मेनु

खोज रिपोर्ट

भित्ता पनि बोल्छन् बाल सुधारगृहमा, तैपनि सुन्दैन हाम्रो न्याय प्रणाली

झडप, आगजनीपछि सुनसान भक्तपुरस्थित बाल सुधारगृहका भित्ता–भित्तामा कोरिएका शब्द–चित्र सुधार र पुनर्स्थापनामा आधारित नेपालको बाल न्याय प्रणालीमाथि प्रश्न उठाउने प्रमाण बनेका छन्।

२०८२ चैत अन्तिम साता।

दिउँसो करिब दुई बजे।

बाल बिज्याईमा (बाल उमेरमै गरेको अपराधजन्य कसुरमा) संलग्न बालबालिकालाई राखिने भक्तपुरको बाल सुधारगृह सुनसान थियो।

सुरक्षाकर्मी फुर्सदिला देखिन्थे।

सुधारगृहमा बालक–किशोर र बालिका–किशोरीलाई राखिने भवन आमनेसामने त थिए तर चहलपहल शून्य।

केही किशोरी नुहाएर कपाल सुकाउँदै गरेका देखिन्थे। तर केटाहरू अर्थात् बालक–किशोर भने एकजना पनि थिएनन्। कारण, गत पुस १५ देखि माघ ८ गतेसम्म प्रदर्शन, तोडफोड र आगजनी गरेर आफू बस्ने भवन नै जलाइदिएपछि त्यहाँ रहेका सबै केटाहरूलाई स्थानान्तरण गरिएको थियो।

त्यो घटनामा बाल सुधारगृहका १३ जना बालक–किशोर घाइते भए, जसमध्ये एकजना घाइतेको अवस्था गम्भीर रहेकाले अभिभावककै जिम्मा लगाइएको थियो। त्यहाँ रहेका १८ वर्षभन्दा बढी उमेरकालाई नुवाकोटस्थित कारागारमा सारियो भने १८ वर्ष मुनिकाहरूलाई बीरगञ्ज र हेटौँडाको बाल सुधारगृहमा लगियो।

भदौ २३–२४ को जेन–जी आन्दोलनका बेलासमेत केही नभएको यो सुधारगृह पाँच महिनापछि के कारणले जल्यो? कतै यो जेन–जी आन्दोलनकै बाछिटा त थिएन?

सुधारगृहका एक कर्मचारीलाई शंका लाग्छ।

हुन त बाल सुधारगृहमा पछिल्लो समय पटक–पटक झडप भएका छन्। भक्तपुरको यही सुधारगृहमा एक बालक बन्दी, कमल बस्नेतको मृत्यु भएपछि २०८० भदौ ४ गते पनि ठूलो झडप भएको थियो। त्यो झडपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १० जना प्रहरी घाइते भएका थिए। त्यसक्रममा सुधारगृहमा राखिएका २२१ बालक–किशोर सुरक्षा घेरा तोडेर भागेका थिए। पछि उनीहरू सबैलाई प्रहरीले पक्रेर फिर्ता ल्याएको थियो।

भक्तपुर मात्र होइन, नेपालमा रहेका नौ वटै बाल सुधारगृहमा बेलाबेला झडप भइरहन्छन् र ती झडप हिंसात्मक घटनासम्मै पुग्ने गरेका छन्। जस्तो, २०८० चैत १ गते बाँकेको डुडुवास्थित जयन्दु बाल सुधारगृहमा झडप हुँदा एकजना बालकको मृत्यु भएको थियो। ४५ जना बालक–किशोर घाइते भएका थिए।

नाबालक हुँदा अपराध गरेका बालक–किशोरलाई सुधार्दै समाजमा पुनस्र्थापना गर्ने उद्देश्यले खुलेका सुधारगृहमा राखिएका बालबालिका नै यस्ता हिंसात्मक घटनामा आखिर किन उत्रन्छन्? बाल सुधारगृह यस्ता हिंसात्मक घटनाका अखडा किन बनिरहेछन्? नेपालको बाल न्याय प्रणालीमाथि नै प्रश्न उठाउने काम किन भइरहेको छ?

भित्ता–भित्तामा प्रश्न–उत्तर

तर यी प्रश्नका उत्तर खोज्न कुनै अभिलेख, अध्ययन, अनुसन्धान प्रतिवेदन खोतल्नु पर्दैन, सुधारगृहका भित्ताहरू हेरे पुग्छ। त्यसका लागि धेरै टाढा होइन, भक्तपुरकै बाल सुधारगृहका भित्ता नियाल्दा हुन्छ।

हामी पुग्दा भक्तपुरको बाल सुधारगृहमा रङरोगन हुँदै थियो। किनभने त्यो सुधारगृह जलेर कुरुप बनेको थियो। जलेर नष्ट भएका लत्ताकपडा, कापी–किताब, इँटालगायत सामान आँगनमा असरल्ल थिए। मिस्त्रीहरू पनि रङ लगाउनुअघि भवनमा रन्दा लगाउँदै थिए।

IMG_5231_B7cvPMpZgJ-copy-1783072312.jpg
कलिलै उमेरमा अपराध गरेर कारावास (सुधारगृह) मा सजाय काटिरहेका बालबालिकाहरू के सोच्दा हुन्? कसरी सोच्दा हुन्?!

प्रश्नको उत्तर दिन बालकहरू नभएपनि उनीहरूले भित्ताभरि छाडेर गएका थिए, उत्तरहरू।

भवन रित्तो भए पनि बालकहरूले त्यहाँ बस्दा बनाएका भित्तेचित्र, पोस्टर, शब्दचित्र, टिपोट र अरु थुप्रै स्मृति त्यहाँ सजिएका थिए जसले भवनलाई पूर्ण रुपमा रित्तो हुन दिएका थिएनन्।

IMG_5473_qc7YPVlBDi-1783072454.jpg
कैदी–बन्दीका रूपमा यहाँ रहेका अधिकांश बालकका कोठाका सिलिङभरि थिए– उडान भर्न हतारिए जस्ता देखिने काला, खैरा, राता, पहेँला अनि हरिया, रङ्गीविरङ्गी चराहरू। अधिकांश कोठाका भित्तामा कान्तिपुर दैनिकका ‘कटिङ’ टाँसिएका थिए जहाँ गत भदौको जेन–जी आन्दोलनसँग सम्बन्धित समाचार समेटिएका थिए।

IMG_5282_0HEuJxSRnm-1783072500.jpg
बेलाबेला अशान्त र उद्देलित बनेर झडप निम्तिइरहने बाल सुधारगृहका अधिकांश कोठाहरूमा गौतम बुद्ध र बौद्ध स्तूपाका स्वरुप मात्र होइन, हिन्दु धर्मवलम्बीले भगवान मान्ने गणेशदेखि इसाईका जिसस क्राइस्ट र जीवित देवी मानिने कुमारीसम्मका चित्र कोरिएका भेटिए।

बालबालिकाहरू आखिर के कारणले अपराध (बालबिज्याई) गर्न पुग्छन्? अपराध गरेपछि उनीहरू कस्तो मनोदशाबाट गुज्रिन्छन्? सरकार र राज्यसंयन्त्रहरूले बाल मनोविज्ञान बुझेर उनीहरूको मनोसामाजिक अध्ययन गर्न खासै पहल गरेको देखिँदैन। तर भक्तपुरको बाल सुधारगृहका हरेक कोठा चिहाउँदा लाग्छ, राज्यले नराखेको अभिलेख बालबालिकाले निसंकोच त्यहाँका भित्तामा टाँसिदिएका छन्।

IMG_5259_6SyGyICWmH-1783073026.jpg
सन् २०२२ मा प्रकाशित एक अध्ययन भन्छ, “अधिकांश बालबालिका पारिवारिक बिचलनको शिकार भएर अपराध गर्न पुग्छन्। बाआमा र परिवारबाट पाउनुपर्ने माया, हेरचाह र सुरक्षाको प्रत्याभूति गर्न नपाउँदा उनीहरूको चालचलनमा विचलन आउँछ।”

सुधारगृहमा बालबालिकासँग अन्तरङ्ग कुराकानी गरेका भक्तपुर बाल सुधारगृहका निमित्त कार्यालय प्रमुख टिकाप्रसाद पोखरेलको यस्तै निचोड छ। “यहाँ आउने अधिकांश बालबालिका पारिवारिक विखण्डन, उपेक्षाको अनुभव बोकेर आएका हुन्छन्। कसैका बाआमा छुट्टिएका छन्, कसैको घरमा हिंसा भइराख्छ, कोही आफन्तकहाँ हुर्किएका छन्, कोही लामो समयदेखि अभिभावकीय स्नेहबाट टाढा छन्,” उनले भने।

यसलाई पुष्टि गर्ने तथ्यांक राज्यसंयन्त्रसँग नभए पनि बालबालिकाले कोरेका चित्र त्यसका प्रमाण हुन्। कारण, अधिकांश भित्तामा कोरिएका चित्रमा उनीहरूको एक्लोपन प्रगाढ देखिन्छ।

IMG_5276_o210QuONER-1783072742.jpg
चाहे त्यो रुखमा अडेस लगाएर बसेका एक बालकलाई ‘अलोन ब्वाइ’को संज्ञा दिइएको चित्र होस् या ‘डार्क आवर्स’ लेखिएको भित्ते–चित्र, बालबालिकाहरूको निराशा भित्ताभरि पोतिएको छ।

IMG_5380_BcIL0noeDJ-1783072777.jpg
अर्को कोठाको भित्तामा आमाको हात समातेर घाँसे मैदानमा हिँडिरहेको सानो बालकको चित्र थियो जहाँ लेखिएको थियो– ‘यस्तो मान्छेलाई तिमी विशेष बनाऊ जसले तिम्रो बेफाइदाबारे कहिल्यै नसोचोस्, सधैँ फाइदाबारे मात्रै सोचोस्। र, त्यो विशेष मान्छे केवल तिम्रो आमा हो।’

IMG_5344_flXFu2zyhN-1783072893.jpg
भित्तामा चित्रसँगै बालक–किशोरका शब्दमा व्यक्त उद्वेगहरू पनि देखिए। उनीहरूले भित्ता मात्र होइन, दराजको भित्री पलेँटामा पनि लेख्न बाँकी राखेका छैनन्। कोठाको एउटा भित्तामा लेखिएको थियो– ‘एभ्री टाइम एभ्री मुमेन्ट, माई बेस्ट वीश फर यू, आई लभ यू मम जुनु। उज्ज्वल लभ्स जुनु!’

परिवार, अभिभावकबाट टाढा रहने बालबालिका सुधारगृहभित्र आफ्नोपन खोजिरहेका दृष्टान्त हुन् यी। एउटा कोठाको भित्तामा काँटीमा झुण्ड्याइएको मखमली फूलको माला पनि देखियो जो सम्भवतः तिहारमा दिदीबहिनीको सम्झनास्वरूप राखिएको हुनुपर्छ।

IMG_5381_zEws6MOVQE-1783073326.jpg
पारिवारिक होस् या किशोरवयको स्वाभाविक चाह, सुधारगृहका भित्तामा कोरिएका चित्रमा ‘प्रेमको भोक’ पनि पर्याप्त झल्किन्छ। जस्तो, एउटा कोठाको झ्यालको कुनामा लेखिएको थियो– ‘आई वील नेभर फाइन्ड अ वे टु सी यू अगेन।’

IMG_5467_WvEBqZeS9y-copy-1783073813.jpg
कतै प्रेमिकाले छाडेर जाँदै गरेका सांकेतिक चित्र थिए, कतै भित्तामा प्रेमिकालाई भेट्ने उत्कट चाहनाको प्रतीकात्मक स्केच!

गरेको कसुरको सजाय भुक्तानका लागि बाल सुधारगृहमा राखिनेहरू प्रायः किशोरवयमा हुन्छन्। उनीहरूलाई उमेर र त्यसअनुसार विकास हुने शारीरिक तथा मानसिक अवस्थाका कारण पनि प्रेम र आकर्षणको कौतुहलले पछ्याइरहनु आफैमा अस्वाभाविक होइन। फेरि, भक्तपुरको बाल सुधारगृह एक मात्र त्यस्तो सुधारगृह हो जहाँ केटा र केटीलाई सँगै तर बेग्लाबेग्लै भवनमा राखिएको छ।

IMG_5281_WnQHziAgkw-copy-1783074317.jpg
उमेर अनि त्यसले निम्त्याउने आकर्षण र प्रेमको कौतुहल बढेर हुन सक्छ, सुधारगृहमा पटक–पटक झडप हुने गरेको एक कर्मचारीले बताए।

“अस्ति पुस–माघको झडप पनि केटा–केटीबीचको सम्बन्धको रवाफबाटै शुरू भएको थियो,” उनले भने, “केटा र केटीलाई राख्ने भवन सँगै आमनेसामने छ। यसले गर्दा हुलदंगा बढी भएका छन्।” तर यो कोणबाट न न्याय प्रणालीले कहिल्यै हेरेको देखिन्छ, न प्रशासनले।

भित्तामा बालक–किशोरहरूका प्रेम–दर्शन नै अटाएका छन्। जस्तो, उनीहरूले पेन्सिलले भित्तामा शान्त आँखा हुने बौद्ध स्तूपामा मलिन आँखा बनाएर लेखिदिएका छन्, “यो पृथ्वीबाट प्रेम भन्ने कुरा हटाइदिएर हेर, पृथ्वी चिहान बन्छ।”

IMG_5400_QHl6lGxQN9-1783074357.jpg
कलिला बन्दीको मनोदशा 

विभिन्न अध्ययन भन्छन्– बालबालिकालाई संगीत, कला र खेलकुद जस्ता मनोरञ्जनात्मक एवम् सिर्जनशील क्रियाकलापमा लगाउन सकेमा उनीहरूमा हुर्कंदैगरेको आपराधिक मानसिकतालाई मोडेर सिर्जनात्मक काममा ढाल्न सकिन्छ। अध्ययन मात्र होइन, यो व्यवहारमै धेरैपटक चरितार्थ भएको कुरा हो।

तर हाम्रा बाल सुधारगृह त्यही पनि गर्न सक्दैनन्। किन त?

भक्तपुरको बाल सुधारगृहका कर्मचारी कृष्ण पौडेलका अनुसार बालबालिकालाई यस्ता क्रियाकलापमा ब्यस्त गराउने गतिविधि सञ्चालन गर्न कठिन छ। “हामीसँग उनीहरूले मागेको बेला भलिबलसम्म किन्ने पैसा हुँदैन,” पौडेलले भने, “बाल सुधारगृहलाई पर्याप्त बजेट दिइएको छैन।”

कतिसम्म भने, गत पुस–माघमा आन्दोलन र झडपले तनावग्रस्त भक्तपुर बाल सुधारगृहमा बालक–किशोरले खेल्ने सामग्री माग गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट आएका उपसचिवले आफ्नै खल्तीबाट पैसा तिरेर भलिबल किनिदिएका थिए।

सुधारगृहमा सामान्य खेल सामग्री पनि उपलब्ध हुन नसक्ने अवस्था भएरै होला, त्यहाँ बन्दी जीवन बिताइरहेका बालकहरू फरक किसिमले सिर्जनशील प्रतीत हुँदारहेछन्। उनीहरू भित्तालाई नै मैदानका रुपमा परिकल्पना गरेर त्यहीँ नै काल्पनिक रूपमा बास्केटबल र फुटबल खेलिरहेका भेटिए। जस्तो, एउटा कोठाको भित्तामा १ नम्बर लेखिएको रातो जर्सी लगाएर बास्केटबल उफार्दै गरेको चित्र कोरिएको छ जसलाई खाटको तलोले भने ठ्याम्मै छेकेको छ।

IMG_5304_oUlYsvBR7x-1783074416.jpg
यतिबेला संसार फुटबलमय छ। फिफा विश्वकप चलिरहेको छ। भक्तपुरको बाल सुधारगृहमा फूटबल खेल्ने चाह बोकेका बन्दी बालक–किशोरको फूटबल–क्रेज कस्तोसम्म रहेछ भने त्यहाँ झ्यालको छेवैबाट अहिले नै फुत्त गइहाल्ला जस्तोगरी फुटबललाई ताकिरहेका बालक–किशोरको चित्र भित्तामा चम्किइरहेको छ। अरु त अरु, उनीहरूको यो मनोभावना बुझेर खेल्ने फुटबल, भलिबलको जोहो गरिदिनेतर्फ पनि राज्यसंयन्त्रको ध्यान पुगेको देखिँदैन।

IMG_5451_IqmHIRgKkS-1783074453.jpg
तर चार पर्खालभित्र बन्दी बनेका उनीहरू त्यहीँको भित्तामा काल्पनिक रूपमै सही, फुटबल खेलिरहेका छन्। उनीहरूको यो चाहलाई न भित्ताले, न चार पर्खालले छेक्न सक्यो। छेक्न त त्यसले गितार बजाउने चाहनालाई पनि सकेको रहेनछ। किनभने भित्तामै छन् गितार बजाइरहेका बालक–किशोर अर्थात् उनीहरूका चित्र।

IMG_5459_iycAGrJjHx-1783074486.jpg
यसै त बन्दीगृह, त्यसमाथि भर्भराउँदो उमेरका बालबालिका। यदाकदा बालबालिकालाई आफ्नै विगतले सताउने गरेको प्रस्ट देखिन्थ्यो। त्यसैले त त्यहाँको एउटा भित्तामा लेखिएको थियो– ‘आफू आएको मिति २०८२–०३–२५, नाम फलानो।’    

अर्को भित्ताको कुनामा लेखेको भेटियो– ‘आई स्टिल रिमेम्बर माई पास्ट।’

IMG_5369_QzDRZeodcK-1783074863.jpg
सन् २०२५ मा ‘सेज’ जर्नलमा प्रकाशित एक अध्ययन ‘द सेन्ट्रालिटी अफ गिल्ट’ अनुसार बालबालिकाले गल्ती गरेको महसुस गर्नु नकारात्मक नहुन सक्छ। किनभने यसले उनीहरूलाई सुधार गर्न र पश्चाताप गर्नसमेत प्रेरित गर्छ। तर बालबालिकालाई यदि ‘गिल्ट’ (दोषी) महसुस गराइयो भने त्यसले उसको छविमा नकारात्मक असर पार्न सक्छ, सुधारमा पनि बाधा पैदा गर्न सक्छ।

IMG_5342_oNEhYK9nUk-1783074895.jpg
नाबालिग हुँदा अपराध गरे पनि बालबालिकालाई सुधारगृहमा राखिनुको उद्देश्य हो– उनीहरूलाई ‘गिल्ट’ महसुस गराउने नभई स्वयंले गल्ती महसुस गर्ने वातावरण बनाएर सुधार पनि गराउँदै लैजाने। यसरी सुधारगृहमा बसेका बालबालिका के महसुस गर्छन् भन्ने उनीहरूले भित्तामा कोरेका चित्र र लेखेका शब्दबाट पनि प्रष्ट हुन्छ। त्यहाँ उनीहरूमा बदलाव र बदलाको भाव दुबै देखिन्छ।

कुनै भित्तामा बालकहरूले कोरेका छन्– ‘म परिवर्तन हुन्छु।’ परिवर्तन हुने अठोट शब्दमा मात्र सीमित छैन भन्ने जलेर अलिअलि बचेको एउटा कोठाले देखाइरहेथ्यो। त्यहाँ लोक सेवा आयोगको परीक्षा तयारी गर्दै गरेको देखिने पोस्टर, चार्ट र पढाइका सेड्यूअल छन्।

IMG_5341_S3KxZ7HrrD-1783074977.jpg
परिवर्तन हुने अठोटमा कति प्रतिशत इख र कति प्रतिशत प्रेरणा थियो, त्यो त यसै भन्न सकिँदैन। तर, भित्तामा कोरिएका चित्रमा दुवै कुराको मिश्रण देखिन्छ।

जस्तो, एउटा कोठाको भित्तामा हिन्दी सिनेमा ‘थ्री इडियटस्’को चर्चित मन्त्र ‘अल इज वेल’ अर्थात् सबै ठिक हुन्छ भनेर लेखिएको थियो। र छेउमै रोमन अंकले जनाउ दिने घडी बनाएर अर्को हिन्दी सिनेमा ‘गल्ली ब्वाइ’को एउटा डायलग पनि लेखिएको थियो, ‘अपना टाइम आएगा।’ यसले बदलाव र बदला दुबै भाव एकसाथ दिइरहेको छ।

IMG_5287_nw5dv9x8FV-1783075015.jpg
पर्साको बीरगञ्जस्थित बाल सुधारगृहमा बन्दी जीवन बिताएर २०८२ जेठ २२ गते छुटेका एक बालक, सुधारगृहमा बस्ने हरकोहीलाई बदला र बदलावको भावना जगाउन बाल सुधारगृह नै जिम्मेवार भएको बताउँछन्।

सुधारगृहमा भोगेको यातनाकै कारण आफूले लोकसेवाको तयारी गरिरहेको उनले बताए। हाल काठमाडौँमा बसेर तयारी गरिरहेका उनले भने, “कानून थाहा नहुँदा दुःख पाइँदो रहेछ। सुधारगृहमा ठूलाले सानालाई यति थिचोमिचो गर्थे कि हामीलाई मलमूत्र र बान्तासमेत खान लगाउँथे।”

IMG_5288_Co7nml3PR0-1783075056.jpg
प्रहरी हिरासतमा धेरै दिनसम्म थुनेर यातना दिँदा एउटा कानको सुन्ने शक्ति नै हराएको उल्लेख गर्दै उनले भने, “डाक्टरले अपरेसन गर्नुपर्छ भनेको छन्, तर मसँग पैसा छैन।”

यस्तो माहोलमा बस्दा कोही बदलिन खोज्ने, कोही भने बदला लिन पर्खेर बस्ने गरेको उनले बताए।

IMG_5409_s0J7XoVH3Q-1783075092.jpg
हुन पनि बदलाको भावना यतिसम्म थियो कि उनीहरू खुंखार अपराधी जस्तो व्यवहार देखाउन पनि पछि नपर्दा रहेछन्। बाल सुधारगृहमा खटिने प्रहरीले बर्दी लगाउन र हातहतियार राख्न पाउँदैनन्। यही अवस्थाको फाइदा उठाएर गत वर्ष भक्तपुर बाल सुधारगृहका एक बालकले बिरामी परेको भन्दै अस्पताल लैजान अनुरोध गरे। गोप्य अंगमा समस्या भएको भन्दै कारण पनि खुलाउन मानेनन्। बाटोमा उनीसँगै हात समातेर हिँडिरहेका सुरक्षाकर्मीलाई धकेलेर लडाइदिए र आफू फरार भए।

IMG_5337_ZIChcuXjo7-1783075167.jpg
पछि प्रहरीले उनलाई पुनः पक्राउ गरेर ल्यायो।

यस्तै कारणले हुन सक्छ, सुधारगृहका भित्तामा सर्पलाई हातमा बेरेर अरु कसैलाई डस्न लैजान लागे जस्तो चित्र पनि बनाइएको भेटियो। कतै कतै त ‘नो क्रिमिनल, नो वार्निङ, डाइरेक्ट खुकुरी, ग्याङब्याङ, द डग बार्क, आई डन्ट’ पनि लेखेको भेटियो।

IMG_5364_fx7srUVMWZ-1783075127.jpg
बन्दी जीवन बिताइरहेका बालक–किशोरका कोठामा यस्ता विभिन्न अर्थ लाग्ने चित्र वा उद्वेग मात्र होइन, कतिपय प्रेरक भनाई पनि लेखिएका भेटिन्छन्। त्यस्ता भनाई प्राविधिक रूपमा टाँसिएका मात्र हुन् या टाँस्न लगाइएका हुन् भन्ने त खुल्दैन। तर तीमध्ये केही प्रतिनिधिमुलक भनाई यस्ता थिएः 

–    शिक्षा नै सफलताको सूत्र हो। 

–    यदि तिमी सफल हुन चाहन्छौ भने पढ। 

–    जीवनमा सबैभन्दा महत्त्वपूर्ण चीज अनुशासन हो।

–    शिक्षा एउटा यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्छ। 

–    सबैभन्दा गाह्रो काम समाजलाई बदल्नु होइन, आफैलाई बदल्नु हो।

–    यात्रा हजारौँ माइलको किन नहोस्, शुरू त एकै पाइलाबाट हुन्छ।

–    जित्नेले छुट्टै काम होइन, छुट्टै ढंङ्गले गर्छ। जीवन बाँच्नको लागि हजारौँ वर्ष आवश्यक पर्दैन, किनकी जीवन बाँच्न एक पल नै धेरै हुने गर्छ, बाँच्न जान्नुपर्छ। 

–    अरुले के गर्दैछन् त्यो नहेर, त्यसले तिमीलाई इर्ष्याले जलाउँछ। तिमीले के गरिरहेको छौ, त्यसलाई नियाल। त्यो नै तिम्रो जिन्दगीको खजाना हो। 

बन्दी जीवन र थुनिएको बाल्यकाल

भक्तपुर बाल सुधारगृहका भित्तामा ‘पालना गर्नुपर्ने नियम’ पनि टाँसिएका छन्। भित्तामा चित्रसँगै कविता पनि झुण्डिएका छन्। हत्कडी लगाइएको हातमा गुलाबको फूल बनाएर लेखिएको कविताको शीर्षक छ– स्वतन्त्र प्रेम। अनि कविता यस्तो छः

अहिलेसम्म के पाएँ के गुमाएँ जिन्दगीमा 

लेखाजोखा गर्दा त्यही हो कमाएको, एक जोर हत्कडी 

रहर सपना धेरै थिए खाने लाउने देशविदेश घुम्ने

जीवनै पूरा भयो हत्कडी लगाउनु पहिले।

hh_rcQftaH87d-1783075255.jpg
 

यी कुरा नियाल्दा बन्दी जीवन बिताइरहेका बालक–किशोर पिँजडा, हत्कडी जस्ता आकृतिसँग आफूलाई निकट महसुस गर्छन् भन्ने प्रतीत हुन्छ।

भित्तामा एउटा अर्को चित्र पनि थियो जहाँ हातमा हत्कडी लगाएर किताब समाइरहेका एक बालक छन्। त्यहाँ लेखिएको छ– ‘स्वतन्त्र हुने एक मात्रै कडी शिक्षा हो।’

collage_1_nQKuD8Rrfx-1783075351.jpg
एउटा अर्को चित्रमा एक केटा पिँजडाभित्र बसेर किताब पढिरहेको छ। उसलाई बाहिरबाट चराले हेरिरहेको छ। अनि त्यसको ‘फूटनोट’मा लेखिएको छ– ‘सेलफोन (फोन) कैदखाना हुन्। र मानिस त्यसका बन्दी। सायद त्यसैले यसलाई सेलफोन भनिएको हो।’

बालबालिकाले लेखेका यी शब्द–चित्रमा नअटाएका बयान पनि छन्। भक्तपुर बाल सुधारगृहकी मनोविद् अन्जना श्रेष्ठ सुधारका लागि यहाँ आउने बालबालिका बाल सुधारगृहभित्रै हुने हिंसा, दुर्व्यवहारका कारणसमेत मानसिक समस्यामा पर्ने गरेको औँल्याउँछिन्।

“ठूलाले सानालाई, पैसा हुनेले नहुनेलाई, भर्खरै नयाँ आएकालाई पुरानाले यहाँ थिचोमिचो गर्ने गरेको पाइएको छ,” श्रेष्ठले भनिन्। २०० भन्दा धेरै बालबालिका रहेको सुधारगृहमा खटिएकी मनोविद् श्रेष्ठ मात्र हुन्। पर्याप्त जनशक्ति नहुँदा यथेष्ट काम गर्न नसकिएको उनको अनुभव छ।

“कहिलेकाहीँ त म आफै बर्न–आउट हुन्थेँ,” उनले सुनाइन्।

“बालबालिकाले बालबिज्याई गर्दा सम्झाइबुझाइ गर्ने प्रणालीलाई सुदृढ बनाइनुपर्छ। जघन्य अपराध गरेमा मात्र सुधारगृहलाई ‘लास्ट रिसोर्ट’को रूपमा लिनुपर्छ,” बालअधिकारकर्मी तथा काठमाडौँ महानगरपालिकाका बाल अधिकार समिति सदस्य प्रविन सिलवालले भने, “तर सरकारले बाल सुधारगृह यसरी चलाइरहेको छ कि यदि कुनै निजी संस्थाले यसरी बाल गृह चलाइरहेको हुन्थ्यो भने हामीले बालबालिका असुरक्षित भए भनेर उद्धार गर्नुपर्थ्यो।”

केन्द्रीय बाल न्याय समितिकी सदस्य जेनी श्रेष्ठ बाल सुधारगृहको सञ्चालन र व्यवस्थापन गर्ने कानून मन्त्रालय, गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय जस्ता विभिन्न निकायको समन्वयमा आधारभूतदेखि नीतिगत खाडल रहेको बताउँछिन्। “हामी त केवल एक समन्वयकारी निकाय हो,” उनले भनिन्।

IMG_5251_bl7r6tMQPN-1783075396.jpg
हुन त भक्तपुर बाल सुधारगृहमा आगजनीपछि बालकहरू त्यहाँबाट सरिसकेका छन्। आंशिक मर्मतपछि २६ जना नयाँ बालक भने यो गृहमा ल्याइएका छन्। पर्याप्त बजेट जुटाउन नसकेकै कारण भवनको पहिलो तला मात्र रङरोगन गरिएको छ। बाँकी भाग अझै आगलागीका दाग बोकेर ठिंग उभिएको छ।

पहिलो तलका केही आंशिक शब्द–चित्र मेटिए पनि यहाँ बसेका बालक–किशोरले कोरेका–लेखेका चित्र, कविता, प्रेमपत्र, आक्रोश, पश्चाताप र सपना भने अझै बाल सुधारगृहका भित्तामा जीवित छन्।

सुधारका लागि सरकार–राज्यको जिम्मामा पुगेका बालबालिकाले आफ्ना भावना, गुनासा र आकांक्षालाई कागजमा होइन, भित्तामा लेखे।

पहिले भित्ताभरि बालसुलभ बयान लेखेर, पछि तिनै ‘भित्ता’ तोड्ने जमर्को गरेका बालबालिकाका यी आकृति नै अहिले हाम्रो न्याय प्रणाली र राज्यसंयन्त्रलाई प्रश्न गरिरहेछन्। के यी भित्ताले सुनाएको कथा सुन्न हाम्रा प्रणाली अनि संयन्त्रहरू अब तयार होलान्?

१५ असार, २०८३ मा उकालोमा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

रितिँदै जडीबुटी, मुस्किल बन्दै जीविका

रितिँदै जडीबुटी, मुस्किल बन्दै जीविका

उत्पादन र मूल्य दुवै घटेका कारण जडीबुटीको कमाईले जीविका चलाइरहेका बझाङका हिमाली क्षेत्रका बासिन्दाको दैनिकी संकटमा परेको छ । आम्दानीको...
मधेशमा थरीथरीका आवास योजना

मधेशमा थरीथरीका आवास योजना

बजेट अभाव र नीतिगत निर्णयका कारण सरकारी आवास कार्यक्रम अलपत्र हुँदा मधेश प्रदेशका ४ हजार ६०० विपन्न परिवारको दैनिकी कष्टकर...
सुर्खेत चिनाउने बुलबुले ताल, कंक्रिटका संरचनाले बन्यो बेहाल

सुर्खेत चिनाउने बुलबुले ताल, कंक्रिटका संरचनाले बन्यो बेहाल

कर्णालीको राजधानी सुर्खेतको पहिचान बनेको बुलबुले ताल र त्यसको सीमसार क्षेत्र दिन प्रतिदिन संकटमा छ । तीनै तहका सरकारले सुन्दर...