खोज रिपोर्ट
करीब १५ वर्ष भारतमा मजदूरी गर्दा पनि हातमुख जोर्न धौ–धौ भइरहेपछि शिव महरा घर फर्किए। त्यसबेला घोराही उपमहानगरपालिका–१, बाहुनटारीमा उनको घर नजिकै ठूलो ताल बनेको थियो। उनले तरकारी व्यवसाय गर्ने सुर कसे।
१५ कट्ठा जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेती गर्दा शुरुमा सहज भएन। शिवले हिम्मत हारेनन्। अनुभव बढ्दै गयो, बजार बुझ्न थाले र उत्पादनको गुणस्तरमा सुधार गर्दै लगे। आज शिव सफल किसानको रूपमा चिनिन्छन्। उनका लागि नगरपालिकाले बनाएको यो जलाशय आशा र भरोसा पनि बनेको छ।
“यो सिजनमा बन्दागोभी मात्रै ८ लाख रुपैयाँ बराबरको बेचें” उनी भन्छन्, “तरिका पुर्याएर खेती गर्दा १५ कट्ठा जमिनबाट वार्षिक १८ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिंदोरहेछ।” महराले बन्दागोभी, काउली, बेमौसमी काँक्रो र खुर्सानी खेती गर्छन्। १५ कट्ठा जग्गाको भाडाबापत वार्षिक ३६ हजार रुपैयाँ बुझाए पुग्छ।
पहिले आकाशे पानीको भरमा एक बाली मात्रै हुने बाहुनटारी क्षेत्रमा अहिले तीन बाली खेती सम्भव भएको छ। यसको मुख्य कारण हो— घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृत्रिम जलाशय– चेपे दह। चेपे दहले बाहुनटारी मात्र होइन; सुर्केडाँगी, बुका, राइटारी र पन्तटोलका किसानको जीवनमा पनि परिवर्तन ल्याएको छ।
चेपे दह अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकका कारण होटल, किराना पसल र साना व्यवसाय समेत फस्टाएका छन्।
घोराही उपमहानगरपालिका–१ का वडाध्यक्ष एवं उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेय भन्छन्, “यो जलाशय निर्माणपछि ५÷६ गाउँका किसानले तरकारी खेतीबाट मनग्गे आम्दानी गरिरहेका छन्। अरू व्यवसाय पनि फस्टाएको छ।”
९० बिघामा ४४ जलाशय
घोराही उपमहानगरपालिकाले २०७४ देखि कृत्रिम जलाशय बनाउन थालेको थियो। सिम भएको जमीनमा ठूलो पोखरी बनाएर, साना खोल्सी थुनेर अहिलेसम्म ४४ वटा जलाशय निर्माण भइसकेका छन्। यी जलाशयमा २० करोड २१ लाख रुपैयाँ खर्च लागेको उपमहानगरले जनाएको छ। घोराहीका १९ मध्ये १४ वटा वडामा कृत्रिम जलाशय निर्माण गरिएको उपमहानगरपालिकाका शहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखाका सब–इन्जिनियर मधुसूदन खतिवडाले जानकारी दिए। उनका अनुसार जलाशयले कुल ९० बिघा क्षेत्र ओगटेको छ। यी जलाशय निर्माणमा संघीय र प्रदेश सरकारले समेत सहयोग गरेका छन्।
यी जलाशयबाट अहिले ९३५.६१ हेक्टर जमीनमा सिंचाइ भइरहेको र १५०० हेक्टर पुर्याउने लक्ष्य रहेको उपमहानगरपालिकाका शहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखाका सब–इन्जिनियर खतिवडाले जानकारी दिए।
उपमहानगरका प्रवक्ता पाण्डेयले औपचारिक अभिलेख तयार भइनसके पनि यी जलाशयबाट करीब ५० हजार घरधुरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएको अनुमान सुनाए।
घोराही–१७ कर्जाहीमा बनाइएको कर्जाही जलाशयका कारण बाह्रै महीना सिंचाइको सुविधा पुगेको छ। यसबाट लाभ लिनेमध्येका एक हुन्, बाबुराम चौधरी। “पहिला डेढ कट्ठामा तरकारी खेती गर्थें, पानीको सुविधा भएपछि १५ कट्ठामा गर्दै आएको छु”, चौधरी भन्छन्। तरकारी खेतीबाटै भएको आम्दानीबाट उनले थप १० कट्ठा जमीन किनेका छन्। गाउँका धेरै साथी विदेश गएकै बेला आफू भने तरकारी खेतीमै रमाइरहेको बाबुराम बताउँछन्।
“जलाशय निर्माणका लागि पालिकामा प्रस्ताव पेश गर्नेदेखि निर्माण गर्नेसम्म हामी गाउँलेहरू नै सक्रिय थियौं” उनले भने, “पालिकाले जलाशय निर्माण गरिदिएपछि अहिले हाम्रो सिंगो गाउँ यही जलाशयबाट सिंचाइ गरी बाह्रैमास खेतीमा व्यस्त हुन्छ।” ७७ बिघा क्षेत्रफल सिंचाइ गर्ने लक्ष्य सहित जलाशय निर्माण गरिएको उनले जानकारी दिए।
“जलाशय बनेपछि पानीको अभाव मात्रै हटेको छैन, किसानहरूको जीवनस्तर नै माथि उठेको छ”, बाबुरामले भने।
जलाशयले उकास्यो जीवनस्तर
घोराहीमा निर्माण भएका यी जलाशयहरू केवल पानी संकलन गर्ने संरचना मात्र होइनन्। यी जलाशयहरूले किसानको जीवनशैलीमा परिवर्तन ल्याएका, खेती प्रणाली सुधारेका र ग्रामीण विकासको नयाँ आधार तयार पारेका छन्।
पहिले बर्खे पानीमा निर्भर यहाँका गाउँहरू अब वर्षभरि नै हराभरा देखिन्छन्। किसानले धान, गहुँ, मकै जस्ता परम्परागत बाली बाहेक तरकारी, फलफूल जस्ता नगदेबालीे खेती गरिरहेका छन्।
जलाशयको सबैभन्दा ठूलो फाइदा भनेको जमीनमा पानीको प्राकृतिक पुनर्भरण (रिचार्ज) भइरहेको छ। यसको प्रत्यक्ष प्रभाव कुवा (इनार) र डिप बोरिङहरूमा देखिन्छ। जलाशय वरिपरिका क्षेत्रमा पानी जमीनभित्रै सञ्चित हुँदै जाँदा माटोको उर्वराशक्ति पनि बढेको छ। खेतीबाट राम्रो उत्पादन हुन थालेपछि युवाहरू विदेश पलायन हुने क्रम रोकिएकोे छ। स्थानीय अर्थतन्त्र चलायमान भएको छ।
घोराही उपमहानगरपालिका–६ चोर गाउँका डुब्लु चौधरी वैदेशिक रोजगारीमा थिए। अहिले उनी फर्केपछि गाउँमै खेती गरेर बसेका छन्। “गाउँमै राम्रो आम्दानी हुनथालेपछि विदेश जाने सोच त्यागें”, उनी भन्छन्।
लख्वार गाउँका नीमबहादुर चौधरी पनि गाउँको सिरानमा लख्वार जलाशय बनेपछि खेतीपाती सजिलो भएको बताउँछन्। करीब पाँच वर्ष विदेश बसेर फर्केका नीमबहादुर छोराछोरीलाई पढाउन र घरखर्च चलाउन तरकारी खेतीको आम्दानीले धानेको बताउँछन्।
नागरिक अगुवा एवं थारू कल्याणकारिणी सभा, दाङका पूर्व अध्यक्ष भुवन चौधरी थारू समुदायको बाहुल्य रहेको यो ठाउँमा कृत्रिम पोखरीहरूले जीवनशैली नै परिवर्तन गरिदिएको बताउँछन्। “पहिले थारू समुदायबाट कोही पनि बजारमा अनाज, तरकारी बेच्न गएको देखिंदैनथ्यो” उनी भन्छन्, “अहिले सधैं बिहान घोराही बजारमा थारू महिलाहरू छिट्वा, गैंजामा तरकारी राखेर बेचिरहेका हुन्छन्। यसबाट उनीहरूको आम्दानी बढेको छ, समाजमा घुलमिल हुने अवसर पाएका छन्।”
यी जलाशयहरू आर्थिक रूपान्तरण, कृषि र उद्यमशीलताको नयाँ आधार भएको अर्थतन्त्र सम्बन्धी जानकार सुरेश गौतम बताउँछन्। उनका अनुसार व्यावसायिक कृषिमा त यो क्षेत्रले ठूलो फड्कै मारेको छ। “पहिले जस्तो हिउँदमा जमीन बाँझो रहँदैन। गहुँ, तोरी र वसन्त ऋतुमा मकै वा तरकारी खेती गरेर किसानले दुईदेखि तीन गुणासम्म आम्दानी बढाएका छन्।”
उपमहानगरपालिकाले धेरैजसो जलाशय स्थानीय समुदायलाई माछापालनका लागि लिजमा दिएको छ। एउटा औसत आकारको जलाशयबाट वार्षिक ५ देखि १० लाख रुपैयाँसम्मको माछा बिक्री हुने गरेको गौतम बताउँछन्। “उत्पादकत्व बढेको छ, बाह्य आयात प्रतिस्थापन भएको छ, जग्गाको भाउ बढेको छ” गौतम भन्छन्, “स्थानीय बासिन्दाको आर्थिक हैसियत र बैंकसँगको पहुँच बलियो भएको छ।” जलाशयकै कारण घोराही इको–टुरिज्मको हब बन्दै गरेको उनले सुनाए।
बहुआयामिक लाभ
पोहोर जेठ महीनाको पहिलो साता घोराही–१६ मघैका निर्मल चौधरीले धानको ब्याड राखे। तर रोपाइँ गर्ने बेला पानी परेन। “पहिले असारमा रोपाइँ सकिन्थ्यो, गएको वर्ष साउनको पहिलो सातासम्म पानी नपरेपछि जलाशयबाट पम्पसेटले पानी तानेर रोपाइँ शुरु गर्यौं”, उनले भने।
अहिले त्यही जलाशयको पानीबाट मघैका किसानको ५० बिघाभन्दा धेरै जमीनमा सिंचाइ भएको छ। “अहिले यो जलाशय सिंचाइको मात्र होइन, पशुपालनका लागि पनि आधार भएको छ”, निर्मल भन्छन्।
घोराही–१७, गुलरियाका दीपक चौधरीका अनुसार यस क्षेत्रको ३० बिघा जमीनमा यही जलाशयको पानीबाट सिंचाइ पुग्छ। ८ वर्ष अगाडि घोराही उपमहानगरपालिकाले करीब दुई बिघा क्षेत्रफलमा उक्त जलाशय बनाएको हो।
घोराही उपमहानगरपालिकाका ग्रामीण क्षेत्रमा सुख्खाको समस्या हुन थालेपछि शुरुमा चिस्यान भएका क्षेत्रमा ठूलो कृत्रिम जलाशय बनाउने योजना बनाइएको नगरप्रमुख नरुलाल चौधरीले बताए। शुरुमा ज्यामिरे दहलाई ठूलो र व्यवस्थित जलाशयको रूपमा विकास गरेको नगरपालिकाले विभिन्न वडामा ४४ वटा जलाशय बनाइसकेको छ।
कृत्रिम जलाशयकै कारण यो क्षेत्र चैत–वैशाखमा पनि हरियो देखिन थालेको नगरप्रमुख चौधरी बताउँछन्। “सिंचाइको मुख्य उद्देश्य राखेर जलाशय निर्माण गरियो तर, यसबाट बहुआयामिक फाइदा पुगेको छ” नगरप्रमुख चौधरी भन्छन्, “यी पोखरी पर्यटन, रोजगारी, जैविक विविधताको संरक्षण र विकासका लागि समेत आधार बनेका छन्।”
जलाशय निर्माण भएपछि युवा विदेश जाने क्रम घटेको र गएकाहरू पनि फर्किएको उनले बताए। जलाशयका कारण जमीनमा पानीको पुनर्भरण भएको, सुकेका कुवा र जरुवा रसाएको, माटोको उर्वराशक्ति बढेको उनले सुनाए।
“वर्षेनि देशका विभिन्न स्थानीय तहका प्रतिनिधिहरू जलाशय अवलोकनको लागि आइरहनुभएको छ। जलाशय वरपर घुम्न आउनेहरूको संख्या पनि बढेको छ” प्रमुख चौधरीले भने, “पर्यटकका कारण पसलको बिक्री बढेको छ, होटल, रेस्टुरेन्ट चलेका छन्।” पोखरीमा माछापालन र बोटिङ जस्ता कामबाट पनि स्थानीय बासिन्दाको आम्दानी बढेको छ।
घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडास्थित गंगटे जलाशयको छेउमै बनेको छ– ग्रीन फरेष्ट रिसोर्ट। शुरुमा यही जलाशयमा माछापालनबाट व्यवसाय शुरु गरेका वेदबहादुर वलीले पर्यटक बढ्न थालेपछि रिसोर्ट खोलेका हुन्। रिसोर्टबाट मासिक २ लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको उनी बताउँछन्।
उनको रिसोर्टमा खान, बस्न र सेमिनार–गोष्ठीसम्मको सुविधा उपलब्ध छ। वली भन्छन्, “यहाँको मुख्य आकर्षण लोकल कुखुरा र माछा हो। यहींकै कुखुराले नपुगेर रोल्पाबाट मगाउनुपर्छ।”
घोराही–१७ कर्जाही जलाशयको किनारमा शर्मिला चौधरीको नास्ता पसल छ। उनी भन्छिन्, “जलाशय बनेपछि धेरै मानिस यहाँ आउन थाले। त्यसपछि खाजा–नास्ता पसल खोलेकी हुँ।” यही व्यवसायका कारण छोराछोरीको पढाइ र घरखर्च सहज रूपमा चलिरहेको उनले सुनाइन्।
घोराहीमा बनेका ४४ वटा जलाशय किनारमा १५० भन्दा बढी किराना पसल, होटल र रिसोर्ट खुलेको उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेय बताउँछन्।
महेन्द्र बहुमुखी क्याम्पस, दाङका सहप्राध्यापक सुदर्शन रिजाल जलाशयका कारण जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलनमा ठूलो योगदान पुगेको बताउँछन्।
“जलाशय निर्माणपछि वरपरका सुकेका इनार र पँधेराहरूमा पानीको सतह बढेको छ” उनले भने, “दीर्घकालीन जल सुरक्षाको ग्यारेन्टी गरेको छ।” जलाशयका कारण विभिन्न प्रजातिका चरा देखिन थालेको र स्थानीय ‘माइक्रो–क्लाइमेट’ मा सुधार आएको उनले बताए। आर्थिक रूपान्तरण, सामाजिक न्याय, महिला सशक्तीकरण र वातावरणीय सन्तुलनमा पनि यी जलाशयले अप्रत्यक्ष प्रभाव पारेको उनको बुझाइ छ।
स्थानीय बासिन्दा विनोद केसी पनि जलाशयमा वरपर विभिन्न जीवजन्तु र चराचुरूङ्गी देखिन थालेको बताउँछन्। “जलाशयको वरिपरि हरियाली बढेको छ, चराहरूको वासस्थान सुरक्षित भएको छ”, उनले भने।
घोराहीका विभिन्न स्थानमा जलाशय निर्माण भएपछि जमीनमा पानीको पुनर्भरण (रिचार्ज) भई इनार र बोरिङको पानीको सतह बढेको स्थानीयवासीहरू बताउँछन्। “पहिले माघ–फागुन शुरु हुनासाथ कुवा र इनार सुक्थे” घोराही–१७, कर्जाहीकी तारा चौधरी भन्छिन्, “अहिले जेठ महीनासम्म पनि सुक्दैनन्।”
त्यस्तै, घोराही–१७ स्थित ढिकपुर जलाशय निर्माण भएपछि सुख्खायाममा खेतमा गाडिएका बोरिङहरूबाट पानी नआउने समस्या हटेको स्थानीय बासिन्दा जगवीर चौधरी बताउँछन्। “फागुन–चैतमा सुक्ने गरेको गाउँको कुवामा अहिले जेठसम्मै पानी हुन्छ”, उनले भने।
जलाशय निर्माण भएपछि पशुचौपायालाई पानी खुवाउन निकै सहज भएको घोराही–१६, मघैका नगेन्द्र चौधरी बताउँछन्। जलाशय नहुँदा पशुचौपायाका लागि पानीको ठूलो समस्या थियो। “पहिले घण्टौं लगाएर बबई नदी वा नजिकका खोलामा पुगेर गाईवस्तुलाई पानी खुवाउनुपथ्र्यो” उनले भने, “अहिले जलाशय बनेपछि त्यो झञ्झट छैन। त्यसैले गाउँमा फेरि पशुपालन बढेको छ।” समग्र कृषि प्रणालीमा सुधार ल्याउन र किसानको दैनिकी सहज बनाउन जलाशयको भूमिका रहेको उनको अनुभव छ।
२६ फागुन २०८२ को हिमालखबरमा प्रकाशित
थपखोज रिपोर्ट
नागरिकताविहिन छोरीहरु : कानूनले देऊ भन्छ, व्यवहारमा दिइँदैन
संविधान र कानूनले १६ वर्ष पुगेपछि बाबुआमाको नामबाट नागरिकता लिन पाउने व्यवस्था गरेको छ। तर बालविवाह गरेका किशोरीहरूलाई माइती ठेगानाको...
सुरक्षा भत्ताले असुरक्षित राउटे
विभिन्न सरकारी र दातृ संस्थाहरुले राउटेहरुको नाममा ‘करोडौं’ खर्च गरेका छन् । कैयौ आधारभूत सुविधाहरुबाट टाढै रहने स्वभावका राउटेहरुको बस्तीमा...
प्रतिक्रिया दिनुहोस्