मेनु

खोज रिपोर्ट

ज्यान दाउमा राखेर हौदभित्र : पुस्तौंदेखि जोखिममा मधेशका दलित

सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा हुने दुर्घटनाले पछिल्लो दशकमा दर्जनौंको ज्यान लिइसकेको छ । तर यो काम गर्ने मधेशका अधिकांश दलित सरसफाइकर्मी अझै पर्याप्त सुरक्षा सामग्री, स्वास्थ्य बीमा र स्पष्ट कानूनी संरक्षण विना मानव मलमूत्र सफा गर्न बाध्य छन्।

चैतको मध्यतिर सिरहा बजारको एक घरको हौद (सेप्टिक ट्याङ्की) सफा गर्दै थिए विक्की मेस्तर। मेसिनले फोहोर तानेपछि आधा खाली भएको ट्याङ्कीमा तलतिर जमेको मलमूत्रको लेदो अझै बाँकी थियो। त्यो निकाल्ने जिम्मा विक्की र उनका दुई साथीले पाएका थिए।

रबरका पञ्जा र साधारण मास्क लगाएका उनीहरू दुर्गन्धले भरिएको ट्याङ्कीबाट फोहोर कनस्टरमा जम्मा गरेर नजिकैको पोखरीमा फालिरहेका थिए। “माथिको फोहोर त मेसिनले तान्छ” विक्कीले भने, “तर तल जमेको लेदो हातैले निकाल्नुपर्छ।”

सिरहा नगरपालिकामा सरसफाइकर्मीका रूपमा काम गर्ने २६ वर्षीय विक्कीको पुख्र्यौली पेशा यही हो। कक्षा ७ सम्म पढेका उनी कमजोर आर्थिक अवस्था र अरू रोजगार नपाएपछि यो पेशामा फर्केका हुन्।

मधेशका अधिकांश जिल्लामा सेप्टिक ट्याङ्की, ढल, शौचालय र मानव मलमूत्रजन्य फोहोर सफा गर्ने काम खासगरी मेस्तर र हलखोर जस्ता दलित समुदायका पुरुषले गर्दै आएका छन्। सरकारी कार्यालय, अस्पतालदेखि निजी संस्था र घरघरसम्म सफाइको सबैभन्दा जोखिमपूर्ण काममा उनीहरू नै अगाडि हुन्छन्। तर, उनीहरूका लागि न पर्याप्त सुरक्षा सामग्रीको व्यवस्था छ, न स्वास्थ्य बीमा, न सामाजिक सुरक्षा न त कुनै सुरक्षा मापदण्ड नै !

सर्लाहीको मलंगवा–४ का विजय मेस्तरलाई आफूले कहिलेदेखि सेप्टिक ट्याङ्की सफा गर्न थालेको सम्झना छैन। “सानैदेखि बुवासँग जान्थें” उनी भन्छन्, “विस्तारै यही काम सिकियो।”

६० वर्ष पुग्न लागेका विजयका बुवा लाले मेस्तर पनि नगरपालिकामा सफाइकर्मी छन्। उनले आफ्ना बाबुबाट सिकेको काम छोरालाई सिकाए।

“हामीले अरू काम पाउँदैनौं” लाले मेस्तर भन्छन्, “जे पाइयो त्यही गरेर परिवार पाल्नुपर्छ।” उनका अनुसार एक दशक अघिसम्म सेप्टिक ट्याङ्की सफा गर्ने कुनै मेसिन थिएन। न पञ्जा, न मास्क, न बुट। ट्याङ्कीभित्र आधा शरीर डुबाएरै मलमूत्र निकाल्नुपथ्र्यो। “त्यतिबेला पाँच सय रुपैयाँ बराबरको काम लगाएर पाँच रुपैयाँ मात्र दिन्थे”, उनी पुराना दिन सम्झन्छन्।

4-copy-1784106617.jpg
सप्तरीको राजविराजस्थित मेस्तर टोल।

अहिले पञ्जा, मास्क र बुट उपलब्ध हुन थाले पनि ती पर्याप्त भने छैनन्। उनीहरूले प्रयोग गर्ने मास्क साधारण मेडिकल मास्क हुन्छ, जसले विषालु ग्यासबाट सुरक्षा दिंदैन।

अहिलेको पुस्ताका लागि रोजगारीका अन्य अवसर खुले पनि समाजमा स्वीकार्यता नहुँदा र छुवाछूतको भावना व्यापक भएकाले आफ्नो समुदायका युवाका लागि अवसर कम भएको उनी बताउँछन्।

जोखिमसँगै रोजगारीको असुरक्षा

सेप्टिक ट्याङ्की सफा गर्न अहिले धेरै ठाउँमा सक्सन मेसिन प्रयोग हुन थालेको छ। तर त्यसले सबै फोहोर निकाल्न सक्दैन। सिरहाका दलित अधिकारकर्मी अरुणकुमार पासवानले आफ्नै घरको सेप्टिक ट्याङ्की सफा गराउँदा यस्तै अनुभव गरे।

पहिले ट्यांकर सहितको सक्सन मेसिन बोलाएर पाँच हजार रुपैयाँ खर्चिए। तलको बाक्लो फोहोर बाँकी रहेपछि फेरि हातैले सफा गराउँदा थप ६ हजार रुपैयाँ तिर्नुप¥यो।

कामदारहरूले ट्याङ्कीभित्र पस्नुअघि दुई लिटर मट्टीतेल मागे। गन्ध कम महसुस होस् भनेर उनीहरूले ट्याङ्कीमा मट्टीतेल छर्के र फोहोर कनस्टरमा भरेर नजिकैको पोखरीमा लगेर फालेको पासवान बताउँछन्।

विजय मेस्तरका अनुसार केही वर्षअघिसम्म धेरै कामदारले ट्याङ्कीभित्र पस्नुअघि रक्सी पनि पिउने गर्थे। “रक्सी नखाई गन्ध सहन सकिंदैन भन्थे” उनी भन्छन्, “अहिले कम भए पनि पूरै हटेको छैन।”

मेसिनको प्रयोग बढ्दै जाँदा सरसफाइकर्मीहरू अर्को चिन्तामा छन्– यही रोजगारी पनि गुम्ने। “पहिले सबै काम हामीले गथ्र्यौं” विजय भन्छन्, “अहिले मेसिन आयो, काम पनि घट्दै गएको छ।”

पहिले फोहोर खाली जग्गा वा पोखरीमा फालिन्थ्यो। अहिले धेरै स्थानीय तहले त्यसमा रोक लगाएपछि मानिसहरू ट्यांकर सेवा प्रयोग गर्न थालेका छन्। तर विडम्बना के छ भने मेसिनले काम पूरा गर्न नसकेपछि अन्तिम जोखिमपूर्ण काम दलित कामदारकै काँधमा आइपुग्छ।

कमाइका अन्य अवसर नभएका कारण दलित समुदायका केही युवा वैदेशिक रोजगारीमा गएका छन्, केही अटो वा टेम्पो चलाउँछन्। तर पर्याप्त पूँजी नभएका धेरै परिवारका लागि सरसफाइको काम नै जीविकोपार्जनको एक मात्र विकल्प बनेको छ।

स्वास्थ्यलाई बेवास्ता

मलमूत्र, विषालु ग्यास र संक्रमणको प्रत्यक्ष सम्पर्कमा रहने यी कामदारका लागि यो ज्यानकै जोखिमसँग जोडिएको काम हो।

सिरहास्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुनिलप्रसाद कुशवाहाका अनुसार पर्याप्त सुरक्षा सामग्री विना सेप्टिक ट्याङ्कीभित्र पस्नु अत्यन्त जोखिमपूर्ण हुन्छ।

3-copy-1784106858.jpg
सेप्टिक ट्यांकी सफा गर्ने सक्सन मेसिनको फित्तामा हात पर्दा औंलाको टुप्पा गुमाएका सिरहाका रवीन मल्लिक ।

उनका अनुसार मानव मलमूत्रको सम्पर्कबाट टाइफाइड, हेपाटाइटिस ए र ई, छाला सम्बन्धी संक्रमण हुन सक्छ। औंलाका कापबाट परजीवी आन्द्रा र मस्तिष्कसम्म पुग्न सक्छन् र अन्य संक्रामक रोग लाग्न सक्छ।

वर्षौंदेखि बन्द रहेको ट्याङ्कीमा जम्मा हुने मिथेन, कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइड जस्ता ग्यासका कारण मानिस अचेत हुने र मृत्यु समेत हुनसक्ने डा. कुशवाहा बताउँछन्।

“लामो समयसम्म यस्ता ग्यासको सम्पर्कमा रहनेहरूमा श्वासप्रश्वास प्रणालीमा समस्या आउन सक्छ, अन्य दीर्घकालीन स्वास्थ्य जटिलता समेत देखिन सक्छ”, उनी भन्छन्।

रक्सी सेवन गरेर ट्याङ्कीभित्र पस्ने पुरानो चलनले जोखिम झन् बढाउने उनको भनाइ छ। तर यस्ता कामदार अस्पतालको इमर्जेन्सीमा पुग्ने घटना भने कमै देखिएको उनको अनुभव छ। “हात काटिएको, किलाकाँटी गडेको जस्ता चोटपटक लिएर कहिलेकाहीं आउँछन्” उनले भने, “तर नियमित स्वास्थ्य परीक्षण गराउने चलन छैन।”

मृत्युसम्मका घटनाः न क्षतिपूर्ति, न राहत

२०७९ चैत १७ गते धनुषाको धनुषाधाम नगरपालिका–३ स्थित सार्वजनिक शौचालयको सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा ४५ वर्षीय ठेकु मल्लिकको मृत्यु भयो। वैदेशिक रोजगारीबाट फर्किएपछि उनी सार्वजनिक शौचालयको सरसफाइ गर्दै आएका थिए। त्यस दिन श्रीमती कविता मल्लिक र ११ वर्षीय छोरासँगै सफाइ गर्न गएका उनी ट्याङ्कीभित्र पसे। केहीबेरसम्म आवाज नआएपछि कविताले बोलाइन्, तर कुनै प्रतिक्रिया आएन।

“नजिकैको प्रहरी चौकीमा म तीन पटक गएँ” कविता सम्झिन्छिन्, “तर कसैले सहयोग गरेन। पछि ज्वाइँ आएर भित्र पस्दा उहाँ पनि बेहोस हुनुभयो। अर्को व्यक्तिले डोरी बाँधेर दुवैलाई बाहिर निकाले, तर श्रीमान्को ज्यान बचेन।”

2-copy-1784106493.jpg
धनुषाधामस्थित सार्वजनिक शौचालय र सेप्टिक ट्यांक, जहाँ ठेकु मल्लिकको ज्यान गएको थियो ।

ठेकुको मृत्युपछि नगरपालिकाले कवितालाई डोर हाजिरीमा सरसफाइकर्मीको काम दिएको छ। त्यसबाहेक कुनै औपचारिक क्षतिपूर्ति वा सामाजिक सुरक्षा नपाएको उनले बताइन्।

“ऋण तिर्नु छ, छोराको पढाइ पनि चलाउनुपर्छ” उनी भन्छिन्, “त्यतिबेला धेरैले खातामा पैसा आउँछ भनेका थिए, तर अहिलेसम्म केही आएको छैन।”

यस्तै काम गर्न जाँदा दुर्घटनामा परे, सिरहाका २२ वर्षीय रविन मल्लिक। उनको दाहिने हातका केही औंला चल्दैनन्। एक वर्षअघि सेप्टिक ट्याङ्की सफा गर्ने ट्यांकरमा सहयोगीका रूपमा काम गर्दा मेसिनको बेल्ट मिलाउने क्रममा दुर्घटना भयो। उनले मेसिन बन्द गर्न भनेका थिए, तर चालकले नसुन्दा चलिरहेको बेल्टमा उनको हात प¥यो।

“होस खुल्दा अस्पतालमा थिएँ” उनी भन्छन्, ‘औंला त गयो, नसामा असर परेपछि हात पनि सुक्यो।” २५ सयको ठेक्का लिएर काम गर्न गएको तर उपचारमा त्यसको १० गुणा बढी खर्च भइसकेको रविनले सुनाए।

सशस्त्र प्रहरी जवानमा भर्ना हुन आवेदन दिए पनि औंलाकै कारण छनोट हुन नपाएको र विदेश जानका लागि पासपोर्ट बनाउन १० औंलाको छाप चाहिने सुनेकाले नबनाएको उनले बताए।

कानूनी सुरक्षा कमजोर

सेप्टिक ट्याङ्की सफा गर्ने जस्तो जोखिमपूर्ण काम गर्ने कामदारका लागि नेपालमा छुट्टै कार्यस्थल सुरक्षा मापदण्ड छैन। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार प्रचलित श्रम ऐनले सबै श्रमिकलाई समेटे पनि सेप्टिक ट्याङ्की वा मानव मलमूत्रजन्य सरसफाइका कामदारका लागि छुट्टै निर्देशिका वा मापदण्ड बनेको छैन।

जोखिमपूर्ण काममा रोजगारदाताले व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने, डोरी बाँधेर काम गराउने लगायतका व्यवस्था श्रम ऐनमा उल्लेख भए पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण छ।

हामीले धेरै स्थानीय तहहरूबाट के सुन्दै आएका छौँ भने त्यहाँ कार्यरत पुराना सरसफाइकर्मीको मृत्यु अन्य अवकाश प्राप्त कर्मचारी भन्दा चाँडै नै हुने गर्छ, मानव मलमूत्रजन्य फोहोरमा काम गर्ने सरसफाइकर्मीहरूको स्वास्थ्य र आयुमाथि कस्तो असर परिरहेको छ, यो विषयमा पर्याप्त अध्ययन हुनु जरुरी छ।

  • सृजना कार्की,  वरिष्ठ अधिकृत, ‘एन्फो’

श्रम कानूनका जानकार अधिवक्ता भक्ति घिमिरेका अनुसार अनौपचारिक क्षेत्रमा काम गर्ने यी श्रमिकहरू पनि श्रम ऐनअन्तर्गतकै अधिकारका हकदार हुन्। “उनीहरूलाई पनि स्वास्थ्य बीमा, दुर्घटना क्षतिपूर्ति, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको अधिकार छ” उनी भन्छन्, “समस्या के हो भने अधिकांशसँग लिखित श्रम सम्झौता नै हुँदैन। दुर्घटना हुँदा जिम्मेवारी कसले लिने भन्ने अन्योल पैदा हुन्छ।”

खानेपानी, सरसफाइ तथा जनस्वास्थ्य क्षेत्रमा कार्यरत प्रिती मित्तलका अनुसार यस्ता कामदारलाई औपचारिक प्रणालीभित्र ल्याउन आवश्यक छ। “कामदार वर्गीकरण, न्यूनतम ज्याला, अनिवार्य तालिम, इजाजतपत्र प्रणाली र सामाजिक सुरक्षा तथा बीमासँग आबद्ध गर्नुपर्छ”, उनी भन्छिन्।

मधेश प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष सोहनकुमार साहका अनुसार स्थानीय तहलाई स्पष्ट मापदण्ड दिएर सरसफाइकर्मीको सुरक्षा, सामाजिक सुरक्षा र यान्त्रिक सरसफाइलाई अनिवार्य गर्न सकिन्छ। उनका अनुसार भारतले सन् १९९३ मै हातैले मलमूत्र सफा गर्ने अभ्यास निषेध गर्ने कानून ल्याएको थियो र सन् २०१३ को नयाँ कानूनले यसलाई दण्डनीय कसुर मान्दै कैद, जरिवाना तथा पुनःस्थापनाको व्यवस्था समेत गरेको छ।

भारतको सर्वोच्च अदालतले पनि यसलाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको उल्लङ्घन ठहर गरेको छ। नेपालमा भने यस्तो अभ्यास अझै कानूनी रूपमा स्पष्ट निषेध गरिएको छैन।

शिक्षाले नफेरेको पेशा र जीवन

सप्तरीको राजविराजस्थित मेस्तर टोलका धेरै युवाले एसईई उत्तीर्ण गरेका छन्। केही स्नातक तहसम्म पुगेका छन्। तर शिक्षाले उनीहरूको पेशा बदल्न सकेको छैन।

“पढे पनि जागिर पाइँदैन” स्नातक तहमा अध्ययनरत २५ वर्षीय एक युवा भन्छन्, “अन्त्यमा सरसफाइ वा सुँगुरपालनमै फर्किनुपर्छ।”

उनका अनुसार विभेद काम गर्दा मात्रै होइन, थर थाहा पाएपछि नै शुरु हुन्छ। “साथीभाइ टाढिन्छन्, काम खोज्दा पनि विश्वास गर्दैनन्”, उनी भन्छन् ।

सर्लाहीको मलंगवाकी चिन्तादेवी मेस्तरकी छोरी मन्धनियाँ मठस्थित सरकारी विद्यालयमा कक्षा ३ मा पढ्छिन्। तर विद्यालयमै जातीय विभेद भोग्नुपरेको उनले सुनाइन्।

“मेस्तरको छोरी भएर अरू जाने ट्वाइलेटमा किन गएको भनेर मास्टरले नै टाउकोमा पेन्सिलले घोचिदिए”, उनी भन्छिन्। कतिपय शिक्षकले शौचालय प्रयोग गरेपछि पानी समेत उनका छोराछोरीलाई बोक्न लगाउने गरेको उनले सुनाइन्।

एक दशक अघिसम्म सेप्टिक ट्याङ्की सफा गर्ने कुनै मेसिन थिएन। न पञ्जा, न मास्क, न बुट। ट्याङ्कीभित्र आधा शरीर डुबाएरै मलमूत्र निकाल्नुपर्थ्यो । त्यतिबेला पाँच सय रुपैयाँ बराबरको काम लगाएर पाँच रुपैयाँ मात्र दिन्थे ।

  • लाले मेस्तर

सर्लाहीको मलंगवास्थित एक निजी क्लिनिकमा सरसफाइकर्मीको काम गरिरहेकी बबिता मेस्तर ४० वर्षकी भइन्। उनले पनि कार्यस्थलमै विभेद भोगेको अनुभव सुनाइन्। काम गर्ने क्रममा खुट्टामा सुई गाडिएपछि उनले टिटानसको सुई मागिन्। तर क्लिनिकले नदिएपछि सरकारी अस्पताल गएर लगाउनुपरेको थियो। 

“हामी सफाइ गर्ने मान्छे भएकैले होला, हाम्रो ज्यानको कसैलाई वास्ता छैन”, उनले भनिन्।

तथ्यांकले देखाएको असमानता

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दलित जनसंख्या करिब ३८ लाख ७८ हजार छ। तीमध्ये मधेशी दलित करिब १३ लाख ९० हजार छन्। मधेश प्रदेशमै १० लाखभन्दा बढी दलित बसोबास गर्छन्।

शिक्षामा पनि मधेशी दलित अझै पछि छन्। पुरुषको साक्षरता ५७ प्रतिशत र महिलाको ४१.४ प्रतिशत मात्रै छ। जीवनप्रत्याशा पनि अन्य समुदायको तुलनामा कम देखिन्छ।

नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा सेप्टिक ट्याङ्कीमा डुबेर ५४ जनाको मृत्यु भएको छ। तीमध्ये धेरै पुरुषले सफाइका क्रममा अक्सिजनको कमी वा विषालु ग्यासका कारण ज्यान गुमाएका थिए भने महिला र बालबालिकाको मृत्यु अधिकांश दुर्घटनाका कारण भएको थियो।

विभिन्न स्थानीय तहसँग निकट रही सरसफाइको क्षेत्रमा काम गर्दै आएको संस्था ‘एन्फो’की वरिष्ठ अधिकृत सृजना कार्की भन्छिन्, “हामीले धेरै स्थानीय तहहरूबाट के सुन्दै आएका छौँ भने त्यहाँ कार्यरत पुराना सरसफाइकर्मीको मृत्यु अन्य अवकाश प्राप्त कर्मचारी भन्दा चाँडै नै हुने गर्छ। मानव मलमूत्रजन्य फोहोरमा काम गर्ने सरसफाइकर्मीहरूको स्वास्थ्य र आयुमाथि कस्तो असर परिरहेको छ, यो विषयमा पर्याप्त अध्ययन हुनु जरुरी छ।”

सिरहा, सर्लाही, सप्तरी र धनुषामा नयाँ–नयाँ सेप्टिक ट्यांकर गाउँ–शहर डुलिरहेका छन्। नीति निर्माण, यान्त्रिकीकरण र आधुनिक सरसफाइको चर्चा पनि बढेको छ। तर ती सबै परिवर्तनको बीचमा एउटा दृश्य भने उस्तै छ।

सर्लाहीका एक १५ वर्षीय किशोर ६ महिनादेखि सेप्टिक ट्याङ्की सफा गर्ने टोलीमा काम गरिरहेका छन्। आर्थिक अभावका कारण ७ कक्षापछि पढाइ छोडेका उनी अब उमेर बढाएर नागरिकता बनाउने र वैदेशिक रोजगारीमा जाने तयारीमा छन्।

“यो काम गरेर भविष्य देखिंदैन” उनी भन्छन्, “विदेश गए जे काम गरे पनि परिवार पाल्न सकिन्छ भन्ने लाग्छ।”

उनको यो भनाइ एउटा किशोरको सपना मात्र होइन, पुस्तौंदेखि जोखिम, जातीय विभेद र असुरक्षित श्रममा बाँधिएका मधेशका धेरै दलित समुदायको साझा यथार्थ हो। 

प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

कोशीमा मानसिक र नसर्ने रोगको प्रकोप

कोशीमा मानसिक र नसर्ने रोगको प्रकोप

कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्या र नसर्ने रोग बढ्दै जाँदा आत्महत्याको दर पनि बढेको छ। तथ्यांकले युवा र किशोरकिशोरी बढी...
भित्ता पनि बोल्छन् बाल सुधारगृहमा, तैपनि सुन्दैन हाम्रो न्याय प्रणाली

भित्ता पनि बोल्छन् बाल सुधारगृहमा, तैपनि सुन्दैन हाम्रो न्याय प्रणाली

झडप, आगजनीपछि सुनसान भक्तपुरस्थित बाल सुधारगृहका भित्ता–भित्तामा कोरिएका शब्द–चित्र सुधार र पुनर्स्थापनामा आधारित नेपालको बाल न्याय प्रणालीमाथि प्रश्न उठाउने प्रमाण...
रितिँदै जडीबुटी, मुस्किल बन्दै जीविका

रितिँदै जडीबुटी, मुस्किल बन्दै जीविका

उत्पादन र मूल्य दुवै घटेका कारण जडीबुटीको कमाईले जीविका चलाइरहेका बझाङका हिमाली क्षेत्रका बासिन्दाको दैनिकी संकटमा परेको छ । आम्दानीको...