खोज रिपोर्ट
![‘हामीलाई ईश्वरले मात्रै बचाएको हो’](https://www.cijnepal.org/wp-content/uploads/2017/10/nepali-cover-pic-1.jpg)
बाजुराको दुर्गम गाउँका आमाहरूको कथा, जसले १५ सन्तान जन्माए तर आधा पनि बचाउन सकेनन् ।
-प्रकाश सिंह: खोज पत्रकारिता केन्द्रका लागि
हिमाली गाउँपालिका १ बस्ने ४१ वर्षीया बिस्नकला थापाले गएको जेठमा १६औं सन्तान जन्माइन् । अरू बच्चा घरमै जन्माएकी थापाले १६औं बच्चा भने जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा जन्माइन् ।
उनका ९ वटा बच्चाको मृत्यु भइसकेको छ, भने ७ बच्चा जीवित छन् । १४ वर्षमा बिहे गरेकी बिस्नकलाको ४१ वर्षको उमेरसम्मको देखिने गरिको मुख्य काम भनेको बच्चा जन्माउने मात्रै हो । बाजुरा जिल्लाको पनि दुर्गम गाउँकी बिस्नकलासँग धेरै सन्तान किन जन्मिए भन्ने प्रश्नको जवाफ छैन । श्रीमान् जैधन थापा भन्छन्, “रोक्ने साधन केही भएन, उपाय पनि केही जानिएन । त्यसैले धेरै बच्चा जन्मिए ।” जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आकस्मिक प्रसूति केन्द्रका मेडिकल अधिकृत डा. टीकाराम राई भन्छन्, “धेरै बच्चा जन्माउँदा बिस्नकलालाई रक्तअल्पता समेत भइसकेको छ । उनको स्वास्थ्य अवस्था पनि निकै कमजोर छ ।”
बिस्नकलाको परिवारमा साँच्चिकै विपत्ति छ । श्रीमान् जैधन थापालाई बाँचेका बच्चाहरू कसरी पाल्ने र श्रीमतीको ज्यान कसरी जोगाउने भन्ने पिरलो छ । आफ्नो उत्पादनले मुश्किलले तीन महीना खान पुग्छ । कोल्टी बजार आएर भारी बोक्ने र लेकमा गएर जडीबुटी खोजेर बेच्ने उनले जानेको काम हो । उनका कुनै पनि बच्चा आठ कक्षा माथि पुगेका छैनन् । जैधन भन्छन्, “राम्रोसँग खानै छैन, पढाइ त टाढाको कुरो ।”
स्वामीकार्तिक गाउँपालिका–२ की ४३ वर्षीया आर्मा बुढाले ६ महीनाअघि १६औं सन्तान छोरो जन्माइन् । १५ वर्षमा विवाह गरेकी आर्माले ९ वटा बच्चा जीवितै जन्माइन् भने ७ बच्चा मरेका जन्मिए । पछिल्लो सन्तान जन्माउँदा उनको स्वास्थ्य अवस्था हदैसम्म नाजुक थियो । उनी सहाराविना उभिन नसक्ने अवस्थामा थिइन् । पहिला साप्पाटा स्वास्थ्य चौकी, त्यसपछि बाँधु स्वास्थ्य चौकीमा प्रसूति गराउन नसकेपछि तीन जना स्वास्थ्यकर्मीको सहयोगमा उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लगियो । त्यहाँ उनले १६औं सन्तान जन्माइन् ।
आर्माका पति पायन बुढाले भने “पछिल्लो सन्तान मात्रै स्वास्थ्य केन्द्रमा जन्मिएको हो ।” अरू बच्चा घरमै जन्मिएका हुन् त ? त्यो पनि होइन । पायन भन्छन्, “पहिलेका त काम गर्न जाँदा, बाटो हिंड्दा जंगलमा पनि जन्मिएका थिए ।” आर्मा र पायनको परिवारले भोगेको यो कथा सुदूरपश्चिम पहाडी जिल्लाको प्रतिनिधि कथा हो । यहाँका धेरै दम्पतीमा परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ र उमेर ढल्किसकेपछि बच्चा जन्माउनुहुँदैन भन्ने चेतना नै छैन । बूढीनन्दा नगरपालिकाकी उममेयर सृष्टि रेग्मी भन्छिन्, “बाजुराका दुर्गम उत्तरी गाउँमा आर्मा जस्ता आमाहरू घरघरमै भेटिन्छन् जो चालीस वर्ष माथिको उमेरमा पनि कठिन रूपमा बच्चा जन्माइरहेका छन् ।”
हिमाली गाउँपालिका–२ कोटगाउँ बस्ने ४२ वर्षीया कल्सरी बुढा १४ सन्तानकी आमा हुन् । भाग्यले भनौं उनका १२ सन्तान जीवितै छन् । सानो अहिले तीन वर्षको छ । १४ वर्षको उमेरमा विवाह गरेकी कल्सरीले १६ वर्षको उमेरदेखि बच्चा जन्माउन थालेकी हुन् । कल्सरी भन्छिन्, “स्वास्थ्य केन्द्र थिएन, गर्भ जाँच हुँदैनथ्यो । जहाँ बेथा लाग्यो त्यहीं पाउनुपथ्र्यो ।” यातायातको असुविधा, सञ्चारको अभाव र ज्ञानको कमीले अहिले पनि यस क्षेत्रका महिलाले गर्भवती अवस्थामा चुनौतीपूर्ण स्वास्थ्य समस्या झ्ेल्नुपर्छ । एउटा गाउँबाट स्वास्थ्य केन्द्रसम्म पुग्न बाटो र यातायातको सुविधा नहुँदा दुर्गम भेगका महिलाले कतिसम्म पीडा खेप्नुपर्छ भन्ने उदाहरण हुन कल्सरी । उनको गाउँबाट बिच्छ्याँ स्वास्थ्य चौकी पुग्न कस्सिएर एक दिन हिंड्नुपर्छ ।
कल्सरीको परिवारमा साँच्चिकै दुःख छ । खान–लाउन समस्या छ । तैपनि १०–१२ वर्षका हुँदासम्म दुःखसुख गरेर केटाकेटीलाई नजिकको स्कूल पढ्न पठाइन् । तर के गर्नु अलिक ठूला भइसकेपछि खान–लाउन दिन समस्या भयो । छोराछोरीलाई जडीबुटी खोज्न पठाउने गर्छिन् । नभए फुर्सदमा कोल्टी, मार्तडी बजारमा ज्याला मजदूरी गर्न पठाएर काम चलाइरहेकी छन् । कल्सरी भन्छिन्, “बच्चा धेरै पाएर हो कि के भएर हो, पाँचौं बच्चा पाएदेखि तल्लो पेट दुख्न थालेको छ । उपचार गर्न पैसा नभएर सहेर बसेकी छु ।”
बूढीनन्दा नगरपालिका–२ बस्ने ६२ वर्षकी मुगा गिरीले दुई जुम्ल्याहा समेत गरेर १८ वटा बच्चा जन्माइन् । ९ वटा त अहिले पनि जीवितै छन् । यति धेरै सन्तान कसरी हुर्काइन् उनले ? मुगा भन्छिन्, “आजभोलि एउटा, दुइटा सन्तान जन्माउँदा दुःख भयो भन्छन् । उहिले त अहिले जस्तो चामल पाइँदैनथ्यो । सिस्नो खुवाएर पनि बच्चा पाल्नुपथ्र्यो ।” बच्चा हुर्काउँदा आफूले कहिल्यै पेटभरि खान नपाएको बताउने मुगा भन्छिन्, “अहिले पनि तल्लो पेट दुख्छ, ढाड निहुरेको निहुरेकै हुन्छ । अहिले सम्झ्ंिदा हामीलाई त ईश्वरले मात्रै बचाएको हो जस्तो लाग्छ ।”
भयावह पाठेघरको समस्या
असुरक्षित सुत्केरी र धेरै सन्तान जन्माएका महिलाको पाठेघरमा समस्या देखिएको छ । स्वामीकार्तिक गाउँपालिका–३ की नमकला बुढाले १३ वटा बच्चा जन्माइन् । पाँचौं बच्चा जन्मेदेखि उनलाई पाठेघर खस्ने समस्याले पिरोलिरह्यो । उनले सबैजसो बच्चा घरमा र काम गर्न जाँदा जंगलमा जन्माइन् । आर्थिक अवस्था कमजोर भएकाले अहिलेसम्म पनि उपचार गर्न सकेकी छैनन् ।
![](http://www.cijnepal.org/wp-content/uploads/2017/10/Doc1.jpg)
नमकलाको जस्तै कथा छ स्वामीकार्तिक गाउँपालिका–५ बस्ने नानकला कठायतको पनि । उनले १४ वटा बच्चा जन्माइन् । उनलाई पनि पाठेघर दुख्ने, पोल्ने समस्याले पिरोलिरहेको छ । नानकलाले बच्चा पाउँदा एकपटक त पाठेघर समेत बाहिर आएको बताइन् ।
बडिमालिका–३ बस्ने ७३ वर्षीया लक्ष्मी पण्डितले पाठेघर खस्ने समस्या झ्ेलेको १० वर्ष भयो । तेस्रो बच्चा पाएको वेलादेखि खस्न शुरू भए पनि शुरू शुरूमा लाज मानेर उनले यो समस्या लुकाउँदै गइन् । साह्रै अप्ठ्यारो भएपछि मात्रै उनी जिल्ला स्वास्थ्य कार्यालय बाजुरा पुगिन् । पाठेघर खस्ने सम्बन्धी स्वास्थ्य शिविर लागेको वेला निःशुल्क अपे्रसन गरिन् । लक्ष्मीले भोगेजस्तो समस्या गाउँगाउँमा छ । बडिमालिका–८ बस्ने ३५ वर्षीया जलु साउदको पाठेघरमा समस्या आएको त २१ वर्ष भयो । १४ वर्षको उमेरमा पहिलो बच्चा पाएको वेला उनको पाठेघर खसेको थियो । त्यसपछि पनि उनले तीन वटा बच्चा जन्माइन् । समस्या अहिले पनि उस्तै छ । बडिमालिका पाटा बस्ने ५० वर्षीया फुगी दानीले पाठेघरमा समस्या भएको १८ वर्षपछि बल्ल उपचार पाइन् । फुगी भन्छिन्, “साह्रै समस्या भएपछि अप्रेसन गरें ।”
दुर्गम भेगका महिलामा पाठेघर खस्ने समस्या धेरै छ । धेरै सन्तान जन्माउने र अदक्ष व्यक्तिले सुत्केरी गराउने हुनाले धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् । यस बाहेक सुत्केरी अवस्थामा आराम नगर्ने र जीविकोपार्जनका लागि कडा शारीरिक श्रम गर्नुपर्ने जस्ता कारणले यहाँका महिलामा पाठेघर खस्ने समस्या धेरै छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सिनियर अहेव टेकबहादुर खड्का भन्छन्, “सानो उमेरमा विवाह गर्नु, धेरै बच्चा पाउनु, सुत्केरी भएलगत्तै काममा जानु, गह्रौं भारी बोक्नु पाठेघर खस्ने मुख्य कारण हुन् ।” सिनियर अनमी शर्मिला शाहीका भनाइमा, “बच्चा धेरै जन्माउने, अशिक्षा र पाठेघर सम्बन्धी समस्या भन्न लाज मान्ने प्रवृत्तिले पनि बाजुरा जिल्लाका ग्रामीण भेगका धेरै महिलामा पाठेघरको समस्या छ ।” यो कति ठूलो समस्या होला भन्ने प्रश्नमा शाही भन्छिन्, “भयावह अवस्था छ ।”
सामान्यतया २० देखि ३५ वर्षको उमेर बच्चा पाउन उपयुक्त मानिन्छ । तर, पश्चिम नेपालका दुर्गम गाउँहरूमा २० वर्ष पुग्दासम्म दुईदेखि तीन वटासम्म बच्चा भइसकेका हुन्छन् । यो क्रम ४५ वर्षसम्म चलिरहन्छ । उमेर ढल्केपछि सन्तान पाउँदा आमा र बच्चा दुवैको अवस्था जोखिम हुने गर्छ । बाजुराका महिला अहिले पनि यो समस्यामा छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रूपचन्द्र विश्वकर्मा भन्छन्, “धेरै बच्चा जन्माउने, कम उमेरमा जन्माउने र उमेर ढल्कँदासम्म बच्चा जन्माउने महिलामा पाठेघर खस्ने समस्या धेरै छ ।” विश्वकर्माका भनाइमा, यसले धेरै आमाहरूको स्वास्थ्य अवस्था जटिल बनाएको छ । कतिको अकालमै ज्यान जाने र बाँच्नेको पनि स्वास्थ्य अवस्था नाजुक हुने गर्छ ।
कमजोर हुने र कुप्रो पर्ने
धेरै सन्तान जन्माउँदा देखिने अर्को समस्या हो रक्तअल्पता । बूढीनन्दा नगरपालिका–८ की डोमा गुरुङ ३५ वर्षकी भइन् । अहिलेसम्म उनले ११ वटा बच्चा जन्माइसकिन् । यीमध्ये तीन वटा मात्रै जीवित छन् । धेरै बच्चा पाउँदा उनमा रक्तअल्पता देखिएको छ । डा. विश्वकर्मा भन्छन्, “बच्चा पाउने वेलामा हरियो सागपात र आइरन पाइने पोषिलो खानेकुरा खान नपाउँदा रक्तअल्पता हुन्छ ।”
डोमा जस्तै हिमाली गाउँपालिका–१ बस्ने ४१ वर्षीया बिस्नकला थापालाई पनि रक्तअल्पता छ । गएको जेठमा १६औं सन्तान जन्माउँदा मात्रै उनले स्वास्थ्यकर्मीको सहयोग लिएकी थिइन् । यस पटक रगत अभावले गर्दा बच्चा जन्माउन समस्या भएपछि उनलाई दुई प्वाइन्ट रगत दिइएको थियो । शरीरमा रगत कम हुँदा रिंगटा लाग्ने र कमजोर महसूस हुने गर्छ । सिनियर अनमी प्रमिला बिष्ट भन्छिन्, “धेरै बच्चा पाउने र बच्चा पाउँदा धेरै रगत बग्ने भएकाले बाजुराका दुर्गम भेगका महिलामा रक्तअल्पता धेरै छ ।”
धेरै बच्चा पाउने आमाहरूमा चाँडै नै ढाड दुख्ने समस्या पनि देखिने गरेको छ । पैंतीस चालीस वर्षको उमेरमै बूढी देखिने, निहुरिएर हिंड्नुपर्ने अवस्थामा हुन्छन् उनीहरू । १८ वटा बच्चा जन्माएकी मुगा गिरीलाई ३५ वर्षको उमेरदेखि ढाड दुख्ने समस्याले पिरोलिरहेको छ । जसका कारण उनी निहुरिएर हिंड्ने गर्छिन् । बूढीगंगा नगरपालिका–९ बस्ने कल्चु नेपाली अहिले ५५ वर्षकी भइन् । उनी लौरोको सहाराविना हिंड्न सक्दिनन् । ११ वटा सन्तानकी आमा कल्चुलाई सातौं सन्तान जन्माउँदादेखि यस्तो समस्या भएको हो ।
![](http://www.cijnepal.org/wp-content/uploads/2017/10/1-300x169.png)
‘आठवटा जिउँदा छन् नौ मरे’
मुगा गिरी (५०) बूढीनन्दा नगरपालिका–२ कोल्टी
![](http://www.cijnepal.org/wp-content/uploads/2017/10/unnamed-file-1-300x225.jpg)
![](http://www.cijnepal.org/wp-content/uploads/2017/10/2_1-300x169.png)
‘चिसोले बिरामी हुन्छन् र मर्छन्, बचाउन सकिंदैन’
डोमा गुरुङ (३५) पाण्डुसैन
![](http://www.cijnepal.org/wp-content/uploads/2017/10/unnamed-file-300x169.png)
![](http://www.cijnepal.org/wp-content/uploads/2017/10/unnamed-file-300x225.jpg)
‘मर्ने मरिगए बाच्ने बाँचिगए’
कुशा चदारा (६०) कोल्टी–३ सिराडी
![](http://www.cijnepal.org/wp-content/uploads/2017/10/unnamed-file-1-258x300.png)
![](http://www.cijnepal.org/wp-content/uploads/2017/10/unnamed-file-2-300x225.jpg)
संस्कृति र गरीबी
बाजुराको उत्तरी भेगमा रहेका भोटे जाति भनिने जनजाति महिलामा यो समस्या धेरै छ । धेरै बच्चा त्यो पनि असुरक्षित रूपमा; बाटोघाटोमा जन्माउने भएकाले उनीहरूको स्वास्थ्य अवस्था निकै कमजोर देखिन्छ । कडा परिश्रम गर्नुपर्ने र गर्भवती अवस्थामा समेत आराम गर्न नपाउने भएकाले उनीहरू जोखिममा हुन्छन् । यसको अर्थ–सामाजिक परिवेश केलाउँदै भोटे जनजाति महासंघका अध्यक्ष नृप थापा (भोटे) भन्छन्, “गरीबीका कारण चिसो छल्न, भेडा–च्याङ्ग्रा र सपरिवार हिउँदका ६ महीना बेंसी झ्र्ने भएकाले अधिकांश भोटे महिला बाटोमै बच्चा जन्माउन बाध्य हुन्छन् ।”
मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझङ, मुगु, हुम्ला, जुम्लाका कतिपय जातिहरू मौसमी बसाइँ सर्ने गर्छन् । त्यस क्रममा महिलाहरू बाटोमा बच्चा जन्माउन बाध्य हुन्छन् । उनीहरूले गर्भवती र सुत्केरी अवस्थामा स्वास्थ्य चौकी देख्न पनि पाउँदैनन् । आवश्यक खोप पाउने अवस्था नै रहन्न । यसको परिणाम धेरै आमा र बच्चाहरू जोखिममा पर्छन् । उनीहरूमध्ये कतिको मृत्यु हुन्छ । त्यो सार्वजनिक जानकारीमा समेत आउँदैन ।
बाजुराका उत्तरी क्षेत्रमा भोटे समुदायका जनजातिको बसोबास छ । मौसमी बसाइँसराइ, भौगोलिक विकटता र चेतनाको कमीले उनीहरूको स्वास्थ्य संस्थासम्म पहुँच छैन । त्यसमाथि दुर्गम क्षेत्रमा भएका स्वास्थ्य संस्था पनि सेवा र साधनस्रोतका दृष्टिले कमै मात्र प्रभावकारी छन् । जिल्ला स्वास्थ्य कार्यालयका सिनियर अहेव दीपक शाह भन्छन्, “धेरै पक्षहरू होलान् तर गरीबी नै यसको मुख्य कारण हो ।”
थपखोज रिपोर्ट
![सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन](https://np.cijnepal.org/uploads/posts/350X220/kendraya-bazar-1738566954.jpg)
सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन
तरकारीको उत्पादनदेखि बजारसम्मको नेटवर्क निर्माण गरी किसानलाई उचित मूल्य र उपभोक्तालाई सुपथ मूल्यमा तरकारी उपलब्ध गराउने भनी झण्डै एक अर्ब...![कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौंका डीपीआर](https://np.cijnepal.org/uploads/posts/350X220/photo-no-6_q5uFzBduHr-1738227768.jpg)
कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौंका डीपीआर
कोशी प्रदेश सरकारले करोडौं रुपैयाँ खर्च गरेर बनाएका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयनमा जानै नसक्ने अवस्थामा छन्। कार्यकर्ता पोस्न र...![स्वार्थको फन्दामा सांसद, बिचौलियाको हितमा कानून](https://np.cijnepal.org/uploads/posts/350X220/Rajpatra-1736667880.jpg)
प्रतिक्रिया दिनुहोस्