खोज रिपोर्ट
![आफ्नैबाट असुरक्षित](https://www.cijnepal.org/wp-content/uploads/2017/02/sahina-main.jpg)
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखाको सौन्दर्यबाट जोकोही मोहित हुन्छ तर, यहाँका महिलाको जीवनको क्रूर वास्तविकतालाई त्यो सौन्दर्यले छेक्न सकेको छैन । -सहिना श्रेष्ठ : खोज पत्रकारिता केन्द्रका लागि १२ वैशाख २०७२ को भूकम्पले क्षति पुर्याएको दोलखालाई त्यसलगत्तै २९ वैशाखमा आएको परकम्पले झ्नै पिरोल्यो– इपिसेन्टर नजीकै भएकाले। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले राहतका लागि पहिचान गरेका यहाँका ६७ हजार परिवारमध्ये अधिकांश अझै टहरामुनि बस्न बाध्य छन् । जातीय विविधतायुक्त दोलखामा साक्षरता दर ६२.७८ प्रतिशत मात्रै छ जुन राष्ट्रिय औसत दर ६५.९ भन्दा थोरै हो । हालैका वर्षहरूमा जिल्लाबाट कामको खोजीमा ठूलो संख्यामा युवा बाहिरिएका छन्। बाँकी रहेकाहरूमा मदिरापान र घरेलु हिंसाका समस्या अहम् देखिन्छ। महिला साक्षरताका कारण उनीहरूको स्थितिमा सुधार आए पनि भूकम्प र बसाइँसराइले परिवारकै सदस्य र छिमेकीबाट यौन दुर्व्यवहार बढाएको छ । “जिल्लामा भूकम्पपछि महिला हिंसाका घटना झ्नै बढेका छन्” जिल्ला प्रहरी कार्यालय, दोलखाका महिला सेलमा कार्यरत प्रहरी नायव निरीक्षक सुदीप बस्नेत भन्छन्, “तर, भूकम्पपछि दुर्व्यवहार बढेको हो वा पीडित अहिले मात्र बढी खुल्न सकेका हुन् भनिहाल्न चाहिं गाह्रो छ ।” प्रहरीका अनुसार, आर्थिक वर्ष २०७२/७३ मा जिल्ला प्रहरी कार्यालयमा परेका १४ वटा बलात्कारका उजुरीमध्ये तीन वटामा परिवारकै सदस्यको संलग्नता पुष्टि भएको छ। जबकि अघिल्लो आर्थिक वर्षमा परेका सात बलात्कारका उजुरीमध्ये एउटामा मात्रै परिवारभित्रैका पुरुष दोषी देखिएका थिए । हिंसामा परेका महिलाका लागि 'स्नेहकेन्द्र' आश्रयस्थल सञ्चालन गरिरहेको 'आवाज नेपाल' संस्थाकी सञ्चालिका सिर्जना कार्कीका अनुसार, वैदेशिक रोजगारीका कारण टुक्रिएको परिवार, अत्यधिक रक्सी सेवन र पितृसत्तात्मक मान्यताका कारण बलात्कारका घटना बढेका हुन् । “बलात्कारका अधिकांश घटनामा समाजले पीडित महिलालाई नै दोष दिन्छ, कानूनी उपचार पनि सहज छैन” कार्की भन्छिन्, “घरमै असुरक्षित महिला सुरक्षा खोज्न कहाँ जाने भन्ने ठूलो समस्या छ ।” यो स्नेहकेन्द्रमा पीडित महिलाले दुईदेखि तीन महीनासम्म बस्न पाउँछन्, त्यसपछि उनीहरू कि घरमै फर्कनुपर्छ, कि अर्को आश्रयस्थल खोज्नुपर्छ। यो आश्रयस्थलमा अहिले १४ जना महिला तथा बालबालिकाले आश्रय लिइरहेका छन् । अधिवक्ता सुष्मा गौतम आफन्तबाटै भएका बलात्कारका घटनामा पीडितलाई परिवारका अन्य सदस्यबाट समेत असहयोग हुने बताउँछिन् । “यस्ता घटनामा प्रहरी र सरकारी वकीलले पनि गतिलो अनुसन्धान र अभियोजन गर्दैनन् । अर्कोतिर कानूनमा पनि पीडितको सुरक्षामा ध्यान पुर्याइएको छैन”, उनी भन्छिन् । आफन्तद्वारा भएको जबर्जस्ती करणीका लागि कानूनले हदैसम्मको सजाय जम्मा १५ वर्ष कैद तोकेको छ । पीडितहरू भने यो सजाय कम भएको बताउँछन् ।
(सबै पीडितको नाम परिवर्तन गरिएको छ ।) कसैले स्वीकारेनन्: प्रकृति (१६)
भूकम्पले घर भत्किएपछि हामी नजीकै टहरो बनाएर बस्यौं । परिवारमा आमा–बुवा, दाजु–भाउजू र म समेत ६ जना थियौं । त्यस दिन घरका सबै जना खेत गएकाले टहरामा म एक्लै थिएँ । कुखुरालाई चारो हाल्दै गर्दा ऊ आइपुग्यो र एकैछिन काम छ भन्दै आफ्नो टहरामा बोलायो । पहिल्यै चिनजान भएको आफूभन्दा धेरै जेठो छिमेकीले सहयोगका लागि बोलाएपछि मैले नराम्रो सोच्दै सोचिनँ । टहराभित्र पुग्नेबित्तिकै उसले मलाई च्याप्पै अँठ्यायो र एउटा हातले मुख छोपिदियो । म बोल्नै नसक्ने भएँ । कसैलाई भने मार्ने धम्कीले म झनै डराएँ । घरमा एक्लै भएका बेला यस्तो तीन पटकसम्म भयो, डरले कसैलाई पनि भन्न सकिनँ । गर्भ रहेपछि स्कूल जान सकिनँ, गाउँलेले मलाई 'बिग्रेकी' भन्न थाले, परिवारको पनि 'बेइज्जती' गरे । पछि बुवा-आमासँगै गएर प्रहरी कार्यालयमा उजुरी गरें । 'सबै सहमतिमै भएको हो' भन्न चारैतिरबाट दबाब पर्यो । तर मैले 'बलात्कार नै हो' भनें । अब मलाई परिवार र समाज दुवैले स्वीकार्दैनन्, त्यसैले गाउँ जान सक्दिनँ । बच्चा पाँच महीनाको भयो, यसलाई हुर्काउन-पढाउन कसरी सकुँला र खै ? वकीलले पनि ढाँट्न लगाए: पवित्रा (१३)
बुवा बितेपछि आमाले अर्कैसँग बिहे गरिन् । अर्को बुवाबाट पनि आमाले बच्चा जन्माएपछि हेर्ने जिम्मा मेरै भयो । स्कूल जान पाए पनि घरको काम सबै मैले नै गर्नुपर्थ्यो । सौतेनी बाउले आमा र मलाई कुटिरहन्थे । दुई वर्षअघि, त्यस दिन आमा मन्दिर जानुभएको थियो । सौतेनी हजुरबाले बहिनीलाई काममा पठाए र मलाई तानेर भित्र लगे । म कराएँ तर, सुन्ने कोही भएन । उनले मलाई बलात्कार गरे । पछि मैले सबै कुरा बहिनीलाई भनें, उसले आमालाई सुनाइछ । गाउँले सबैले थाहा पाएपछि प्रहरी आइपुग्यो । मैले बयान दिने बेलामा सौतेनी बुबा र वकीलले 'गाउँको अर्कै मान्छेले पैसा दिएर यो सबै भन्न लगाएको भन्नु' भने । म त डराएकी थिएँ तर, बहिनीले बुबा र वकीलको कुरा सबैलाई सुनाइदिई । यो घटनापछि सौतेनी बुवाले आमालाईं झानै कुटपिट गर्न थाले । मैले सुनेको, हजुरबुवालाई जेल नहालेर वृद्धाश्रममा पठाएका छन् रे ! अझै मार्ने धम्की दिन्छन्: निर्जला (१५)
बुवा–आमा, दुई बहिनी र म सँगै बस्थ्यौं । एकजना दाजु बाहिर काम गर्नुहुन्छ । मलाई स्कूल जान मन लाग्दैनथ्यो त्यसैले धेरैजसो समय खेलेरै बिताउँथें। पोहोरको कुरा हो, बुवा–आमा खेतमा जानुभएको थियो अनि बहिनीहरू स्कूल । त्यसैबेला छिमेकी दाइले 'माछा मार्न जाउँ' भन्यो । २४ वर्ष जतिको होला, कराते पनि खेल्थ्यो। राम्रो चिनजान नभएकोले पहिले त 'जान्न' भनें तर, धेरै कर गरेपछि मन नलागी–नलागी गएँ । हाम्रो गाउँबाट नदी जाँदा बाटोमा सानो जंगल छ । त्यहीं भयो 'यस्तो' घटना। म कराउँदै फुत्किन खोजेकी थिएँ तर उसले मलाई मार्ने धम्की दियो, बुवा–आमालाई पनि नभन्नु भन्यो । पछि दौडिंदै घर पुगें तर कसैलाई भन्न सकिनँ । जंगलमा एक जना गाउँलेले म भाग्दै गरेको देखेछन् र केही दिनपछि बुवालाई सुनाइदिएछन् । तर, केटाको परिवार धनी भएकोले बुवा डराउनुभयो । तर, आमाले साहस देखाउनुभयो । आमा र म उजुरी गर्न प्रहरी कार्यालयमा पुग्यौं । प्रहरीको प्रश्न र व्यवहारले त मलाई केही बोल्नै मन लागेको थिएन । शुरूमा त प्रहरीले उजुरी दर्ता नै गर्न मानेको थिएन तर, आमा त्यहीं रुन थालेपछि भने दर्ता भयो । अहिले ऊ जेलमा छ तर उसका मान्छेले मार्ने धम्की दिएकाले म गाउँ जान सकेकी छैन । अर्कैले गरेको अपराधले गर्दा म बुवाआमासँग बस्न पाएकी छैन । तीन वर्षसम्म सहिरहें: सीता (२०)
आमा-बुवा, दिदी, बहिनी, भाइ र म समेत गरी परिवारमा ६ जना छौं । आमा-बुवा काठमाडौं गएकाले ८ वर्षकी हुँदासम्म म हजुरबुवा-हजुरआमासँगै गाउँमा बस्थें। पछि आमा-बुवा दोलखा फर्कनुभयो, र सानो चिया नास्ता पाइने पसल खोल्नुभयो । म उहाँहरुसँगै बस्न थालें । दोलखामा हाम्रो खानेकुराको सानो पसल थियो, हामी त्यही पसलको माथिल्लो तलामा बस्थ्यौं । दुई वटा कोठा भए पनि बुवाले केटी मान्छे एक्लै सुत्नुहुँदैन भनेपछि म, उहाँहरूकै कोठामा सुत्न थालें । बुवा असाध्यै रक्सी पिउनुहुन्थ्यो र सबैलाई जथाभावी पिट्नुहुन्थ्यो । भनेको नमाने जथाभावी भन्ने र कुटपिट गर्ने त पुरानै बानी थियो । एक दिन म आमासँग भान्सामा काम गरिरहेको बेला बुवाले माथि बोलाउनुभयो । आमाले पनि कुटाइ खाने डरले जा भन्नुभयो । बुवाले पहिलो पटक बलात्कार गर्दा म १२ वर्षकी थिएँ । साह्रै पीडा हुन्थ्यो । आमालाई भनिहाले उहाँलाई झन् धेरै समस्या हुने हो कि जस्तो लागेकाले केही भनिनँ । तर, ममाथि यस्तो उत्पीडन तीन वर्षसम्म भइरह्यो । बिहान, दिउँसो र साँझ । धेरै पटक आमालाई भन्ने कोशिश गरें तर हिम्मत जुटाउन सकिनँ । एक दिन बुवा बाहिर गएका बेला बल्ल आमालाई सबै कुरा सुनाएँ, अनि दिनभर रोइरहें । बुवा फर्केर आएपछि आमाले सोध्दा उनले केही भएकै छैन भनेर मलाई झूटो बोलेको आरोप लगाए । प्रहरीकहाँ जाने पनि आँट आएन । अन्ततः बुवाले मलाई घरबाटै निकालिदिए । त्यसबेला म एउटा अफिसमा काम गर्थें, मैले सबै कुरा अफिसमा सुनाएँ उनीहरूले मलाई महिला अधिकारकर्मीसँग भेट्टाइदिए । अहिले बुवा जेलमा छन् । परिवारका सबैले मलाई सहयोग गर्नुको साटो बुवालाई जेलबाट निकाल्न दबाब दिइरहेका छन् । उनी चाँडै जेलबाट छुट्दैछन्, छुटेपछि मलाई मार्छन् भन्ने डर लाग्छ।
(सबै पीडितको नाम परिवर्तन गरिएको छ ।) कसैले स्वीकारेनन्: प्रकृति (१६)
![prakriti-4](http://www.cijnepal.org/wp-content/uploads/2017/01/prakriti-4.jpg)
![pabitra-3](http://www.cijnepal.org/wp-content/uploads/2017/01/pabitra-3.jpg)
![nirjala](http://www.cijnepal.org/wp-content/uploads/2017/01/nirjala-1-688x1024.jpg)
![sita (2)-5](http://www.cijnepal.org/wp-content/uploads/2017/01/sita-2-5.jpg)
थपखोज रिपोर्ट
![सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन](https://np.cijnepal.org/uploads/posts/350X220/kendraya-bazar-1738566954.jpg)
सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन
तरकारीको उत्पादनदेखि बजारसम्मको नेटवर्क निर्माण गरी किसानलाई उचित मूल्य र उपभोक्तालाई सुपथ मूल्यमा तरकारी उपलब्ध गराउने भनी झण्डै एक अर्ब...![कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौंका डीपीआर](https://np.cijnepal.org/uploads/posts/350X220/photo-no-6_q5uFzBduHr-1738227768.jpg)
कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौंका डीपीआर
कोशी प्रदेश सरकारले करोडौं रुपैयाँ खर्च गरेर बनाएका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयनमा जानै नसक्ने अवस्थामा छन्। कार्यकर्ता पोस्न र...![स्वार्थको फन्दामा सांसद, बिचौलियाको हितमा कानून](https://np.cijnepal.org/uploads/posts/350X220/Rajpatra-1736667880.jpg)
प्रतिक्रिया दिनुहोस्