खोज रिपोर्ट
सुकुम्बासी आयोग बाँकेले कोहलपुर नगर विकास समितिको जग्गा देखाएर कसरी गर्यो लालपुर्जाको ब्यापार ? यस्तो ‘लालपुर्जा’ लिनेहरु अहिले बिचल्लीमा परेका छन् ।
- जनक नेपाल : खोज पत्रकारिता केन्द्रका लागि कोहलपुर नगर विकास समितिले चौराहादेखि दक्षिण–पूर्वमा अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न १२ बर्षअघि ४ विघा १९ कठ्ठा जग्गा छुट्याएको थियो । समितिले मैदान वरपर १० धुरका प्लटहरु घडेरीका रुपमा विकास गरी ३० लाख मूल्य तोकेर विक्रि समेत खुल्ला गर्यो । यी घडेरीहरु विक्री हुन भने सकेनन् । किनभने, नगर विकासका ३ सय १० प्लट घडेरी सुकुम्बासी समस्या समाधान आयोग बॉकेले अनधिकृत लालपुर्जा बॉडेर बसाएका ‘सुकुम्बासी’का अर्धपक्की र कच्ची घरले ओगटेका छन् । त्यसरी बॉडिएको लालपुर्जामा कच्ची घर बनाएर बस्नेमध्ये एक हुन्, सुर्खेत लाटीकोइलीकी समिता मल्ल । उनले क्रिकेट मैदानदेखि पश्चिमतर्फको १० धुर जग्गाको लालपुर्जा पाएकी छन् । ९ माघ ०६९ मा सुकुम्बासी आयोग बाँके जिल्ला कार्यसमितिको बैठकले अनुमोदन गरेर सुकुम्बासीको नाममा बाँडेका ४ सय ८४ घडेरीमध्ये कित्ता नम्बर १६८ लेखिएको लालपुर्जा समितालाई दिइएको छ । समिता र छोरा महेन्द्रको संयुक्त नाममा जारी गरिएको उक्त पुर्जामा जारी मिति उल्लेख छैन । उनको परिवार जग्गा पाइने आशामा सुर्खेतबाट बॉकेको कोहलपुर झरेको हो । दुःख गरेर पैसा जुटाएर लिएको लालपुर्जामा उल्लेख गरिएको जग्गाको श्रेस्ता कायम हुन नसकेपछि उनी आत्तिएकी छन् । समिता भन्छिन्, ‘लालपुर्जा लिन धेरै दुःख गरियो । बरु मर्न तयार छौ, यो ठाउँ छाड्दैनौ ।’ लालपुर्जाको व्यापारसुकुम्बासी आयोग कार्यालयमा करारमा नियुक्त बाँके कुसुमस्थित खोकरीका हरिबहादुर केसीले अन्र्तराष्ट्रिय क्रिकेट मैदानको गेटकै १० धुर घडेरी लिएका छन् । आयोगले दिएको लालपुर्जाको भरमा उनले दुई बर्षअघि त्यहाँ अर्धपक्की घर पनि बनाएका छन् । दैलेखबाट बसाई सरेर आएकी गीता शाहीको परिवारले मैदानको दक्षिणतर्फ समिता र हरिले झै सवा कठ्ठा जग्गाको लालपुर्जा पाएका छन् । त्यहाँ उनले सिमेन्ट ब्लकको अर्धपक्की घर बनाइएका छन् । यो जग्गा हात पार्न गीताका ससुरा मानबहादुर सुकुम्बासीका रुपमा ५ बर्षअघि छाप्रो हालेर बसेका थिए । आयोगको लालपुर्जा पाएपछि ससुरा दैलेख फर्केका छन् भने पति दीपक कमाउन कतार गएका छन् । सुकुम्बासी आयोग बाँकेका तत्कालिन अध्यक्ष सन्तोष बस्नेत र पदाधिकारीले ५ सयभन्दा धेरै घडेरीका यस्ता ‘लालपुर्जा’ बॉडेको छन् । ‘लालपुर्जा दिने भनेर सुकुम्बासीबाट पैसा उठाईयो’ स्थानीय कृष्णसिंह ठकुरीले भने, ‘पैसा दिएको रसिद नदिए पनि निःशुल्क छाप लागेको लालपुर्जा पाईएको छ ।’ आयोगको बाँके कार्यसमितिको २३ फागुन ०६९ को निर्णय र चैत ५ गतेको अनुमोदनलाई आधार बनाएर ४ मसिंर २०७० को संविधानसभा निर्वाचनअघि सुकुम्बासीलाई राजनीतिक अभियानकै रुपमा लालपुर्जा वितरण गरिएको थियो । लालपुर्जा दिनुअघि आयोगले तीन सदस्यीय फिल्ड अध्ययन टोली बनाएको थियो । टोलीमा अध्यक्ष बस्नेत, एमालेतर्फकी सदस्य भगवती अधिकारी र एमाओवादीका पूर्ण अधिकारी सम्मिलित थिए । उनीहरुकै प्रतिवेदनलाई आधार बनाएर लालपुर्जा बॉडिएको थियो । ‘अध्यक्ष बस्नेत, भगवती र पूर्ण अधिकारीले बोर्डको निर्णय विना नै लालपुर्जा छापेर बॉडे’ आयोगका कॉग्रेस प्रतिनिधी सदस्य भानुभक्त भट्टराई भन्छन्, ‘बैठकमा जग्गा नापनक्सा वा लालपुर्जा सम्बन्धी कुनै प्रस्ताव नै आएन ।’ नियमानुसार, जग्गा नापजॉच गर्नुअघि ३५ दिने सूचना दिनुपर्छ । सम्बद्ध गाविस वा नगरपालिकालाई पत्राचार गर्नुपर्छ । यस्ता कुनै प्रक्रिया नपु¥याई गोप्य रुपमा पैसा उठाउने र लालपुर्जा बॉड्ने काम भएको उनी बताउँछन् । आफूसमेत सदस्य रहेको उक्त आयोगलाई सुकुम्बासीको पहिचान गर्नेबाहेक अरु अधिकार नभएको उल्लेख गर्दै पैसा दिएर सयौ लालपुर्जा बाँडेको कुरा आफूले पछि मात्र थाहा पाएको उनले बताए ।
सुकुम्बासी आयोग बाँकेका पूर्व अध्यक्ष बस्नेत कार्यादेश अनुसारै लालपुर्जा वितरण गरेको दाबी गर्छन । ‘ती सरकारी जग्गा हुन् । हामीले कार्यादेश अनुसारै लालपुर्जा वितरण गरेका हौ’ बस्नेत भन्छन्, कोही व्यक्तिगत रुपमा समितिको कित्तामा बसेको छ भने हामी जिम्मेवार छैनौ ।’ नियमानुसार, जिल्लास्थित प्रमुख मालपोत अधिकृत सुकुम्बासी आयोगको सदस्य सचिव हुने व्यवस्था छ । उनको हस्ताक्षर विना कुनै पनि लालपुर्जा सम्बन्धी निर्णयले बैधानिकता पाउँदैन । तर, आयोग पदाधिकारी र सुकुम्बासी नेताले प्रक्रिया नापुर्ययाएरै लालपुर्जा छापेर, छाप र हस्ताक्षर गरेर बाँडेका थिए । ‘आयोगले निर्णय गरेर मात्र पुग्दैन । गाविसको सिफारिस, नक्सा र फिल्डबुक अनुसार भए÷नभएको पुर्नपुष्टिपछि मात्र लालपुर्जा बितरण हुन्छ । विगतमा आयोगले गरेका धेरै निर्णय रद्द पनि भएका छन्’ जिल्ला मालपोत अधिकृत कृष्णप्रसाद जोशी भन्छन् ‘आयोगले वितरण गर्ने जग्गाका लागि सुकुम्बासीले पैसा तिर्नुपर्दैन । तर, मालपोतले भेरीफाई गर्दा कागजात भने दुरुस्त हुनुपर्छ ।’ लालपुर्जामा जमिनको कित्ता नम्बर, क्षेत्रफल र जग्गाधनीको नाम उल्लेख गरिएता पनि जिल्ला नापी कार्यालयले कित्ताकाट गरी स्वीकृति दिएको छैन । मालपोत कार्यालयले पनि त्यसको कुनै बैधानिक अभिलेख नभएको जनाएको छ । मालपोत र नापीमा श्रेस्ता कायम नहुँदासम्म लालपुर्जाले स्थायी आधार पाउन सक्दैन । त्यो अनधिकृत ठहरिन्छ र त्यस्तो जग्गा किन्नेको हकभोग कायम हुन सक्दैन । सरकारको नाममा स्रेस्ता हुने ऐलानी, प्रति र सार्वजनिक जग्गा मात्र सुकुम्बासी आयोगले त्यसरी वितरण गर्नसक्ने कानूनी व्यवस्था छ । ‘आयोगलाई व्यक्ति वा कुनै संस्थाको जग्गा बाँड्न पाउने कानूनी व्यवस्था छैन’ जिल्ला मालपोत अधिकृत जोशी भन्छन्, ‘कोहलपुर नगर विकास समितिको नामको जग्गा आयोगले दिनै पाउँदैन । स्वतः अबैध हुन्छ ।’ बाँकेका तत्कालिन प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद भुसाल बस्नेत अध्यक्ष रहेको तत्कालिन आयोगलाई त्यसरी लालपुर्जा दिने कुनै कार्यादेश र अधिकार नभएको बताउँछन् । उनी भन्छन्, ‘सुकुम्बासी पहिचान गर्ने, परिचयपत्र दिने र उपयुक्त जग्गा यकिन गर्नसम्म सक्ने मात्र आयोगको कार्यादेश थियो । लालपुर्जा बाँडेको मैले पनि धेरै पछि थाह पाएँ । मालपोत अधिकृतलाई नै छलेर लालपुर्जा दिने काम गलत हो ।’ २०४१ माघ १० गते तत्कालिन मन्त्रीपरिषद् बैठकले १३१ विघा ८ कठ्ठा जंगल र प्रति ऐलानी जग्गासहित कोहलपुर विकास समिति गठन गरेको थियो । यसमा पछि जग्गा थपिएर १७८ विघा पुग्यो । समितिले अरु जग्गा विक्रि वितरण गरिसकेता पनि ४३ विघा जग्गा बाँकी थियो । त्यही बाँकी जग्गाको प्लट नं.३१९ देखि ६२९ सम्मका घडेरी अतिक्रमण भएको छ । यहाँ अतिक्रमण गर्नेहरुले सुकुम्बासी आयोगले दिएको लालपुर्जा लिएका छन् । नगर विकास समितिले क्रिकेट मैदान वरपरका ३ सय १० प्लट घडेरीको लालपुर्जा आफ्नो नाममा प्राप्त गरेको थियो । ती सबै ठाउँमा लालपुर्जा दिएर आयोगले सुकुम्बासी बसाई दियो । नगर विकास समिति अध्यक्ष टेकनारायण भुसाल भन्छन,‘सुकुम्बासी आयोगले बाँडेको लालपुर्जा अनधिकृत हो । यसरी नक्कली लालपुर्जा बाँड्नेलाई कानूनी कारबाही हुनुपर्छ ।’ नगर विकासका अमिन पदम आचार्यका अनुसार, अतिक्रमित मध्ये १० कठ्ठा ९ धुर स्थानीय विद्यालयका लागि छुट्याइएको जग्गा पनि परेको छ । डुवान क्षेत्र भनेर नगर विकासका घडेरीको नक्कली लालपुर्जा बनाइएको छ । जबकी ती सबै घडेरीका लालपुर्जा नगर विकास समितिसंग छ । कोहलपुर नगर विकास समितिले प्लटिङ गरेका महंगा घडेरीमा एकिकृत नेकपा माओवादीसम्बद्ध मुक्त कमैया तथा सुकुम्बासी संघले आयोगको सहयोगमा पहाडबाट झरेका सुकुम्बासीहरुलाई जर्बजस्ती बसाएपछि यहाँको जग्गा र लालपुर्जा विवादमा परेको हो ।
प्रतिक्रिया दिनुहोस्