मेनु

खोज रिपोर्ट

२० वर्ष नपुग्दै सम्बन्ध विच्छेद

फेसबुकको लाइकबाट सुरु भएको प्रेम, कलिलो उमेरमै विवाह र केही वर्षमै सम्बन्ध विच्छेद । बालविवाहविरुद्ध कानून कडा भए पनि धेरै किशोर–किशोरीको वैवाहिक सम्बन्ध उनीहरुको उमेर २० वर्ष नपुग्दै टुट्न थालेको छ।

सरकारको एउटा नारा छ, ‘बिहेबारी २० वर्ष पारी’। त्यही नारालाई सार्थक बनाउन दण्डनीय कानूनी व्यवस्थासँगै पालिका, जिल्ला र प्रदेशलाई बालविवाहमुक्त घोषणा गर्ने अभियान सञ्चालन भइरहेका छन्। तर परम्परागत मान्यता, गरिबी, दाइजो प्रथा र सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण बालविवाह रोकिएको छैन।

समस्या केवल बालविवाहमै सीमित छैन। बाल्यकालमै भएका धेरै वैवाहिक सम्बन्ध २० वर्ष नपुग्दै अदालतसम्म पुग्ने र सम्बन्धविच्छेदमा टुंगिरहेका छन्।

सरकारी तथ्यांकअनुसार ९.८ प्रतिशत केटा र २२.७ प्रतिशत केटीको विवाह २० वर्ष नपुग्दै हुने गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको २०७९ सालको प्रतिवेदनअनुसार बालविवाह गर्नेहरूमध्ये करिब १ प्रतिशत अर्थात् करिब चार सय जनाले २० वर्ष नपुग्दै सम्बन्धविच्छेद गरेका छन्।

बालविवाहले मातृमृत्युदर न्यूनीकरणको लक्ष्यलाई चुनौती दिएको छ भने पारिवारिक कलह, हिंसा र कानुनी विवाद पनि बढाएको छ।

फेसबुकको लाइकदेखि अदालतको फाइल सम्म २३ चैत २०८२ मा नेपालगञ्जमा चर्को गर्मी थियो। बाँके जिल्ला अदालत परिसरमा विभिन्न मुद्दाका वादी–प्रतिवादीहरूको भीड थियो। त्यही भीडमा थिए १९ वर्षकी सरीता र २६ वर्षका सन्तोष।

info-sabitri-1780559973.jpg
फिरादपत्र तयार पार्दै गरेका वकिललाई आवश्यक विवरण टिपाइरहेका उनीहरूबीच कुनै आत्मीय संवाद देखिँदैनथ्यो। उनीहरु सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न अदालत पुगेका रहेछन्। विवाह गर्ने उमेरसम्म पनि नपुगेकी कोहलपुरकी सरिताले कैलालीका सन्तोषसँग सहमतिमै सम्बन्ध विच्छेद गर्दै थिइन्।

पाँच वर्षअघि १४ वर्षकी सरिता र २१ वर्षीय सन्तोषबीच फेसबुकमा चिनाजान भयो। फोटो, स्टाटसमा लाइक र कमेन्ट हुँदै शुरु भएको संवाद पाँच महिनामै प्रेम सम्बन्धमा पुग्यो। उनीहरु विवाह गर्ने निर्णयमा पुगे। परिवारले थाहा पाएपछि अन्यत्र विवाह गरिदिने डरले उनीहरूले भागेर विवाह गरे। सरिताले १५ वर्षको उमेरमै छोरी जन्माइन्।

छोरी जन्मिएपछि सामान्य विषयमा पनि सरिता र सन्तोषबीच विवाद हुन थाल्यो। छोरीकोे हेरचाह, उपचार र पालनपोषणमा समेत श्रीमानले वास्ता गर्न छाडेपछि सरिता माइतीमा बस्न थालिन्। त्यसपछि श्रीमान श्रीमतीबीच बोलचाल नै बन्द भयो। फेसबुकबाट सुरु भएको सम्बन्ध, प्रेम विवाह र मातृत्वको यात्रापछि सरिता १९ वर्षको उमेरमै अंश दाबी नगरी सम्बन्धविच्छेद गर्न बाध्य भइन्। कक्षा ८ सम्म अध्ययन गरेकी उनी अहिले आफ्नो भविष्यभन्दा पनि चार वर्षीया छोरीको पालनपोषण र शिक्षाको चिन्तामा छिन्।

बाँकेकै बैजनाथ– २ की २३ वर्षीया दुर्गाकुमारी सुनारको पनि फेसबुकबाट जोडिएको सम्बन्ध पाँच वर्षमै टुट्यो। फेसबुकको चिनजान प्रेमसम्म पुगेपछि १६ वर्षकी दुर्गा र १८ वर्षका सञ्जय सुनारले परिवारको सहमती बिनै विवाह गरे। २०७५ बैशाखमा विवाह गरेका उनीहरुकी चार वर्षीया छोरी छन्।

समयसँगै श्रीमानको बेवास्ता, झै–झगडा र मानसिक तनाव बढेपछि दुर्गा २०८० सालदेखि माइतीघरमा बस्न थालिन्। २०८२ साउनमा उनले सम्बन्धविच्छेदको मुद्दा दायर गरिन्। सञ्जयसँगको ‘तनावपूर्ण’ सम्बन्धबाट छुटकारा पाए मात्रै पनि हलुंगो हुने निचोडमा पुगेकी दुर्गाले सञ्जयसँग अंश माग गरेकी छैनन्। अब के गर्ने भन्ने योजना पनि छैन। छ त केवल, चार वर्षीया छोरीलाई कसरी राम्रो शिक्षा दिने र स्वस्थ्य तरिकाले हुर्काउने चिन्ता।

खजुराकी २८ वर्षीया विमला सिंह ठाकुर भन्छिन ‘फेसबुकबाट त बाहिरी कुरा मात्र थाहा हुँदो रहेछ। विहे गरेर सँगै जीवन बिताउँदा धेरै कुरा नमिल्ने रहेछ।’

सामाजिक सञ्जाल फेसबुकबाटै मायाप्रेम बसेपछि १९ वर्षको उमेरमा विमलाले २४ वर्षीय बलबहादुर सुनारसँग विवाह गरेकी थिइन्। दुई सन्तान भइसक्दा पनि हिंसा र अविश्वास भोगिरहेपछि उनले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्। उनका अनुसार सामाजिक सञ्जालमा हुने कुराकानी र वास्तविक जीवनबीच ठूलो अन्तर हुन्छ, जसलाई किशोर–किशोरीले बुझ्न सक्दैनन्। ‘छोरीछोरी हुर्काउने र राम्रो शिक्षाको व्यवस्था गर्नुपर्ने बेला सम्बन्ध विच्छेदका लागि मुद्धा गर्नुपर्दा मन अमिलो भएको छ,’ विमला भन्छिन्, ‘तर के गर्नु बाध्यता छ।’

Screenshot-2026-06-03-143430-1780476756.png


नेपालगञ्जकी पिंकी यादव १५ वर्षकी छँदा अभिभावकले विवाह गरिदिए। १९ वर्षको उमेरमा गौना भएपछि उनी श्रीमानसँगै बस्न थालिन्। त्यसपछि थप अध्ययन्को कुरामा श्रीमानसँग मतभेद बढ्दै गयो। ‘पढाईका विषयमा बिचार नमिलेपछि अरु कुरामा मिल्ला भन्ने विश्वास रहेन। त्यसैले सम्बन्ध विच्छेद गर्नु नै उपयुक्त लाग्यो,’ पिंकी भन्छिन्, ‘सम्बन्ध विच्छेदका लागि माइतीको साथ पाउन निकै मुश्किल थियो।’ तीन वर्ष लामो कानुनी लडाइँपछि उनले सम्बन्धविच्छेद गरेकी छन्। वैवाहिक जीवनमा असफलता भोगेकी पिंकीले भाइहरूको बालविवाह रोकिन्। आफन्त र छिमेकमा पनि बालविवाह नगर्नका लागि दबाव दिन्छिन्। ‘बालविवाहका कारण मैले दुख पाएँ, तर, मेरा भाइहरु र नातेदारका छोराछोरीको बालविवाह रोकिएको छ।’ अहिले स्नातक तहमा अध्ययनरत पिंकी सहकारी संस्थामा लेखापाल पदमा कार्यरत छन्। उनको साहस र मेहनतलाई परिवार र छिमेकीले पनि प्रशंसा गर्न थालेका छन्।

तथ्याङ्क बाहिरको दृश्य

बाँके जिल्ला अदालतका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७६२, २०८०/८१ मा ७३३, २०८१/८२ मा ७२८ र २०८२/८३ को चैतसम्म ६२३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। यिमध्ये बालविवाहसँग सम्बन्धित मुद्दाको हिस्सा उल्लेख्य रहेकोे अदालतका सूचना अधिकारी तीर्थराज आचार्यले बताए।

खजुरा–४ की १७ वर्षीया पूजा बिकले २१ वर्षका सागर थारुसँग विवाह गरिन्। एक वर्षपछि उनीहरुकी छोरी जन्मिइन्। छोरी जन्मिएपछि श्रीमान–श्रीमतीबीच विवाद हुन थाल्यो। निरन्तरको झगडा र तनावपछि पूजाले २० वर्षको उमेरमा घर छोडिन्।

सागरले अर्को विवाह गरे, पूजा विदेश गइन्। उनीहरुको विवाह दर्ता भएको थिएन, बालविवाह भएका कारण। दर्ता नभएको हुँदा औपचारिक सम्बन्धविच्छेद हुनसक्ने भएन। पूजा र सागर जस्ता बालविवाह गर्ने र पछि सम्बन्धविच्छेद गर्नेहरुको तथ्याङ्क स्थानीय तह र अदालतमा भेटिंदैन। हतारमा विवाह, हतारमै सम्बन्धविच्छेद पारिवारिक निगरानीको कमी, सामाजिक सञ्जालको दुरुपयोग र देखासिकीले बालविवाहलाई प्रोत्साहन गरिरहेको समाजशास्त्री सीता बोहरा बताउँछिन्। आकर्षण हुनासाथ विवाह गर्न हतारिने किशोर किशोरीहरू विवाहपछिका समस्या सम्हाल्न सक्दैनन्। उनी भन्छिन्, ‘परिपक्व भएर विवाह गर्ने दम्पतीको तुलनामा बालविवाह गर्ने दम्पत्तीको सम्बन्धविच्छेद हुने सम्भावना बढी हुन्छ’।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार २० वर्षभन्दा कम उमेरमा गर्भधारण गर्दा आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ। नेपालमा मातृमृत्युदर घट्नुमा विवाहको उमेर २० वर्ष कायम हुनु पनि एक प्रमुख कारण मानिन्छ। भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कुमार शन शाहका अनुसार शारीरिक र मानसिकरूप परिपक्व नहुँदै बच्चा जन्माउँदा सामाजिक र मानसिक दबाब सिर्जना हुन्छ। कलिलो उमेरमा गर्भवती हुँदा आमा र बच्चा दुबैलाई ज्यानको खतरासम्म हुनसक्छ।

डा. शाह भन्छन ‘अझै पनि हाम्रो समाजमा कलिलो शरीरमा बच्चा जन्माउन सजिलो हुन्छ भन्ने भ्रम छ। तर, बालबिबाहका कारण उत्पन्न हुने स्वास्थ्य जटिलताका कारण गर्भबती आमा र पेटमा रहेको बच्चा दुबैको ज्यान जोखिममा हुन्छ।’ २०७५ भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुबैले २० वर्ष नपुगी गर्ने विवाह बालविवाह मानिने व्यवस्था गरेको छ। २० वर्ष नपुगी बिहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

१८ जेठ २०८२ को कालपृष्ठमा प्रकाशित 

 

प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

नेपाली युवा–सपनाको चिहान बन्दै मेघालयका कोइलाखानी

नेपाली युवा–सपनाको चिहान बन्दै मेघालयका कोइलाखानी

दुर्घटना हुँदा उद्धार टोली नआउने, घाइतेले उपचार वा मृतकका परिवारले क्षतिपूर्ति र कानूनी संरक्षणसम्म नपाउने मेघालयका ज्यानमारा र्‍याटहोलहरूमा किन छिरिरहेका...
लगानी जुटाउने नाममा वर्षौंदेखि कर्णालीका नदी ‘कब्जा’

लगानी जुटाउने नाममा वर्षौंदेखि कर्णालीका नदी ‘कब्जा’

१८ हजार मेगावाट क्षमताको कर्णालीमा अहिले करिब १० मेगावाट मात्रै उत्पादन भइरहेको छ । वर्षौंदेखि अनुमतिपत्र लिएर बस्ने, तर काम...
लहडी योजना कसरी बन्छन्? पोखराको प्राणी उद्यान हेरे पुग्छ

लहडी योजना कसरी बन्छन्? पोखराको प्राणी उद्यान हेरे पुग्छ

योजना बनाउने तर कार्यान्वयनमा लापरबाही गर्ने सरकारी प्रवृत्ति र त्यसका गम्भीर असर बुझ्ने दृष्टान्त पोखराको पचभैया प्राणी उद्यान हो जहाँ...