडि परिक्षण गराउँदा पनि स्पोटुम पि.सि.आर पोजिटिभ देखिएको थियो ।


कच्चा डाक्टर, ज्यानको खतरा
डा. मल्लले खकार र रगतको परिक्षण बिना नै क्षयरोगको इन्जेक्सन र औषधि लेखिदिएपछि मुकेशले टीबीको उपचार गराउन थाले । तर औषधि र इन्जेक्सन लगाएको भोलिपल्टै मुकेशलाई चिलाउने, टाटा आउने, घाउ देखिने र सुत्न अप्ठ्यारो हुन थाल्यो । उनी फेरि डा.मल्ल कहाँ पुगे । डा.मल्लले क्षयरोगको औषधि खाँदा यस्तै चिलाउने, टाटा हुने गर्दछ, डराउनु पर्दैैन, सेवन गरिरहनुहोस् भनिन् र छालारोग विशेषज्ञ कहाँ जान सल्लाह दिईन । क्षयरोग केन्द्रमा बोलाएर क्षयरोगको ईन्जेक्सन पनि लगाइ दिएर बिराटनगरको नाटा डट्स क्लिनिकमा संम्पर्क गर्न भनिन् ।
मुकेश असोज १० गते बिराटनगरको डट्स क्लिनिक गएर परिक्षण गराउँदा डा. ज्ञानु शाह र टेक्निसियन घनश्याम खतिवडाले क्षयरोगका किटाणु नदेखिएकोले औषधि खान नहुने बताए ।
मुकेश भन्छन्, तर डा. मल्लले औषधि नछोड्नु भनिन् । थप दुई हप्ता औषधि र सुई लिएँ । छाला फुटेर अलकत्र जस्तै कालो भयो । जिउ सुन्नियो, सास लिन गाह्रो भयो ।
त्यसपछि मुकेश दिल्लीको मेदान्त अस्पताल पुगे । उनी भन्छन्—मेदान्तका डाक्टरहरुले ‘मेडिसिन रियाक्सन, मेडिसिन रियाक्सन’ भने । त्यहाँ क्षयरोगको परिक्षण गर्दा क्षयरोग देखिएन ।

मेदान्त अस्पतालका डा. हिमांशु गर्गले “नो एभिडेन्स अफ पल्मोनरी ट्युबरक्लोसिस फाउण्ड” भनि लेखिएको पूर्जा दिए । तर क्षयरोगको औषधिले किड्नीमा नकारात्मक असर पारेको बताएर तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताए । मुकेश भन्छन्—मेरो किड्नी त सकिनै लागेको रहेछ । मेदान्तको डाक्टरले ६ महिना लगाएर औषधिकोे रियाक्सन हटाई दिएका हुनाले म बाँचे ।


उपचार गराउनेकै दोष
नेपाल फर्केपछि चिकित्सकलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा २०६९ मंसिर २७ गते उजुरी दिए । मेडिकल काउन्सिल र राष्ट्रिय उपभोक्ता मञ्चमा गुहार लगाए ।
मामिला ललितपुर जिल्ला क्षतिपूर्ति समितिमा आयो । क्षतिपूर्ति समितिले अस्पताललाई मागेको स्पष्टिकरण पत्रको जवाफ दिंदै अल्का अस्तालले दोष जति मुकेशकै थाप्लोमा बजारिदियो । अस्पतालले सोध्यो—भारतमा उपचार गराउन जानु अघि बिरामीले सम्बन्धित चिकित्सकलाई किन भेट्नु भएन ?  
पीडित मुकेश गुनासो गर्छन—मेडिकल काउन्सिलले छानबिन गरिदिएन । अब म कहाँ जाउँ ? अदालत धाएर थप दुख पाउँ ?

 

नेपालको स्वास्थ्य क्षेत्रमा समस्या छ
 डा. सतिस देव
संयोजक, इथिकल कमिटि, नेपाल मेडिकल काउन्सिल
नेपाल मेडिकल काउन्सिलले चिकित्सकका कामकारवाही र आचार संहिताका बारेमा निगरानी राख्छ । काउन्सिलले नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र निर्देशनमा काम गर्छ । तर अहिले तोकिएका कार्यभारहरु पुरा गर्न नसक्दा समस्या आएको छ ।

गैरकानुनी अभ्यास भएको थाहा पाउँदा पनि काउन्सिलले सम्बन्धित डाक्टरलाई कारवाही गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालय पनि आँखा चिम्लिएर बसेको छ । चिकित्सकबाट उपचार गर्दा बिरामीलाई नकारात्मक असर परेमा त्यसको जिम्मा कसले लिने ?
 
जिम्मेवार निकायले आवश्यक कदम चाल्न नसक्दा नेपालको स्वास्थ्य क्षेत्रमा समस्या आएको छ । भविष्य कस्तो होला ? विचार पु¥याउनु आवश्यक छ । नेपालको स्वास्थ्य क्षेत्रले नकारात्मक बाटो लिएमा त्यसको असर उपचारका लागि अस्पताल आउने बिरामीमा पर्न जान्छ ।

 

न्याय पाईँदैन
 
–अनिता कार्की, पीडित
जिल्ला प्रशासन काठमाण्डौमा २०७० जेठ ५ गते छानविनको लागि उजुरी दिएपछि महिना–महिनामा उपस्थित हुन तारेख दिन थाल्यो । मेडिकल काउन्सिलको विशेषज्ञ समितिको रिपोर्ट पछि आउनु भनेको थियो । हामी धाईरह्यौं । मेडिकल काउन्सिलले डाक्टरको गल्ति नभएको रिपोर्ट दियो । जिल्ला क्षतिपूर्ति समितिले पीडितका पक्षबाट अस्पताल र डाक्टरलाई जिम्मेवार बनाईने छैन भन्ने कागज गरेकाले अर्को निणर्य हुन सकेन भन्यो ।

समितिले सम्बन्धित डाक्टर, अस्पताल र पीडितलाई राखेर कुरा गराएन । हामी क्षतिपूर्तिका लागि नभएर गल्ती गर्ने डाक्टरलाई कारवाही हुनुपर्छ भनेर न्याय माग्न गएका थियौं । जिम्मेवार निकायहरु पन्छिएर क्षतिपूर्ति समितिमा लगेर अड्काई दिए । अब कहाँ जाने ? यहाँ न्याय पाईदो रहेनछ ।

 

उपभोक्ताको व्यापार
 
–मुकेश कुमार उपाध्याय, पीडित

क्षतिपुर्ति समितिमा केस आइसकेपछि प्रमुख जिल्ला अधिकारी, घरेलु तथा साना उद्योगको प्रमुख,  उपभोक्ताको प्रतिनिधि, र डाक्टरहरु बसेर छलफल गर्छन् । तर पीडितलाई बाहिरै राख्छन् ।
 
उपभोक्ताका प्रतिनिधिले एउटा वलिक खडा गरिदिन्छ । वकिल चाहिँ मिलपत्र गराउन तिर लाग्छ । एकजना उपभोक्तावादीले मलाई फोन गरेर के भन्नु भयो भने, हाम्रो मिडिया हाउस छ । त्यहाँ पत्रकार सम्मेलनका लागि चिया र हलको लागि पन्ध्र सोह्र हजार खर्च लाग्छ । पत्रकार सम्मेलन गरौं भने । मैले प्रमाण सहित, दुईपक्ष बसौँ न त भन्दा उहाँहरुले चासो देखाउनु भएन । उपभोक्तावादीले व्यापार चलाउने त हैन नि !


 

[२०७१ जेठको स्वास्थ्य खबर पत्रिकामा प्रकाशित]

 

प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

शरीयत र आधुनिक शिक्षा बीच थिचिएका मुस्लिम बालबालिका

शरीयत र आधुनिक शिक्षा बीच थिचिएका मुस्लिम बालबालिका

सरकारले मदरसा शिक्षालाई अलपत्र छाड्दा र समुदायभित्र परम्परा–आधुनिकताको द्वन्द्व समाधान नहुँदा, विपन्न मुस्लिम बस्तीका बालबालिका दुईथरी दायित्वले थिचिएका छन् ।...
यौनिक तथा लैङ्गिक अल्पसंख्यक : पहिचानकै संघर्ष

यौनिक तथा लैङ्गिक अल्पसंख्यक : पहिचानकै संघर्ष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले नागरिकता र सरकारी दस्तावेजमा आफ्नो वास्तविक पहिचान पाउन सकेका छैनन् । बारम्बार अपमान, शिक्षा र स्वास्थ्यको...
रामेछापः जहाँ घर छन् तर, जीवन निख्रिंदैछ

रामेछापः जहाँ घर छन् तर, जीवन निख्रिंदैछ

रामेछापका गाउँमा स्कूल, स्वास्थ्य केन्द्र र पसल सुनसान हुँदैछन्, खेतबारी बाँझा छन् । यहाँको रित्तिंदो समाजले स्थानीय सरकारलाई चुनौती दिएको...