मेनु

खोज रिपोर्ट

बोक्सी आरोप : महिलालाई कमजोर बनाउने हतियार

नेपालको तराई–मधेश क्षेत्रमा कुनै महिलाको हुर्मत, इज्जत लिनुप¥यो भने बोक्सीको आरोप लगाइदिए पुग्छ । यो अन्धविश्वास हो भने कुरा धेरैलाई थाहा हुँदाहुँदै पनि कुनै महिलालाई तह लगाउनुप¥यो भने ‘बोक्सी’ शब्दको तरवार चलाउने गरिएको छ ।शत्रुधन कुमार साह | खाेज पत्रकारिता केन्द्र

नेपालको तराई–मधेश क्षेत्रमा कुनै महिलाको हुर्मत, इज्जत लिनुप¥यो भने बोक्सीको आरोप लगाइदिए पुग्छ । यो अन्धविश्वास हो भने कुरा धेरैलाई थाहा हुँदाहुँदै पनि कुनै महिलालाई तह लगाउनुप¥यो भने ‘बोक्सी’ शब्दको तरवार चलाउने गरिएको छ ।

शत्रुधन कुमार साह | खाेज पत्रकारिता केन्द्र

महोत्तरी बसपिट्टीका लक्ष्मण दासका दुई भाइ छोरा लामो समयदेखि रोगग्रस्त थिए । कान्छा छोरा बिजयको मानसिक सन्तुलन ठीक थिएन भने जेठा छोरा अजय छारे रोगले ग्रस्त थिए । २०६६ साल साउन ४ गते अजयको मृत्यु हुन गयो । अजयको मृत्यु भएपछि लक्ष्मण दासका परिवारले छिमेककी ४७ बर्षीया पटमरी दासलाई बोक्सी मन्त्र प्रयोग गरेर आपनो छोराको ज्यान लिएको भन्दै एक्कासी आक्रमण गरेर निर्घात कुटपीट गरे ।

त्यसबेला भोग्नु परेको दुव्र्यवहार संम्झिदै पटमरीले भनिन्, “मलाई पक्डेर फोहोर खुवाइदिए । लछारपछार गर्दैै बेहोश हुने गरी कुटपीट गरे । मलाई बचाउन आउँदा मेरी जेठी बुहारी समेत कुटपीटमा परिन् ।”
यसबारे जाहेरी दिन जाँदा प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन । मानव अधिकारबादी र पत्रकारले दबाब दिएपछि मात्रै उजुरी दर्ता भयो । साढे दुई वर्ष बित्न लाग्दा पनि उनले न्याय पाएकी छैनन् ।


PDF को लागि यहाँ CLICK गर्नुहोला ।

पटमरीलाई बोक्सीको आरोप लगाएर कुटपीट गर्नेहरूमा संविधानसभा चुनावमा माओवादीका तर्फबाट उम्मेदवारी दिएका अरविन्द दास र उनका सहयोगीहरु जगदेव दास, लालधारी दास, देबधारी दास, गोबिन्द दास, लक्ष्मण दास, रामपरि देवी र बसमतिया देवी थिए । तीमध्ये अरविन्द दासले धाकधम्कीका भरमा आफ्नो नाम फिर्ता लिन लगाइसकेका छन् । बाँकी सात जनालाई महोत्तरी जिल्ला अदालतले जनही तीन महिनाको कैद र रु. पाँच हजार जरिवाना गर्ने फैसला ग¥यो । त्यसपछि उनीहरू पुनरावेदन अदालत गएका छन् । मुद्दा कहिले टुंगो लाग्ने हो, थाहा छैन । यसबीच सातै जनाले पटमरीलाई मुद्दा फिर्ता लिन चर्को दबाब दिइरहेका छन् । पटमरीका श्रीमान महेन्द्र दास भन्छन्, “न्याय पाउने विश्वास मरिसकेको छ ।”


‘बाँच्नुभन्दा मर्नु बेस’


तराई–मधेशका प्रत्येक गाउँमा बोक्सीको आरोपमा दुव्र्यवहार खेप्नु परेका पटमरी जस्ता पाँचदेखि आठजना महिला भेटिन्छन् । बोक्सीको आरोप लगाइसकेपछि उनीहरूलाई कुटिन्छ । कतिलाई मलमूत्र खुवाइन्छ । कतिलाई मारिन्छ । यति धेरै शारीरिक र मानसिक यातना दिइन्छ कि कैयौंले यस्तो यातना खप्न नसकी आफूले आपैंmलाई मार्छन् ।
महोत्तरीकै नैन्हीकी फुलोदेवी मुखियालाई आफ्नै नन्द र जेठाजुले बोक्सी भन्दै केही महिनादेखि कुटपीट गर्दै आएका थिए । २०६७ साल असार १५ गते गाउँभर खबर पैmलियो– जेठाजु जनक मुखिया र नन्द राजोदेवीले मिलेर फुलोदेवीको शरीरमा तेजाब छर्केर मारे । तर कानूनका आँखामा फुलोदेवीले आगो लगाइ आत्महत्या गरेको ठहरियो ।
चौध वर्षअघि २०५५ सालमा बोक्सी आरोप लगाइएकी महोत्तरी लोहारपट्टीकी बुचियादेवीले बिष खाएर आपैंmलाई मारेकी थिइन् । गाउँलेहरूले बोक्सी भन्दै चारपाटा मुडेर कुटपीट गरे पश्चात् ‘नाङ्गो पारेर गाउँ घुमाउने’ धम्की दिएपछि त्यो बेइज्जती सहनुपर्ला भन्ने डरले उनले आत्महत्या गरेको छिमेकीहरु बताउँछन् ।


बोक्सी सम्बन्धी अन्धविश्वास समाजमा यति गाडिएको छ कि कसैले बोक्सी भनिदिएपछि आमाले छोरीलाई समेत दुव्र्यव्यवहार गरी घरबाट निकालिदिने गर्छन् । महोत्तरीकै डाम्ही मडैकी ४५ वर्षीया रामकली देवीलाई आमा कोशिलादेवी पण्डित र दाजुभाइ समेतले बोक्सी भन्दै निकालिदिएका छन् । “जन्म दिने आमा नै बिरानो भइन्,” आँसु झार्दै रामकली भन्छिन्, “त्यही भएर जिन्दगी नरक बनेको छ । बाँच्नुभन्दा मर्नु बेस जस्तो लाग्छ ।’


आजभोलि समाजमा कसैलाई बिसन्चो मात्र भयो भने पनि गाउँलेले रामकलीलाई समातेर कुटपीट गर्छन् । २०६९ असारमा छठु मण्डल विरामी भए । उनलाई बिरामी पारेको दोष रामकलीमाथि लाग्यो । रोगले छठुको मृत्यु भएपछि उनका छोरा अरुण मण्डल, उनकी श्रीमती र आमाले रामकलीलाई निर्घात कुटपीट गरे । रामकलीको उजुरी जिल्ला प्रहरी कार्यालयमा पुग्यो तर समाजका भद्रभलादमीहरूको दबाबको कारण मिलापत्र गरेर चित्त बुझाउनु प¥यो ।


‘जो होचो उसका मुखमा घोचो’


प्रायः आर्थिक रूपले विपन्न, त्यसमा पनि बिधवाहरूमाथि बोक्सीको आरोप लाग्ने गरेको छ । रौतहटकी महिला अधिकारकर्मी गीता भारती भन्छिन्, “सुन्दर, पढेलेखेका र संभ्रान्त परिवारका महिलालाई बोक्सीको आरोप लगाएर पीडा दिएको सुनिदैन ।”


बोक्सीको आरोप लगाउन सजिलो छ । कसैले रिसको झोँकमा भनिदिए पुग्छ । कसैलाई बोक्सी भनाउनु प¥यो भने त्यसो गर्न चाहने मानिसले धामी/झाँक्रीलाई गाउँ ल्याउँछन् । धामीले गाउँका महिलालाई “प्रसाद” खुवाउँछन् । जसलाई बोक्सीको आरोप लगाउनु पर्ने छ, उसलाई बेहोश हुने औषधि राखिएको “प्रसाद” खुवाइन्छ भने अरुलाई औषधि नहालेको । “प्रसाद” खाएपछि जसको होश गुम्छ, ऊ सबैका अगाडि बोक्सी “प्रमाणित” हुन्छे ।


गत वैशाख पहिलो साताको कुरा हो । महोत्तरीे, सुगा घर भएकी ५५ वर्षीया तकिना खातुन बाख्रा चराउन गएकी थिइन् । सोही ठाउँका रहुम मन्सुरले उनलाई बोलाए । छेउमा पुगेपछि कुट्न थाले । कपाल समेत लुछे र साडी पनि खोलिदिए । उनले पछि मात्र थाहा पाइन रहुमले उनलाई बोक्सी भनेर कुटेका रहेछन् । मन्सुरले तकिनामाथि टुनामुना गरेर आफ्नी आमालाई भूत लगाइदिएको आरोप लगाएका थिए ।


आफ्नो बेइज्जती होला भने डरले तकिनाले यसका विरुद्ध कतै उजुरी दिइनन् । भन्छिन्, “नहुनु पर्ने बेइज्जती भइहाल्यो । मन्सुरले गल्ती भयो भनेपछि थप बेइज्जती नहोस भनेर परिवारकै सल्लाहमा चुप लागेर बसें ।”


‘पीडितलाई थप दण्ड’


महोतरीकै लोहारपट्टीकी चन्द्रकला देवीमाथि नातामा देवर पर्ने नागेन्द्र चौधरीलाई बोक्सी विद्या प्रयोग गरेर क्यान्सर लगाइदिएको आरोपमा २०६५ साल चैत १९ गते कुटपीट गरियो । त्यही निहुँमा केही समयपछि देबनदेवीको नेतृत्वमा आएको महिलाहरूको हुलले उनको घरमा पसेर उनी र  उनका पति राम एकबाल चौधरीलाई समेत कुटपीट ग¥यो । त्यसबारे उजुरी दिन उनी प्रहरी कार्यालयमा पुगिन् । तर उजुरी दर्ता गर्नुको सट्टा प्रहरीले उनलाई कुटपीट गरेर न्यायको बाटो बन्द गरिदियो ।


महोत्तरीकै बदियाबन्चौरीकी ५० बर्षीया सत्यादेबी सहनी र ५५ बर्षीया बनारसीदेबी सहनी बोक्सीको आरोपमा एकदशक अघि प्रताडित भएका महिला हुन् । बृजलाल सहनी, रामपृत सहनी र सिकील सहनी लगायत गाउँलेले उनीहरूको कपाल काटी सार्वजानिक रूपमा बेइज्जती गरेका थिए । तर पीडकहरुको धाकधम्कीका कारण पीडित परिवारले प्रहरीमा  उजूरीसम्म दिन सकेनन् । उनीहरु मिलापत्र गर्न बाध्य भए । अहिले बनारसीदेवीको मृत्यु भइसकेको छ । सत्यादेवी भन्छिन्, “अब फेरि कुनै झमेला नहोस् भनेर मुख बन्द गरेर बसेका छौं ।”


महोत्तरी, रानी रतवारा घर भएकी सुमिन्त्रादेबी राम महिलामाथि हुने हिंसा विरुद्ध चेतना जगाउने काम गर्छिन् । तर गएको वैशाखमा उनीमाथि नै गाउँलेले बोक्सीको आरोप लगाए र कुटपीट गरे । त्यसपछि जसले कुटपिट ग¥यो उसैले उनका विरुद्ध बलवा ईलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरायो । “हामीहरू उजूरी गर्ने तयारी गर्दै थियौं । तर हामीभन्दा अघि उनीहरू नै पुगेर उजूरी दर्ता गराए,” सुमिन्त्रादेवीले भनिन् ।


यसपछि स्थानीय ‘भद्रभलादमी’ र प्रहरी समेतको पञ्चायती बस्यो जसमा प्रहरीले उल्टो सुमिन्त्रादेवीलाई तीन हजार रुपैयाँ जरिवाना ग¥यो । त्यस जरिवानालाई प्रहरीले जरिवाना नभनेर “भोजका लागि रकम लिएको” बताएको थियो । “न्याय पाउनुको साटो उल्टै हामीमाथि नै कारबाही भयो,” सुमिन्त्रादेवी भन्छिन् ।


‘मिलापत्र अर्थात् थप पीडा’
“तराईको ग्रामीण क्षेत्रमा हुने यस्ता घटनाको मिलापत्र गर्न प्रहरीले पीडित र पीडक दुवैसँग पैसा लिने गरेको छ,” जलेश्वरमा क्रियाशील एक महिला अधिकारकर्मीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भनिन् । उनका अनुसार “कुन घटना मिलाउन प्रहरीले कति पैसा लियो भन्ने कुरा गाउँघरको चिया पसलमा सहजै सुन्न पाइन्छ ।” जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी निरीक्षक सुरज खड्का भने सानातिना घटनामा सम्बन्धित क्षेत्रका प्रहरी कार्यालयले मिलापत्र गराउने गरेको स्वीकार गरे पनि पैसा लिने गरेको ‘आफूलाई थाहा नभएको’ बताउँछन् ।


राष्ट्रिय महिला आयोगका अनुसार  आ.ब. ०६८/६९ मा ३३ जना महिलामाथि बोेक्सीको आरोपमा हिंसा भएको थियो । अघिल्लो वर्ष यो संख्या ६२ थियो । महिला पुनस्र्थापना केन्द्र ओरेकले केही दिन अघि मात्र सार्वजनिक गरेको महिला हिंसामा आधारित पुस्तक “अन्वेषी” मा भने बोक्सी आरोपमा आ.ब.०६८/६९ मा ७५ जना महिलामाथि हिंसा भएको उल्लेख छ ।


‘कानून छ, कार्यान्वयन छैन’
यो अमानवीय कुप्रथा विरुद्ध कानून नभएको होइन । मुलुकी ऐनको अदल १० को ‘ख’ मा बोक्सीको आरोपमा कुनै महिलामाथि दुव्र्यव्यवहार गर्नेलाई तीन महिनादेखि दुई वर्षसम्म कैद वा रु. ५ हजारदेखि रु. २५ हजारसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ । यसैबीच नेपाल सरकारले बोक्सीको आरोप सम्बन्धी कसुर तथा सजाय ऐन अध्यादेश मार्फत ल्याउने निर्णय गरेको छ जसमा बोक्सीको आरोप लगाउनेलाई एक वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था र १० हजारदेखि १ लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।


तर विद्यमान् कानूकै कार्यान्वयन नभइरहेको अवस्थामा कानून कडा बनाएर मात्र केही हुने सम्भावना देखिंदैन । अझ मधेशी समुदायमा ‘बोक्सी उत्पादनको कलंकबाट मुक्त हुने चाहना र चेतना नजागेसम्म यो विकृति कदापि निर्मूल हुन सक्दैन ।






मरनीदेवी काण्ड


२०५८ सालमा बोक्सीको आरोप लगाएर मानव मलमूत्र खुवाउनुका साथै निर्मम कुटपीट गरिएकी महोत्तरी, सिमरदहीकी ६५ वर्षीया मरनीदेवी साहले अहिलेसम्म पनि न्याय पाउन सकेकी छैनन् । छिमेकी निर्सन साहको छोराको मृत्यु भएपछि मरनीदेवीलाई तत्कालीन गाविस अध्यक्ष नवलकिशोर सहनी, रामविनय साह, पार्वती साह,  मोतिदेवी साह, राजकिशोर साह, नागेन्द्र सहनी, रामबाबु साह, निर्सन साह, बिन्देश्वर साह, विनोद मण्डल, विनोद पासमान, शंकर सहनी सहितले कुटपीट गरेका थिए । घटना लगत्तै प्रहरीले नवलकिशोर सहनी र उनका भाइ शंकर सहनीलाई पक्राउ गरेको थियो तर एक महिना पछि दुवैजनालाई १ लाख ५४ हजार धरौटी लिएर रिहा गरियो । जिल्ला प्रशासन कार्यालयले घटनामा संलग्न १७ जनालाई दोषी ठहर गर्दै ९२ हजार रूपैयाँ जरिवाना गरेको थियो ।


देशव्यापी चर्चा भएपछि घटनामा मुद्दा चल्यो । जिल्ला अदालत महोत्तरी र पुनरावेदन अदालत जनकपुरले मरनीदेवीकै पक्षमा फैसला गरेर न्यायको बाटो खोलेको थियो । आरोपितहरूले सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि मरनीदेवीको मुद्दा हाल सर्वोच्चमा बिचाराधीन छ ।






बोक्सी बन्न खोज्दा जेलमा !


रौतहट जिल्लाको समनपुरकी महादेबी यादबले २०६८ जेष्ठ ११ गते बोक्सी बिद्यामा निपुण हुनका लागि आफ्नै तीन वर्षीय भान्जा नितेशलाई घाँटी रेटेर बलि चढाइन् । राम्रोसित माइजू समेत भन्न नजान्ने अबोध बालक नितेशलाई के थाहा, मामाको घर नै आफ्नो चिहान हुन्छ भने कुरा ? घटना लगतै प्रहरीले गिरफ्तार गरेपछि महादेवी यादवले धामी छबिलालको आदेशमा भान्जाको हत्या गरेको स्वीकार गरिन् ।


“मैले मध्यरातमा नितेशलाई गाउँ छेउको मन्दिरमा पु¥याएपछि गुरू छबिलालले मन्त्र पढ्दै छुरीले नितेशको घाँटी रेटे । आधा घाँटी काटिसकेपछि उनले मलाई रेट्न लगाए । अनि मैले घाँटी छिनाएँ ।’,  पत्रकार सम्मेलनमा उनले भनिन्, ‘गुरूले नितेशको बलि दिएपछि उसलाई अक्षता छर्केर ब्युँताउने र त्यस्तो शक्ति मलाई पनि प्राप्त हुने बताएका थिए ।’ तर त्यसो भएन –बालकको मृत्यु भयो । बोक्सी बन्न चाहने जेलमा गयो ।







(२० पुस, २०६९ को अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

स्थानीय तहः डेढ अर्ब डीपीआरमै, खोज्दा अभिलेख भेटिंदैन

स्थानीय तहः डेढ अर्ब डीपीआरमै, खोज्दा अभिलेख भेटिंदैन

अधिकांश स्थानीय तहले ठूलो रकम खर्चिएर बनाएका डीपीआर न अभिलेखमा छन्, न त योजना नै अघि बढाइएको छ। बेथितिको औजार...
सुदूरपश्चिम शासनः नेतृत्वविहीन संस्था, अनियन्त्रित सेवा–सुविधा

सुदूरपश्चिम शासनः नेतृत्वविहीन संस्था, अनियन्त्रित सेवा–सुविधा

सुदूरपश्चिममा प्रदेश सरकारले आवश्यक कानून बनाउन पहल गर्नुको साटो धमाधम गठन आदेश जारी गरेको छ। भागबन्डा, कानूनी शून्यता र खर्चको...
कुपोषण बचाइरहने ‘धन्दा’

कुपोषण बचाइरहने ‘धन्दा’

सुदूर बाजुराको दुर्गम मुक्तिकोटका कुपोषित बालबालिका, आमा र किशोरीका व्यथा नेपालमा कुपोषण हटाउन २९ वर्षदेखि चलिरहेका सरकारी तथा दातृसंस्थाका कार्यक्रमको...