मेनु

खोज रिपोर्ट

नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ

खेलाडी, खेलप्रेमीदेखि खेलकुदमा लगानी गर्न इच्छुक कर्पोरेट क्षेत्रसम्मको आत्मविश्वास ह्वात्तै बढाइदिएको नेपाल प्रिमियर लिग कसरी अपारदर्शी खेल र अनियमितताको दलदलमा फस्यो? को छन् यसका पछाडि?

काठमाडौँ– “राइट पर्सन इन राइट प्लेस हुँदा नतिजा के हुन्छ भन्ने एनपीएलले छर्लंग पारिदिएको छ।”

गत मंसिर–पुसमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)का सन्दर्भमा क्रिकेटप्रेमीमाझ यस्तो चर्चा केही समयसम्म चलिरह्यो।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपीएल र त्योसँग जोडिएको चर्चाको केन्द्रमा पारस खड्का थिए। पारस– नेपाली राष्ट्रिय क्रिकेट टोलीका सम्भवतः सर्वाधिक सफल कप्तान, मैदानमा आइलाग्ने जस्तोसुकै प्रतिकूलतामाझ पनि खेललाई आफ्नो पक्षमा मोड्न सक्ने भरपर्दा अलराउन्डर, अनि नयाँ पुस्तामा क्रिकेटप्रति ठूलो आकर्षण जगाउन सफल युवा रोलमोडल हुन्। उनकै नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ट्वेन्टीट्वेन्टी अन्तर्राष्ट्रिय (टी२०आई) मान्यता पायो। ट्वेन्टीट्वेन्टी क्रिकेटको त विश्वकप नै खेल्यो।

खेलाडीपछि क्रिकेट व्यवस्थापनमा होमिने उद्घोष गरेका पारस, त्यही योजनाअनुसार २०८० असोजमा क्यानको सचिव निर्वाचित भएका थिए। पदाधिकारीको यही भूमिकामा क्यानले एनपीएलको नेतृत्व (एनपीएल परिचालन परिषद् संयोजकको जिम्मेवारी) पारसलाई सुम्पियो।

नतिजा जगजाहेर छ– एनपीएलले क्रिकेटमा नयाँ चमक ल्याइदियो। सात प्रदेश र काठमाडौँ उपत्यकाको सांकेतिक प्रतिनिधित्व गरेका आठ टोलीमार्फत सबै प्रदेशमा एनपीएल अवधि उत्सवपूर्ण हुन पुग्यो। प्रतियोगिता अवधिभर त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरको रंगशाला दर्शकले खचाखच भयो। प्रसिद्ध टेलिभिजन च्यानल ‘स्टार स्पोर्ट्स्’मा पहिलोपटक नेपाली घरेलु लिगको प्रत्यक्ष प्रसारणले एनपीएललाई अन्तर्राष्ट्रियकरण गरिदियो।

टेलिभिजनबाहेक इन्टरनेट (युट्युब)मा ‘एक्सन स्पोर्ट्स् एचडी’बाट प्रसारण भएको फाइनल खेलको ‘रियल टाइम भ्युज’ नै तीन लाख ४६ हजार ७५१ थियो। युट्युबमा यो खेल ३७ लाख ८६ हजार ३७८ जनाले हेरे। नेपालमा संसारकै युनिक ‘फ्यान–बेस्ड क्रिकेट’ भएको चर्चा भइरहँदा एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) जस्ता संस्थालाई थप उत्साहित बनायो।

संसारले मान्ने क्रिकेट हस्ती ब्रायन लाराको उपस्थिति, अन्तर्राष्ट्रिय क्रिकेटमा हलचल ल्याइसकेका स्टार खेलाडीको सहभागिताले एनपीएललाई दुनियाँसामु चिनाएन मात्र, चर्चित खेलाडीसँग प्रशिक्षण (नेट अभ्यास) गर्न पाउँदा नेपाली क्रिकेट प्रतिभा फक्रने मौका पाए। जस्तो, आठ खेलमै १३ विकेट लिएर सनसनी मच्चाएका कर्णाली याक्सका १६ वर्षीय विपिन शर्मा। कर्णाली याक्सलाई क्वालिफायर–२ सम्म पुर्‍याउन योगदान दिएका यी ‘आइकनिक प्लेयर’ पहिलो सिजनकै इमर्जिङ प्लेयर बने जो अब राष्ट्रिय टोलीको भविष्य बन्नेछन्।

कर्णाली याक्सले आफ्नो क्षेत्रमा स्थानीय ‘आइकोनिक प्यलेर’ छान्न ‘ट्यालेन्ट हन्ट’ गर्दा भेटिएका हुन् विपिन। एनपीएलमा स्थानीय खेलाडीलाई अवसर दिँदै राष्ट्रिय टोलीलाई आवश्यक खेलाडी पूर्ति गर्न प्रत्येक टोलीले कम्तीमा एक स्थानीय खेलाडी टिममा राख्नैपर्ने यो बाध्यात्मक व्यवस्थाको नतिजा अब देखिँदै जानेछ।

एउटै टोलीले ६ देखि आठ करोड रुपैयाँ खर्च गरेको एनपीएलको समग्र कारोबार झन्डै एक अर्ब पुगेको अनुमान छ। ‘ब्रान्ड भ्याल्यु’ त झन्डै १० अर्ब रुपैयाँ पुगेको चर्चा सम्बद्धहरू गर्छन्। खेलाडीले आकर्षक पारिश्रमिकसहित प्रतिभा देखाउने प्लेटफर्म बनेको एनपीएलमा ठूला व्यापारिक घराना जोडिँदा नेपाली क्रिकेटको अभूतपूर्व व्यवसायीकरण पनि भयो।

एनपीएलका संयोजक पारसकै शब्दमा ‘नेपाली क्रिकेटको कद इतिहासकै शिखरमा पुगेको छ।’ “अहिले नै एनपीएलले नेपाली क्रिकेटमा के प्रभाव पार्छ भन्दा पनि प्रचुर सम्भावनाको ढोका खोलिदिएको छ”, पारस भन्छन्, “अब एनपीएलले नै अरू खेललाई उठाउँछ।”

यसबाट उत्साहित क्यानले गएको वैशाख ३१ गतेदेखि एनपीएलको दोस्रो सिजनको तयारीलाई अघि बढाएको छ।

तर, गएको हिउँदको सुख्खामा काठमाडौँको आकाशमा धुलो र धुवाँको बाक्लो तह जमेझैँ एनपीएलको पहिलो सिजनमाथि समेत अपारदर्शिता, बेथिति र मनोमानीका बाक्लो पत्र बसेको भेटिएको छ। हाम्रो खोजका क्रममा प्राप्त प्रमाणसहितका विभिन्न तथ्यले क्रिकेटप्रेमीको उत्साह र उमंगमा टेकेर एनपीएल पहिलो सिजनको सञ्चालनमा यति धेरै मनोमानी गरिएको देखिन्छ, जसले उब्जाएका प्रश्नको जवाफ सम्बद्धहरूले दिन सकेका छैनन्। आयोजकहरूमाथि भ्रष्टाचारको सुई तेर्स्याएका यी प्रश्नहरूको निरूपण नगर्ने हो भने समयक्रममा देशले गर्व गर्नलायक बनेको एनपीएलकै निरन्तरतामै बिराम लगाउन सक्छन्।

अपारदर्शिताको बीउ

२०८१ भदौ २०, लाजिम्पाटस्थित होटल दुसित प्रिन्सेसमा क्यान पदाधिकारी र केही व्यवसायीहरूको भेला थियो। मंसिर १५ देखि हुने एनपीएलका लागि टिम खरिद गर्न एक लाख रुपैयाँ तिरेर टेन्डरमा सहभागी १६ कम्पनी–व्यवसायीमध्ये शर्टलिस्टमा परेका १३ कम्पनी–व्यवसायी त्यहाँको बोलकबोलमा सहभागी थिए। सबैभन्दा महँगो टिम बनेको पोखरा एभेन्जर्सलाई सुबोध त्रिपाठीको नेपाल टी–ट्वन्टी प्राइभेट लिमिटेडले तीन करोड ५७ लाख रुपैयाँमा हात पार्‍यो।

एनपीएलकै महँगो टिम हात पार्ने त्रिपाठी को हुन्? खोज्दै जाँदा उनी दुई वर्ष पहिलेसम्म भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स्’सँग आबद्ध रहेको भेटियो, जसले २०७७ सालमा नेपाल टी२० लिग आयोजना गर्न क्यानसँग आठ वर्षका लागि ३२ करोड रुपैयाँको सम्झौता गरेको थियो। यही प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भएको, त्यसमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य (त्यो प्रतियोगितामा जनकपुर रोयल्सका खेलाडी) आदिल अन्सारीसहित पाँच जना संलग्न रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले देखायो। यसको योजनाकार नै सेभेन थ्री स्पोर्ट्स् रहेको खुल्यो।

यो कम्पनीका मालिक जतिन अल्हुवालिया सीआईबीको अनुसन्धानलगत्तै भागेर भारत पुगे र २०७९ माघ १७ गते उतैबाट एकतर्फी रूपमा सम्झौता रद्द गरेको पत्र इमेलमार्फत क्यानलाई पठाए। लगत्तै फागुन ७ गते सुर्खेतमा बसेको कार्यसमिति बैठकबाट क्यानले ‘सम्झौताअनुसार रकम नतिरेको’ निचोडसहित सम्झौता रद्द गर्दै सेभेन थ्री स्पोर्ट्स‍्लाई कालोसूचीमा राख्ने निर्णय गर्‍यो।

सेभेन-थ्री-स्पोर्ट्स‍्का-नेपाल-प्रतिनिधि-सुबोध-त्रिपाठीको-हस्ताक्षर-1750072680.jpg
सेभेन थ्री स्पोर्ट्स‍्का नेपाल प्रतिनिधि सुबोध त्रिपाठीको हस्ताक्षर

“मालिक नै भागेपछि सम्झौता रद्द गर्न सजिलो भयो,” क्यानका तत्कालीन सचिव प्रशान्तविक्रम मल्ल भन्छन्, “यो कम्पनीलाई कहिल्यै कुनै जिम्मेवारी नदिनेगरी कालोसूचीमा राख्यौँ।”

शुरूमै बिनाटेन्डर विदेशी कम्पनीलाई लिग सञ्चालनको जिम्मा दिएपछि क्यान नेतृत्व आलोचित भएको थियो। तर अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटकै हितमा काम गरेको दाबी गरेपछि विरोध त मत्थर भयो, पछि क्यानले नै त्यो कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने अवस्था आयो।

त्यही कम्पनीका प्रतिनिधिले एनपीएलमा सर्वाधिक महँगो पोखरा टिम हात पार्नुचाहिँ अनौठो थियो। त्रिपाठीले पोखरा एभेन्जर्स खरिद गर्नु पछाडिको प्रमुख स्रोत–शक्ति थियो– साढे दुई वर्षअघि (२०७९ मंसिर २८–पुस २७ मा) सम्पन्न विवादित नेपाल टी२० लिग। लिगमा सहभागी पाँच टिममध्ये स्वदेशी लगानी पोखरा एभेन्जर्समा मात्र थियो, त्रिपाठी पोखराका लगानीकर्ता थिए। कागजातमा भने पोष्टराज ज्ञवालीलाई अध्यक्ष र उनका छोरा आतिश ज्ञवालीलाई सीईओ राखिएको थियो। ज्ञवाली अध्यक्ष रहेको लुम्बिनी हेल्थकेयर ग्रुपका निर्देशक हुन्, त्रिपाठी।

एकातिर टिम मालिक, अर्कोतिर लिग सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीका नेपालस्थित हर्ताकर्ता जसले पाँच वटै टिमसँग आठ वर्षलाई सम्झौता गरेको थियो। क्यानले मूल कम्पनीसँगै सम्झौता रद्द गरेपछि उनीहरूको सम्झौता स्वतः खारेज भयो। 

बाँकी चार टिमका लगानीकर्तामध्ये ‘फार वेस्टर्न युनाइटेड’का मालिक इङ्ग्ल्यान्डको एसआर स्पोर्ट्स् एन्ड भेन्चर्सका रुपिन्दर बग्गा, ‘जनकपुर रोयल्स’का मालिक भारतको गोल्ड स्पोर्ट्स् प्रालिका गौरीशंकर धामनी, ‘विराटनगर सुपरकिंग्स’का मालिक भारतको डाइमन्ड डिगिक्याप स्पोर्ट्स् प्रालिका विक्रम यादव, ‘लुम्बिनी अल स्टार्स’का मालिक अमेरिकाको अल स्टार्स स्पोर्ट्स‍्का सञ्जय शर्मा थिए।

केही समय अघिसम्म क्यानको महाप्रबन्धक रहेका बृतान्त खनालका अनुसार त्रिपाठीले पोखरा टिम नपाएको भए एनपीएललाई शुरू नहुँदै संकटमा पारिदिन सक्थे। “नेपाल टी२० लिगमा गरेको लगानी फसेकाले त्रिपाठी अदालत जान सक्थे। त्यसबेलाको सम्झौतालाई बार्गेनिङ टुल बनाएर उनले पोखरा हात पारे,” खनाल भन्छन्।

खनालका अनुसार क्यान नेतृत्वसमेत आफ्ना बदमासी खुल्ने डरमा थियो। “हुन नसकेको लिगले बदनामी ब्यहोरिसकेको थियो, खाटा बसेको घाउ पुनः उप्किन सक्थ्यो,” उनले भने, “त्यहीकारण क्यान पदाधिकारीहरूले देखावटी प्रक्रिया अपनाएर त्रिपाठीलाई पोखरा टिम सुम्पे।”

त्रिपाठीले तीन दिनअघि, २०८१ भदौ १७ गते पत्रकार सम्मेलन गरेर ‘बिनाप्रतिस्पर्धा पोखरा एभेन्जर्स आफूलाई दिनुपर्ने’ बताएका थिए। नेपाल टी२० लिग हुँदा आफ्नो स्वामित्वको पोखरा एभेन्जर्सलाई एनपीएलको फ्रेन्चाइजी टोलीमा स्वतः रूपान्तरण गरिदिनुपर्ने उनको जिकिर थियो, “हामीले नेपाल टी२० लिगमा चार करोड रुपैयाँ खर्च गरिसकेका छौँ, त्यसको सुरक्षा हुनुपर्‍यो।”

press-meet-pokhara-hamrokhelkud-FB_IMG_1725202795353-1750072786.jpg
२०८१ भदौ १७ गते सुबोध त्रिपाठीले गरेको पत्रकार सम्मेलन

क्यानले कालोसूचीमा राखेको कम्पनीका प्रतिनिधि त्रिपाठी एनपीएलको टेन्डरमै कसरी सहभागी भए भन्नेबारे अहिलेसम्म बुझ्नै नसकेको क्यान कार्यसमिति सदस्य दुर्गाराज पाठक बताउँछन्। “यसमा गम्भीर त्रुटि भएको छ, एनपीएल परिचालन परिषद्ले जवाफ दिनुपर्छ,” उनले भने, “त्यही कम्पनीको प्रतिनिधि भएको नाताले उनैलाई टिम सुम्पिनु हुँदैनथ्यो। यसमा क्यान चुक्यो।”

एनपीएल परिचालन परिषद् सदस्य रहेका क्यान कोषाध्यक्ष पदमबहादुर खड्काले भने पारदर्शी बिडिङ प्रक्रियामार्फत् त्रिपाठीलाई पोखरा एभेन्जर्स बिक्री गरिएको दाबी गरे, “सबैले गोप्य रूपमा रकम लेखेर आउनुभएको हो। पोखरामा सुबोधजीले सबैभन्दा धेरै रकम राखेकाले पाउनुभयो। त्यतिबेला उहाँ केहीको प्रतिनिधि भएको मलाई जानकारी थिएन।”

खोपकेसँगको कुराकानीमा त्रिपाठीले नेपालमा डिजिटल टीभीहरूको शुरूआती सेटअपमा आफू जोडिएको, आफ्ना साझेदार ध्रुव शर्मा अहिले नेपालमा सोनी र जी टीभीको डिस्ट्रिब्युसनमा संलग्न रहेको, त्यहीक्रममा जतिन अल्हुवालियासँग जोडिएको बताए। जतिनभन्दा पनि उनका व्यापारिक साझेदार अभिषेक चाक्लानी आफ्नो साथी रहेको दाबी गर्दै त्रिपाठीले उनले नेपालमा क्रिकेट आयोजना गर्ने कुरा गरेको, त्यहीक्रममा आफू सेभेन थ्री स्पोर्ट्स‍्सँग जोडिएको बताए।

पोखरा टिम खरिद गर्नुभन्दा एक–डेढ महिना पहिल्यै आफू सेभेन थ्री स्पोर्ट्स‍्को नेपाल प्रतिनिधिबाट अलग्गिएको दाबी उनले गरे।

त्यसको आधारचाहिँ के छ त? भन्ने हाम्रो प्रश्नको जवाफमा त्रिपाठीले भने, “त्यतिबेलाको के कुरा डकुमेन्टेड छ? त्यो बेला के भएको थियो भन्ने मलाई भन्दा आयोजकलाई सोध्नुपर्ला।”

त्रिपाठीले उच्च रकम प्रस्ताव गरेर पोखरा टिम पाएको दाबी गर्दै त्यसका लागि क्यानसँग बार्गेनिङ गरेको स्वीकारे। “पत्रकार सम्मेलन र कैयौँ अन्तर्वार्तामै बोलेको छु, क्यानलाई चिठ्ठी लेखेरै मैले मुद्दामामिलामा जाने कि समझदारी गर्ने भनेको थिएँ। मुद्दामा गएको भए एनपीएल रोकिन्थ्यो। समझदारीमा जाने र १० वर्षका लागि पोखरा टिम पाउने भएपछि यसलाई नबिगारौँ भन्ने भयो,” उनले भने।

आफूमाथि तेर्सिएका प्रश्नमा आक्रामक देखिएका त्रिपाठीले प्रष्टीकरण दिए, “मेरो ब्याकग्राउन्ड इन्जिनियरिङ हो, एशियाली विकास बैंक (एडीबी), विश्व बैंकको कन्सल्ट्यान्ट भएर काम गरिसकेको छु। आज मेरो बिजनेसमा विश्वका टप ब्रान्डहरू छन्। म दुनियामा सबैभन्दा पहिले कम्प्युटर बनाउने कम्पनी आईबीएमको नेपालमा कोर्स डिस्ट्रिब्युसन गर्छु। हामी त्यो कम्पनीका एआई, साइबर सेक्युरिटी र ब्लक चेनका तीन वटा कोर्स गराउँछौँ। मेरो लुम्बिनी र मेटा हेल्थकेयरले स्वास्थ्य उपकरण आयात गर्छ।”

एनपीएलको सबैभन्दा महँगो पोखरा टिम किन्ने आयस्रोतबारे उनले प्रतिप्रश्न गरे, “तपाईं ट्याक्सको मान्छे हो? किन मेरो आयस्रोत भन्ने?” उनले नेपालभित्रका स्पोन्सरबाट त्यति आशा नलागेर डाबर नेपाल र पेप्सी (सम्भवतः नेपाली उत्पादक वरुण वेभरेज)का प्रमुख कार्यकारी अधिकृतसँग प्रस्ताव राखेको, उनीहरू सहमत नभएपछि प्रायोजकका रूपमा जर्सीमा विज्ञापन नराखिएको, बरु ‘ग्लेसियर म्याटर्स’ लेखेर ठूलो सन्देश दिइएको दाबी गरे। 

तर, हाम्रो खोजका क्रममा भेटियो, पोखरा–२८ का स्थायी वासिन्दा त्रिपाठीलाई अधिकांश स्थानीय वासिन्दाले चिन्दा रहेनछन्। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भने, “आजसम्म न उहाँको व्यवसायबारे थाहा छ, न मेरो भेटघाट भएको छ। संघको सदस्य पनि हुनुहुन्छ कि हुनुहुन्न थाहा भएन।”

उनी संघको सदस्य भए–नभएकोबारे बुझ्न हामीले पोखरा उद्योग वाणिज्य संघमा सम्पर्क गर्दा प्रशासन फाँटबाट जवाफ पायौँ, “उहाँको नाम सूचीमा भेटिएन।”

एनपीएलअघि शुरू भएको खेल

२०८० पुस १९ गते एनपीएल घोषणा गरेको क्यानले त्यसको करिब १० महिनापछि, २०८१ असोज १० गते कार्यसमिति बैठकबाट पारस खड्का संयोजक तथा पदमबहादुर खड्का र सुदीप शर्मा सदस्य रहेको एनपीएल परिचालन परिषद् गठन गरेको थियो। परिषद् बन्नुअघि पारस नै एनपीएल तयारीमा प्रमुख हर्ताकर्ता थिए।

“त्रिपाठीले पोखरा टिम हात पारेपछि केही कुरा बाहिर आउन थाले, तर त्यसअघि नै खेल चलिरहेका थिए,” क्यान स्रोत भन्छ, “त्रिपाठीको मात्र के कुरा, यहाँभित्र गोलमाल नै गोलमालको जालो छ।”

के हो त त्यो गोलमालको जालो? यो बुझ्न एनपीएलको कमर्सियल राइट्स् कसरी दिइयो भन्ने प्रकरण बुझ्नुपर्ने हुन्छ।

परिषद् गठनको चार दिनपछि, २०८१ असोज १४ गते क्यानले एनपीएलको ‘कमर्सियल राइट्स’ ब्रान्ड डिजिटल लजिक नामको कम्पनीलाई बिक्री गरेको र ट्वेन्टी फर्स्ट सेन्चुरी स्पोर्ट्स् मार्केटिङ नामको कम्पनीलाई ‘इभेन्ट स्ट्राटेजी एन्ड मार्केटिङ कन्सल्ट्यान्ट’ नियुक्त गरेको सूचना निकाल्यो। ब्रान्ड लजिकलाई बोलकबोलबाट पाँच करोड ९२ लाख रुपैयाँमा कमर्सियल राइट्स् बिक्री गरेको क्यानको दाबी थियो।

सार्वजनिक खरिद ऐन २०६३ मा खुला रूपमा आह्वान गरिने बोलपत्र दुई चरणमा आह्वान गर्नुपर्ने, त्यसको सूचना राष्ट्रियस्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ। क्यानले २०८१ भदौ २६ गते कमर्सियल राइट्स् बिक्रीका लागि ‘द हिमालयन टाइम्स’मा प्रकाशन गरेको बोलपत्रमा इच्छुक कम्पनीलाई प्रस्ताव पेश गर्न दुई दिनको समय (शनिबार छाडेर) दिएको थियो। सार्वजनिक खरिद ऐनको दफा १४ (४) ले कम्तीमा ३० दिन समय दिइनुपर्ने व्यवस्था गरे पनि क्यानले भदौ ३० गते दिउँसो तीन बजेपछि प्राप्त हुने दाबी स्वीकृत नहुने बोलपत्रमै उल्लेख गरेको थियो।

BID-Rights-Published-in-Newspaper-1750072881.jpeg
क्यानले बिडिङका लागि खुलाएको विज्ञापन।

शिक्षा मन्त्रालयसँगै विभिन्न सरकारी निकाय–कार्यालयको खरिद प्रक्रियामा काम गरिसकेका मधेश विश्वविद्यालयमा डीन डा. अन्जयकुमार मिश्र एक महिनाभन्दा कम समय दिइएको बोलपत्र वैधानिक हुनैनसक्ने बताउँछन्। बोलपत्रका लागि दाबी प्रस्ताव तयार गर्नै कम्तीमा १५ दिन लाग्ने र विशेष अवस्थाबाहेक कुनै बोलपत्रमा एक महिनाभन्दा थोरै समय दिन नमिल्ने उनले बताए। सरकारी खरिद प्रक्रियाका जानकार मिश्र भन्छन्, “यदि त्यस्तो भएको छ भने मिलेमतो वा पहिल्यै सेटिङ भएको बुझ्नुपर्छ।”

अचम्म त दुई दिन समय दिइएको बोलपत्रमा जम्मा एउटा प्रस्ताव पेश भयो, त्यही ब्रान्ड लजिकको। ठूला विज्ञापन एजेन्सीहरूले भेउ नै पाएनन्। नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले निश्चित कम्पनीलाई ठेक्का दिने पूर्वयोजनाअनुसार क्यानले टेन्डरको औपचारिकता मात्र पूरा गरेको बताए। “यत्रो वर्षदेखि यो क्षेत्रमा छौँ, म मात्र नभई मैले चिनेका कसैले थाहा पाएनन्,” थापाले भने, “ब्रान्ड लजिकको त नामै सुनेको थिइनँ। सोधीखोजी गर्दा त्यो स्तरको ठेक्का पाउने क्षमता नभएको पाएँ।”

प्रिज्मा एड्भर्टाइजिङका संस्थापक, नेपाल विज्ञापन संघका कार्यसमिति सदस्य रन्जित आचार्यले पनि क्यानको बोलपत्रबारे थाहा नपाएको बताए। “बोलपत्र कुन पत्रिकामा आउँछ, कसरी आउँछ, त्यसैबाट नियत प्रष्ट हुन्छ नि,” व्यंग्य गर्दै उनले भने।

कम्पनी रजिस्ट्रारको कार्यालयको विवरणअनुसार ‘ब्रान्ड लजिक’ आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएको कम्पनी हो। रोशन निरौला अध्यक्ष रहेको कम्पनीमा नौ जना शेयरधनी र जम्मा पुँजी २५ लाख रुपैयाँ छ। पछिल्लो लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ सम्म कम्पनीको संचित घाटा ३० लाख ९३ हजार १०९ रुपैयाँ छ। प्रतिवेदनमा उल्लेख भएअनुसार उसको दायित्व एक करोड ७१ लख ९९ हजार ८९७ रुपैयाँ पुगेको छ।

एनपीएल सकिएको एक महिनापछि कम्पनीको ‘हेड अफ कन्टेन्ट’ पदबाट राजीनामा दिएका निकेश आचार्यका भनाइमा एनपीएलको कमर्सियल राइट्स् आफैले पाउनेमा निरौला ढुक्क थिए। “एनपीएलको कमर्सियल राइट्स् पाउनुअघि नै रोशन सरले हामी पाउँदैछौँ भनेर अफिसमा भन्नुभएको थियो,” आचार्यले भने, “अफिसको अवस्था हेर्दा त्यत्रो पैसा तिर्न सक्ने लाग्दैन। मैले बुझेअनुसार पारस (खड्का) दाई र उहाँबीच केही डिल भएको हुनुपर्छ।”

आचार्यले भनेझैँ पारस र निरौलाको सम्बन्ध ब्रान्ड लजिक स्थापनादेखिकै हो। निरौला २०७७ सालअघि ‘हाईलाइटस् नेपाल’ नामको संस्थामा काम गर्थे जो कन्टेन्ट क्रिएसन, नयाँ गीत र चलचित्रको प्रमोसनमा काम गर्छ। २०७७ साउन ९ गते उनले आफ्नै कम्पनी ब्रान्ड लजिक स्थापना गरे। यो कम्पनीबाट विज्ञापन निर्माणका लागि उनी सेलेब्रिटीहरू प्रयोग गरिरहन्थे। त्यहीक्रममा ‘म्याजिक फुटवेयर’को विज्ञापन बनाउन यो कम्पनीले पारस खड्कालाई छान्यो। पारसले विज्ञापन मात्र खेलेनन्, म्याजिक फुटवेयरको ब्रान्ड एम्बेस्डर नै बने (अहिले पनि छन्)। त्यहीँबाट पारस–निरौला सम्बन्ध बाक्लिएको एनपीएल शुरू हुनु अघिसम्म ब्रान्ड लजिकका एक सेयरधनी राजेन्द्र देसार बताउँछन्।

“विज्ञापनका लागि पारस खड्कालाई रोशनजीले नै अप्रोच गर्नुभएको थियो,” राजेन्द्र भन्छन्, “त्यसपछि प्रिमियर स्टिलको विज्ञापन पनि खेल्नुभयो। पछि ब्रान्ड लजिकसँग मिलेर ३–४ वटा अरू विज्ञापनमा काम गर्नुभयो।”

राजेन्द्रका अनुसार पारस समय–समयमा ब्रान्ड लजिकको कार्यालय आइरहन्थे।

निरौला भने प्रक्रिया पूरा गरेर सबैभन्दा बढी रकम प्रस्ताव गरेपछि कमर्सियल राइट्स् पाएको दाबी गर्दै भन्छन्, “पहिल्यै त कसरी थाहा हुन्छ भन्या? यो सब नचाहिने कुरा हो।”

ब्रान्ड-लजिकले-एनपीएलको-कमर्सियल-राइट्स्-पाएपछि-रोशन-निरौला।-1750072964.jpg
ब्रान्ड लजिकले एनपीएलको कमर्सियल राइट्स् पाएपछि रोशन निरौला।

सम्झौताअनुसार क्यानले ब्रान्ड लजिकसँग सम्झौता गरेकै दिन कुल रकमको २५ प्रतिशत (एक करोड २८ लाख ८८ हजार ८८९ रुपैयाँ) र एनपीएल शुरू भएको १५ दिनपछि थप २५ प्रतिशत रकम भुक्तानी गर्नुपर्ने थियो। बाँकी ५० प्रतिशत (दुई करोड ५७ लाख ७७ हजार ७७७ रुपैयाँ) एनपीएल सकिएको एक महिनापछि भुक्तानी गर्नुपर्नेगरी भएको सम्झौतामा क्यानबाट पारस र ब्रान्ड लजिकबाट निरौलाको हस्ताक्षर छ।

निरौलाले सम्झौताअनुसार सबै पैसा तिरिसकेको दाबी गरे पनि क्यान कोषाध्यक्ष पदम खड्का भन्छन्, “पाँच करोडमध्ये लगभग चार करोड आइसकेको छ, बाँकी पनि आउला। सम्झौतामा लेखिएपनि हामीले व्यावहारिक पक्ष पनि हेर्नुपर्छ।”

विज्ञापन बोर्डले नचिन्ने ब्रान्ड लजिक

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार विज्ञापन एजेन्सीहरू विज्ञापन बोर्डमा सूचीकृत हुनुपर्छ। तर बोर्डमा दर्ता–सूचीकरण बेगर नै ब्रान्ड लजिकले क्यानसँग सम्झौता गरेको भन्दै एनपीएल सकिएको चार दिनपछि, २०८१ पुस ११ गते बोर्डले पत्र काट्यो।

“त्यस एजेन्सी र नेपाल क्रिकेट संघबीच कुन शर्तमा सम्झौता भएको हो? कुन–कुन संस्थाले विज्ञापन प्रकाशन, प्रसारण र प्रर्दशन गरेका थिए? ...एजेन्सी बोर्डमा सूचीकृत भएको प्रमाणपत्रको प्रतिलिपिका साथै नेपाल क्रिकेट संघ र त्यस एजेन्सीबीच भएको सम्झौताप्रति एवं त्यस एजेन्सी र एनपीएलमा विज्ञापन गर्ने विज्ञापनदाताहरूबीच भएका सम्झौताका प्रतिलिपिहरू संलग्न गरी सात दिनभित्र जवाफ पेश गर्नुहुन आदेशानुसार अनुरोध छ,” बोर्डको पत्रमा उल्लेख छ।

विभिन्न-मितिमा-विज्ञापन-बोर्डले-क्यानलाई-पठाएका-पत्र।-1750073105.jpg
विभिन्न मितिमा विज्ञापन बोर्डले क्यानलाई पठाएका पत्र।

तर ब्रान्ड लजिकले वास्ता नगरेपछि बोर्डले तारन्तार तीन वटा पत्र पठाएर आफै उपस्थित हुन भन्यो। त्यसपछि मात्र निरौला माघ २४ गते बोर्डमा उपस्थित भए। बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं भन्छन्, “जबाफदेहिता पनि नभएको साह्रै आलोकाँचो मान्छे हुनुहुँदो रहेछ। डेढ महिनापछि आउँदा पनि पत्र नलिई आउनुभएको थियो।”

ब्रान्ड लजिक आफ्नै बुतामा एनपीएलमा जोडिएको कुरामा शंका उब्जिने भन्दै हुमागाईँले थपे, “पक्कै पछाडि कोही हुनुपर्छ।”

आवरणमा ब्रान्ड लजिक, भित्र टीसीएम

क्यानले २०८१ असोज १४ मा एनपीएलको कमर्सियल राइट्स् ब्रान्ड लजिकलाई बिक्री गरिएको विज्ञप्ति निकाले पनि उनीहरूबीच आठ दिनअघि, असोज ६ मै सम्झौता भइसकेको कागजातले देखाउँछन्। अनौठोचाहिँ, त्यसबेला पारस एनपीएल परिचालन परिषद्को संयोजक तोकिएकै थिएनन्। तर क्यानबाट सम्झौतामा पारसकै हस्ताक्षर छ। विज्ञप्तिमा ब्रान्ड लजिकले पाँच करोड ९२ लाख रुपैयाँमा राइट्स् किनेको भनिए पनि सम्झौतामा जम्मा पाँच करोड १५ लाख ५५ हजार ५५५ रुपैयाँ उल्लेख छ।

निरौलाले कर कट्टापछि पाँच करोड १५ लाख ५५ हजार ५५५ रुपैयाँ भएको दाबी गरे। तर सम्झौतामा करबारे केही उल्लेख नभएकाले कर तिरेको यकिन हुँदैन। आयकर ऐन २०५८ को दफा ८९ मा ठेक्का वा करारबापत ५० हजारभन्दा बढी रकम भुक्तानी गर्दा कुल रकमको १.५ प्रतिशत कर कट्टी गर्नुपर्ने, मूल्य अभिवृद्धि कर ऐनअनुसार १३ प्रतिशत भ्याट तिर्नुपर्ने उल्लेख छ। ऐनअनुसार कर तिरिएको हो भने १४.५ प्रतिशतको दरले कर कट्टा गरेर ५ करोड १६ लाख तीन हजार ५३९ रुपैयाँ हुनुपर्थ्यो, जुन सम्झौतामा उल्लेख रकमसँग मिल्दैन।  

थप अनौठो, ब्रान्ड लजिकले क्यानसँग सम्झौता हुनुभन्दा दुई दिनअघि, असोज ४ मै यो राइट्स् टीसीएम स्पोर्ट्स् मार्केटिङ कम्पनीलाई बेचिसकेको थियो। ब्रान्ड लजिक र टीसीएमबीच भएको सम्झौतापत्रमा ब्रान्ड लजिकले टीसीएमलाई क्यानसँगको सम्झौता अनुरूपकै रकम (पाँच करोड १५ लाख ५५ हजार ५५५ रुपैयाँ) लिएर कमर्सियल राइट्सको ‘सब लाइसेन्स’ दिएको उल्लेख छ। सम्झौतामा टीसीएमले ब्रान्ड लजिकलाई एक करोड रुपैयाँ दिनुपर्ने, ब्रान्ड लजिकले ल्याउने विज्ञापनहरूमा टीसीएमले १० प्रतिशत कमिसन दिनुपर्ने उल्लेख छ। टीसीएमको तर्फबाट उमेश लखमणि र ब्रान्ड लजिकबाट निरौलाले हस्ताक्षर गरेको सम्झौतामा टीसीएम क्यानप्रति नभई ब्रान्ड लजिकप्रति जिम्मेवार हुने उल्लेख छ।

क्यानले-ब्रान्ड-लजिक-र-ब्रान्ड-लजिकले-टीसीएमलाई-कमर्सियल-राइट्स-बेचेको-सम्झौतापत्र।-1750073203.jpg
क्यानले ब्रान्ड लजिक र ब्रान्ड लजिकले टीसीएमलाई कमर्सियल राइट्स बेचेको सम्झौतापत्र।

निरौलाले हामीसँग भने टीसीएमसँग सम्झौता नै नभएको दाबी गरे। “मैले कुनै सम्झौतामा हस्ताक्षर गरेको छैन, सहकार्य मात्र गरेको हो,” उनले भने, “के गर्‍यौँ, कति लेनदेन भयो, सबै भनिरहन आवश्यक ठान्दिनँ।”

टीसीएम स्पोर्ट्स् मार्केटिङ नेपालमा दर्ता भए पनि यसका संस्थापक शेयरधनी भारतीय नागरिक सत्यसाई प्रकाश सुङ्कु र उमेश लखमणि रहेको कम्पनी रजिस्ट्रारको कार्यालयको विवरणमा देखिन्छ। हामीले अहिले दुबईमा बस्ने लखमणिसँग सम्पर्क गर्‍यौँ। ह्वाट्सएपमार्फत् कुराकानी हुँदा उनले परिचय सोधे, त्यसपछि कुरा गर्न चाहेनन्।

टीसीएमको मूल कम्पनी भारतको ‘टीसीएम स्पोर्ट्स् म्यानेजमेन्ट’ हो जसले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँगको सहकार्यमा अन्तर्राष्ट्रिय खेल व्यवस्थापनसम्बन्धी काम गर्छ। दिल्ली, मुम्बई, बेंगलुरु र दुबईमा समेत कार्यालय रहेको कम्पनीको प्रबन्ध निर्देशक लोकेश शर्मा हुन्।

नेपालमा-दर्ता-भएको-टीसीएम-कम्पनी।-1750073289.jpg
नेपालमा दर्ता भएको टीसीएम कम्पनी।

पारसले शर्मासँग इन्डोनेसियाको बालीमा आयोजित आईसीसी बैठकका क्रममा भेटेको, क्यान अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई लोकेशसँग परिचय गराएको बताएका छन्। “स्पोन्सरहरूसँग जोडिन मद्दत गर्नुपर्‍यो भनेका थियौँ, एनपीएल गर्नेबारे पनि सल्लाह भयो,” देशसञ्चार डटकमको देशसञ्चार चौतारी कार्यक्रममा खड्काले भनेका छन्, “ब्याकग्राउन्ड परीक्षण गर्दा ३८ वर्षदेखि काम गरेको बलियो कम्पनी देखियो। त्यसैले सहकार्य गर्‍यौँ।”

क्यानले ब्रान्ड लजिक र ‘इभेन्ट स्ट्राटेजी एन्ड मार्केटिङ’लाई एकै दिन भित्र्याएको थियो। तर भदौ २५ मा इभेन्ट स्ट्राटेजी एन्ड मार्केटिङलाई कन्सल्ट्यान्टका रूपमा भित्र्याउन क्यानले आह्वान गरेको बोलपत्रमा प्रस्ताव पेश गर्ने मिति र समयसीमा उल्लेख छैन। सार्वजनिक खरिद नियमावलीको नियम ७० अनुसार सार्वजनिक निकायले १० लाख रुपैयाँभन्दा बढीको परामर्श सेवा खरिद गर्दा ऐनको दफा ३० बमोजिम सूचना प्रकाशन गरेर आसयपत्र माग्नुपर्छ।

ऐनको दफा ३० मा ‘तोकिएको रकमभन्दा बढी रकमको परामर्श सेवा खरिद गर्नुपर्ने भएमा सार्वजनिक निकायले त्यस्तो परामर्श सेवा दिन इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट सोसम्बन्धी आसयपत्र संकलन गर्न कम्तीमा १५ दिनको अवधि दिई राष्ट्रियस्तरको समाचारपत्रमा तोकिएबमोजिमका कुराहरू खुलाई सूचना प्रकाशन गर्नुपर्ने’ उल्लेख छ।

टीसीएमसँग त यही पनि गरिएन। संसारका थुप्रै मिडियाहरूसँगको सहकार्यमा इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले २०१६ अप्रिल ७ मा खुलासा गरेको ‘पनामा पेपर्स’ खोज रिपोर्टका अनुसार टीसीएमको शतप्रतिशत लगानी रहेको ‘पेपर मिन्ट म्यानेजमेन्ट कर्प लिमिटेड’ ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डमा दर्ता छ। इन्डियन एक्सप्रेसमा प्रकाशित रिपोर्टअनुसार टीसीएमबाहेक लोकेश शर्मा एकल शेयरधनी भएका थप दुई वटा कम्पनीहरू मार्गारिटा सर्भिसेज लिमिटेड (२०११ जुलाईमा) र मार्दी ग्रास होल्डिङ्स लिमिटेड (२०१५ अप्रिलमा) ब्रिटिश भर्जिन आइल्यान्डमै दर्ता भएर सञ्चालनमा छन्।

टाइम्स अफ इन्डियाको अर्को रिपोर्टअनुसार सन् २०१५ मा टीसीएमले दिल्ली क्रिकेट एसोसियनद्वारा आयोजित खेलमा ठूलो कमिसन लिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट ईन इन्डिया (बीसीसीआई)ले त २०१५ को आईपीएलमा घाटा पुर्‍याउने काम गरेको भन्दै टीसीएमलाई २५ लाख भारतीय रुपैयाँ जरिबाना गरेको थियो।

प्रक्रिया छलेर ‘स्टार स्पोर्ट्स्’लाई प्रसारण जिम्मा

एनपीएल खेल्ने आठ टिममा भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गप्टिल र जीमी निशम, वेस्टइन्डिजका एन्डरसन फिलिपदेखि पाकिस्तानका हुसेन तलातसम्म अनुबन्धित हुँदा एनपीएलको चर्चा अकासिएको थियो। २०८१ कात्तिक ३० गते एनपीएल ‘स्टार स्पोर्ट्स्’बाट प्रत्यक्ष प्रसारण हुने टुंगो लागेपछि त क्रिकेटप्रेमीमा उत्साहको सीमा रहेन।

स्टार स्पोर्ट्स् एनपीएलमा कसरी आयो? यसमा क्यान सचिव पारसकै प्रमुख भूमिका रहेको चर्चा चलेको थियो। कात्तिक ३० गतेको पत्रकार सम्मेलनमा पारसले नै एनपीएल स्टार स्पोर्ट्स‍्बाट प्रसारण हुने बताएका थिए।

ब्रान्ड लजिकसँगको सम्झौताअनुसार एनपीएलको प्रसारण अधिकार ऊसँगै हुन्थ्यो। यसबारे सार्वजनिक खरिद अनुगमन कार्यालयले मंसिर १२ गते क्यानलाई पत्र काटेर सोध्यो, “नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण अधिकार खरिदका लागि कम्पनी/फर्म छनोट के कसो भएको हो, प्रमाणित कागजात सात दिनभित्र यस कार्यालयलाई पठाइदिनुहुन आदेशानुसार अनुरोध छ।”

सार्वजनिक-खरिद-अनुगमन-कार्यालयको-पत्र।-1750073372.jpg
सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्र।

क्यानले पत्रको जवाफ नै नदिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता रामबन्धु सुवेदी बताउँछन्। 

एनपीएल परिचालन परिषद् सदस्य रहेका क्यान कोषाध्यक्ष पदमबहादुर खड्काले स्टार स्पोर्ट्स‍्लाई ब्रान्ड लजिकले नै ल्याएको दाबी गरे। “उसले कतिमा ल्यायो, त्यो क्यानको सरोकारको विषय भएन। धेरैलाई टीसीएमले ल्याएको भ्रम छ, टीसीएम हाम्रो कन्सलट्यान्ट मात्र थियो,” खड्काले भने, “परामर्श सेवा लिएबापत टीसीएमसँग ८५ लाख रुपैयाँको डिल गरेका थियौँ।”

तर टीसीएमले कात्तिक २९ गते क्यानलाई ९२ हजार ५०० अमेरिकी डलर (त्यसबेलाको सटही दरअनुसार करिब एक करोड २४ लाख ८७ हजार रुपैयाँ) को बिल पठाएको टीसीएम दुबई शाखाको ‘इन्भोइस’मा देखिन्छ। बिल हेर्दा पहिलो ५० प्रतिशत किस्ता रकम बुझिन्छ जसमा ‘५० पर्सेन्ट ब्रोडकास्ट प्रोडक्सन कस्ट फर नेपाल प्रिमियर लिग २०२४’ लेखिएको छ।

टीसीएम-दुबई-कार्यालयबाट-क्यानलाई-आएको-इन्भोइस।-1750153885.jpg
टीसीएम-दुबई-कार्यालयबाट-क्यानलाई-आएको-इन्भोइस।

क्यान कोषाध्यक्ष खड्काले बिलबारे थाहा नभएको, त्यसको क्यानसँग सरोकार नभएको दाबी गरे। “कसले कहाँबाट लिक गर्‍यो, हामीलाई थाहा भएन। त्यो फर्जी हो,” उनले भने, “पहिला कुनै चरणमा कुरा हुँदा केही बिल बने होलान्। तर एनपीएलका लागि होइन, ढुक्क भए हुन्छ।”

‘ढुक्क भए हुन्छ’ भन्नेबाहेक उनले केही आधार दिएनन्।

अनौठो त भारतको टीसीएमअन्तर्गत नै नेपालमा दर्ता टीसीएम कम्पनी एनपीएलमा प्रत्यक्ष संलग्न देखिए पनि भुक्तानीका लागि बिल भने दुबईबाट आएको छ। जबकि, राष्ट्रिय खेलकुद विकास ऐनको दफा ४४(२) मा ‘राष्ट्रिय खेल संघ वा प्रदेश र स्थानीयस्तरका खेलसम्बन्धी संस्था वा निकाय तथा विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ–संस्था, विदेशी संस्था वा व्यक्तिसँग सम्झौता गर्दा राष्ट्रिय खेलकुद परिषद्‍मार्फत नेपाल सरकारको स्वीकृति लिनुपर्ने’ उल्लेख छ।

ब्रान्ड लजिकका निरौलाले स्टार स्पोर्ट्स‍्लाई आफैले ल्याएको दाबी गर्दै भने, “कति पैसामा ल्यायौँ, किन ल्यायौँ र कति तिर्‍यौँ, यो सोधिरहने प्रश्न होइन।”

विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ को दफा ५ को उपदफा (२) मा लेखिएको छ, “कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बैंकबाट इजाजतपत्र नलिई नेपाली मुद्रा वा इजाजतप्राप्त व्यक्तिबाट प्राप्त गरेकोबाहेक अरू विनिमय नेपालको कुनै इलाकाबाट बाहिर लिएर जान वा पठाउन हुँदैन।”

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख रेवतीप्रसाद नेपालले क्यान वा ब्रान्ड लजिकले टीसीएमलाई भुक्तानी गर्न राष्ट्र बैंकबाट कुनै स्वीकृति नलिएको बताए। “अम्पायर, कमेन्टेटरका लागि क्यानबाट र विदेशी खेलाडीहरूलाई भुक्तानी गर्न टिमहरूबाट पत्र आए पनि टीसीएम नामको कम्पनीका लागि कुनै पत्र आएको मेरो नोटिसमा छैन,” उनले भने।

गैरकानूनी ‘बेटिङ एप’लाई प्लाटफर्म

एनपीएल शुरू भएकै दिन विभिन्न ब्रान्डका विज्ञापनले झकिझकाउ त्रिवि क्रिकेट मैदानमा एउटा विज्ञापन देखियो– ‘वुल्फ ७७७’। यो बेटिङ एप भए पनि बेटिङको विज्ञापन गर्न नपाइने भएकाले यही नाममा न्युजपोर्टल पनि चलाइएको छ। क्यान कोषाध्यक्ष पदमबहादुर खड्का र ब्रान्ड लजिकका निरौलाले ‘वुल्फ ७७७’लाई मिडियाका रूपमा ठाउँ दिइएको दाबी गरे। “बेटिङ एपलाई ठाउँ दिएको होइन, यसलाई अतिरञ्जित गरियो,” वुल्फ ७७७ लाई स्पोन्सरका रूपमा ल्याएर उसको न्युज साइटको विज्ञापन गरिएको दाबी गर्दै निरौलाले भने, “कति पैसा दिएर आयो भन्न मिल्दैन। यसमा गैरकानूनी केही भएजस्तो लाग्दैन।”

विज्ञापन नियमन ऐनको दफा ५ मा जुवा खेल्न–खेलाउन वा प्रचलित कानूनबमोजिम अनुमति नलिइएको चिट्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने विज्ञापन गर्न नहुने उल्लेख छ। अनौठो के भने, एनपीएलको फाइनलका दिन जिल्ला प्रहरी परिसर काठमाडौँले दुई भारतीय नागरिक (४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन)लाई एनपीएलमा सट्टेबाजी गरेको आरोपमा टोखास्थित ग्रान्डी टावर, नेप्चुन अपार्टमेन्टको ६ बी फ्ल्याटबाट पाँच थान मोबाइल, एउटा ल्यापटप र आठ थान सिमसहित पक्राउ गर्‍यो।

एनपीएल परिचालन परिषद् संयोजक पारस खड्का बेटिङ एप नभई ‘सरोगेट ब्रान्ड’लाई मात्र विज्ञापनको स्पेस दिइएको दाबी गर्छन्। “यो अभ्यास अन्तर्राष्ट्रियस्तरमै छ, आईसीसी र एसीसीले पनि सरोगेट ब्रान्डको रूपमा स्पेस दिन्छन्,” कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा पारसले भनेका छन्, “कानूनकै कुरा गर्ने हो भने हाम्रोमा कतै पनि सरोगेट ब्रान्ड प्रयोगमा रोक लगाउने कुरा उल्लेख छैन। कि सरकारले नै त्यति बजेट दिनुपर्‍यो, नभए हामीलाई रोक्नुभएन।”

विज्ञापनका नाममा बेटिङ एपको प्रचार गरेको भन्दै विज्ञापन बोर्डले २०८१ साल मंसिर २४ गते क्यानलाई पत्र काट्यो। बोर्डले विज्ञापन नियमन ऐन २०७६ को दफा ५ विपरीत जुवा खेलाउने साइट (१ एक्स बेट, उल्फ ७७७ र डाफा न्युज) लगायतका विज्ञापन खेलाडीका टी–सर्ट र मैदानमा राखिएको, खेलमा बेटिङसमेत गराएको गुनासो आएकाले कानूनविपरितका त्यस्ता कार्य तत्काल रोकेर ७ दिनभित्र जवाफ पेश गर्न भनेको थियो।

तर क्यानले जवाफ दिएन। बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं भन्छन्, “क्यान आफूलाई कसैप्रति जबाफदेही हुनु नपर्ने ठान्दो रहेछ। स्टार स्पोर्ट्स‍्ले विज्ञापन बजाउँदा मंसिर १७ गते पनि पत्र पठाएर सोधेका थियौँ, जवाफ आएन।”

बोलपत्रबिनै खल्तीलाई ‘टिकेटिङ पार्टनर’

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९ ले ‘सार्वजनिक निकायको खरिदमा बोलपत्र आह्वान गर्नुपर्ने र योग्य बोलपत्रदातालाई खरिद प्रक्रियामा सहभागी हुन बिनाभेदभाव समान अवसर प्रदान गर्नुपर्ने’ व्यवस्था गरेको छ। क्यानले एनपीएलको टिकट बिक्री गर्न बिनाप्रतिस्पर्धा डिजिटल वालेट ‘खल्ती’लाई जिम्मा दियो। २०८१ मंसिर ६ गते खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का र क्यानबाट सचिव पारस खड्काले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। 

खल्तीलाई बिनाप्रतिस्पर्धा टिकेटिङ जिम्मा दिँदा अर्को डिजिटल वालेट ई–सेवाले पत्तै पाएन। “बोलपत्र आह्वान गरेको भए हामी प्रतिस्पर्धामा सहभागी हुन्थ्यौँ,” ई–सेवाका सीईओ जगदीश खड्का भन्छन्, “रोशन निरौला एनपीएललाई स्पोन्सर खोज्दै आउनुभएको थियो, मैले टिकेटिङको जिम्मा दिनूस् भनेँ। उहाँ क्यानसँग कुरा गर्छु भनेर जानुभयो, पछि खल्तीलाई पार्टनर बनाएको थाहा भयो।”

MOU-with-Khalti-1-1750137397.jpeg
टिकेटिङ पार्टनरका लागि खल्तीसँग सम्झौतापछि सामूहिक तस्वीर खिचाउँदै बायाँदेखि तेस्रो पारस खड्का, चौथो विनय खड्का र पाँचौँ रोशन निरौला।टिकेटिङ पार्टनरका लागि खल्तीसँग सम्झौतापछि सामूहिक तस्वीर खिचाउँदै बायाँदेखि तेस्रो पारस खड्का, चौथो विनय खड्का र पाँचौँ रोशन निरौला।

खल्तीका सीईओ विनय खड्काले एनपीएल परिचालन परिषद्का संयोजक पारस खड्कालाई टिकेटिङका लागि आफ्नो कम्पनी इच्छुक रहेको प्रस्ताव गरेपछि जिम्मा पाएको बताए। “के कतिमा डिल भयो, हामीले भन्न मिल्दैन,” उनले भने, “खल्तीले यस्ता कारोबार दिनहुँ गर्छ, हिसाब याद गरेर साध्य हुन्न।”

क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले खल्तीले प्रायोजनमा ५० लाख रुपैयाँ र टिकटबाट उठ्ने रकमको १२.५ प्रतिशत कमिसन अफर गरेपछि जिम्मा दिइएको बताए। “सबै कुरामा बोलपत्र आह्वान गरेर पनि हुँदैन, यसका लागि चाहिँदा पनि चाहिँदैन,” उनले भने, “टिकटबाट चार करोड ३० लाख जति उठेको छ, तीन करोड ३०–३५ लाख हाराहारीमा बुझाइसकेको छ। बाँकी उसको कमिसन र हिसाब मिलाउन बाँकी छ।”

हिसाब गोलमाल: को जिम्मेवार?

एनपीएलको पहिलो सिजन सकिएको पाँच महिनापछि क्यान दोस्रो सिजनको तयारीमा जुटिसके पनि पहिलो सिजनकै खर्च र आम्दानी विवरण सार्वजनिक गरिएको छैन। एनपीएल सकिएयता दुईपटक क्यान कार्यसमिति बैठक बसिसकेको छ। बैठकमा हिसाब सार्वजनिक गर्नुपर्ने कुरा उठे पनि परिचालन परिषद्ले ‘चाँडै बोर्डलाई बुझाउने’ बताएको कार्यसमिति सदस्य दुर्गाराज पाठक बताउँछन्।

“२०८१ चैत १५ गते भैरहवामा कार्यसमिति बैठक बस्दा पनि अधिकांश सदस्यले हिसाबकिताब माग्नुभयो,” पाठक भन्छन्, “तर उहाँहरूले (परिचालन परिषद्ले) चाँडै दिन्छौँ मात्र भन्नुभयो। मैले २०८१ असारमा राष्ट्रिय टिम आईसीसीको टी२० प्रतियोगिता खेल्न अमेरिका गएदेखिको हिसाबकिताब सार्वजनिक गर्न माग गरिरहेको छु, सुनुवाइ भएको छैन।” 

क्यानका प्रवक्ता छुम्बी लामा भने ठूलो कारोबार भएकाले औपचारिक रूपमा हिसाब मिलाउन बाँकी हुँदा विवरण सार्वजनिक नभएको दाबी गर्छन्। कार्यसमिति बैठकमा हिसाबबारे छलफल नै नभएको दाबी गर्दै उनले भने, “यत्रो सफल प्रतियोगिता आयोजना गरेकोमा सबैले बधाई दियौँ। परिचालन परिषद्ले बिस्तारै हिसाबकिताब बुझाउला नि।”

कोषाध्यक्ष खड्काले हिसाब सार्वजनिक गर्न समय लागे पनि एनपीएलबाट क्यान नाफामै रहेको दाबी गरे। “समग्रमा ३० करोडको कारोबार (आम्दानी) भएको छ, खर्च २० देखि २५ करोड होला,” उनले भने, “तीनदेखि पाँच करोड क्यानलाई नाफा छ।”

एनपीएलमा क्यानबाट कानून उल्लंघन र अपारदर्शी काम भएको दाबीसहित युवा तथा खेलकुद मन्त्रालयमा पनि उजुरी परेको छ। मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद्ले गत चैत १७ गते सदस्य अञ्जन धमलाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन कार्यदललाई १५ दिनभित्र  प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो। कार्यदलले अहिलेसम्म प्रतिवेदन नबुझाएको राखेपका सूचना अधिकारी खुशराज दाहालले बताए।

क्यान अध्यक्ष चतुरबहादुर चन्द स्वयं एनपीएलमा त्रुटि भएको स्वीकार गर्छन्। क्यानले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा प्रक्रियागत त्रुटिहरू भए पनि ‘राष्ट्रघात जत्तिको गल्ती नभएको’ दाबी गर्दै उनले भने, “क्यानबाट कमजोरी भए अध्यक्षको नाताले मैले जिम्मेवारी लिनुपर्छ, एनपीएलमा भएका कमजोरीको जिम्मेवार परिचालन परिषद् संयोजकका हैसियतले पारसजी हो। उहाँले यी सबैको जिम्मेवारी लिनुपर्छ।”

अपारदर्शी खेलले एनपीएलको अस्तित्व र निरन्तरतामै संकट उब्जिएको छ। नेपालमा पहिलो एनपीएल सन् २०१४ मा नेपाल प्रिमियर लिग (एनपीएल) प्रालि नामको कम्पनीले गरेको थियो। यो कम्पनी राष्ट्रिय टिमका पूर्वखेलाडी आमिर अख्तरको नाममा दर्ता छ। क्यानले एनपीएल घोषणा गरेपछि आफ्नो कम्पनीको नाम अनधिकृत प्रयोग गरेको दाबीसहित यो कम्पनीले २०८१ कात्तिक २३ गते सर्वोच्चमा रिट दायर गरेको थियो। कात्तिक २५ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अन्तरिम आदेश नदिनु क्यानलाई ठूलो राहत बन्यो।  

“२०१४ को पहिलो संस्करणपछि क्यान आईसीसीबाट चार वर्ष प्रतिबन्धमा पर्‍यो, प्रतिबन्ध हट्नेबित्तिकै दोस्रो संस्करणको तयारी गर्दैगर्दा कोभिड महामारी शुरू भयो,” अख्तर भन्छन्, “म क्रिकेटको विपक्षमा होइन, तर जबरजस्ती एनपीएल खोस्न खोजियो। क्यानले एउटा पत्र लेखेर एनपीएलको स्वामित्व मागेको भए म हाँसीहाँसी दिन्थेँ।”

company-paper-1750153020.jpg
२०७० सालमै कम्पनीको रजिस्ट्रारको कार्यालयमा दर्ता भएको एनपीएल कम्पनी।

उनले यसबारे काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा माघ २३ गते सुनुवाइ गर्दै अदालतले करार शर्तविपरीत कार्य नगर्न/नगराउन क्यानलाई अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। अदालतले दुवै पक्षलाई छलफलमा बोलाएर फागुन १ गते सुनुवाइ गर्दा न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले अन्तरिम आदेश दिएन। त्यसयता यो मुद्दा पेसीमा चढेको छैन। अख्तर भन्छन्, “अदालतको फैसला मेरो पक्षमा आए एनपीएल घर न घाटको हुन्छ।”

एनपीएलकै अस्तित्व संकटमा पार्नेलगायत एनपीएलका नाममा भएका अपारदर्शी गतिविधिको ‘फ्रन्टलाइन’मा प्रत्यक्ष–अप्रत्यक्ष क्यान सचिव पारस खड्का नै देखा पर्छन्। खड्कासँग कुरा गर्न झन्डै दुई महिना पछ्याएपछि बल्ल उनी बोल्न तयार भए। एनपीएलबारे उठेका प्रश्नमा केन्द्रित रहेर पारससँग हामीले गरेको कुराकानी:

क्यानले कालोसूचीमा राखेको ‘सेभेन थ्री स्पोर्ट्स्’का सुबोध त्रिपाठीलाई एनपीएलमा पोखरा टिमको मालिक बनाइदिनुभयो नि?

Paras-Khadka-1750153065.jpg
२०७९ को टी२० लिगमा चार टिमका लगानीकर्ता विदेशी र उहाँ (पोखरा टिमका त्रिपाठी) मात्र  नेपाली लगानीकर्ता भन्ने मलाई सुनाइएको थियो। तैपनि हामीले बिडिङका लागि फारम खोल्यौँ।

अर्को कुरा, क्यानको कुनै निर्णयमा सेभेन थ्री स्पोर्ट्स‍्लाई क्यानले अब नचिन्ने लेखिएको छैन। मालिक भागेपछि यो कम्पनीसँगको सम्झौता रद्द गरौँ भन्ने निर्णय छ। बिडिङ खुलेपछि उहाँ प्रक्रियाअनुसार आउनुभयो, सबैभन्दा धेरै पैसा हालेकाले पोखरा टिम पाउनुभयो। पहिलाको सेभेन थ्री र पोखरा एभेन्जर्ससँग अहिलेको पोखरा एभेन्जर्सको के सम्बन्ध छ, मलाई थाहा भएन। यो त सुबोधजीलाई नै सोध्नुपर्ला।

क्यान पदाधिकारीकै चाहनामा त्रिपाठीले पोखरा टिम किनेका हुन्?

एनपीएलभन्दा अगाडि म व्यक्तिगत रूपमा सुबोधजीलाई चिन्दिनथेँ। मलाई पनि कताकता उहाँको सहभागिताप्रति शंका लागेको थियो। तर बोर्डबाटै पुरानो टिमलाई समेट्नुपर्ने म्यान्डेट परिचालन परिषद्लाई थियो। केही व्यक्ति होइन, पूरै बोर्ड यसमा सहमत थियो।

पहिले ठूलो कारोबार नै नगरेको ब्रान्ड लजिकलाई के आधारमा सार्वजनिक खरिद ऐनसमेत मिचेर कमर्सियल राइट्स् दिइयो?

कमर्सियल राइट्स‍्का लागि नेपाली क्रिकेटको इतिहासमै पहिलोपटक हामीले टेन्डर निकाल्यौँ। एडी रिलिज र ब्रान्ड लजिकले फर्म लिएका थिए, एडी रिलिजले क्यानसँग पहिल्यै काम गरिसकेको थियो। टेन्डर निकाल्दा हामीले धेरैलाई भनेका थियौँ, “पैसा हाल्नुस्, तपाईंहरूलाई अगाडि बढाउन क्यानले सघाउँछ।” तर कसैले आँट गरेनन्। एडी रिलिज फर्म मात्रै किनेर गयो। ब्रान्ड लजिक एक्लो बिडर भएपछि उसैले पायो।

टेन्डरमा सहभागी हुन समय कम भयो होला, तर हामीकहाँ यति दिन र उति दिनका लागि भन्ने कुनै नियम पनि त छैन। सार्वजनिक खरिद ऐन क्यानलाई लाग्छ लाग्दैन, मलाई थाहा भएन। तर ऐनअनुसार जाने हो भने क्यानले केही कामै गर्न सक्दैन। योभन्दा अगाडि क्यानले सिधै ठेक्का दिने गर्थ्यो, कमसेकम हामीले पत्रिकामा टेन्डर निकाल्यौँ।

तपाईं र ब्रान्ड लजिकका अध्यक्ष रोशन निरौलाको चिनजान–सम्बन्धका आधारमा ठेक्का दिइएको भनिन्छ नि?

मान्छेहरूले भन्थे– ब्रान्ड लजिक तपाईंको आफ्नो मान्छेको होला, तपाईंको आफ्नै होला। त्यसो हो भने उहाँहरूलाई मेरो आग्रह छ– प्रुभ गरिदिनूस्। रोशनसँग मेरो एकपटक भेट भएको हो, त्यो पनि एउटा कार्यक्रममा। त्यही बेला जोस भएको युवा लागेको थियो। कमर्सियल राइट्स् पाउन पैसा तिर्ने भएपछि पैसा कहाँबाट ल्याउँछ भन्ने हाम्रो सरोकारको कुरा रहेन। कसैले त्यत्रो पैसा तिर्न सक्छु नभनेका बेला उसले त्यत्रो हिम्मत देखायो।

हो, मैले उसको कम्पनीमार्फत विज्ञापन गरेको छु। तर त्यो मेरो निजी व्यावसायिक विषय हो। चिनजान त भइहाल्छ नि। म यो देशका सबैलाई चिन्छु।

टीसीएमलाई क्यानले परामर्शदाता नियुक्त गरेको भनेको थियो। सार्वजनिक खरिद ऐनअनुसार परामर्शदाताका लागि टेन्डर आह्वान गर्नुपर्छ। तर टेन्डर खोलेर अचम्मसँग उसलाई भित्र्याइयो। के यसमा कुनै डिल थियो?

टीसीएम विदेशी कम्पनी भए पनि उसले नेपालमा आफ्नै कम्पनी दर्ता गरेको छ। बोर्डमा यो कम्पनीबारे कुरा हुँदा सबैले सहमति जनाए। तैपनि टेन्डर खुलायौँ, तर टीसीएमबाहेक कोही आएन। यो कम्पनीलाई पैसा तिरेर ल्याइएको होइन, भोलिन्टियर्ली सहयोगमा आएको हो। क्यान र टीसीएमबीच कुनै कारोबार छैन। उनीहरूको काम गर्ने मान्छेलाई हामीले खाने–बस्ने व्यवस्था मिलाइदिएका थियौँ। केही पारिश्रमिक दियौँ, यस्तै २५–३० लाख।

क्यान र ब्रान्ड लजिकबीच असोज ६ गते सम्झौता भए पनि ब्रान्ड लजिकले असोज ४ मै टीसीएमलाई कमर्सियल राइट्स् बेचिसकेको रहेछ। सम्झौता नहुँदै, आफूले पाइनसकेको अधिकार उसले कसरी बेच्यो?

उनीहरूबीच के भयो भन्ने मलाई कसरी थाहा हुन्छ? यो मेरो लागि पनि रोचक विषय भयो। तपाईंसँग सम्झौता–पत्र छ? छ भने मलाई पनि दिनुहोला।

स्टार स्पोर्ट्स‍्लाई एनपीएलमा कसले र कति पैसामा ल्याएको हो? उसलाई भुक्तानी भइसकेको हो?

स्टार स्पोर्ट्स‍्लाई टीसीएम थ्रु ल्यायौँ। क्यानसँग पनि कुरा भएको थियो, म आफैले स्टारको आधिकारिक मान्छेसँग कुरा गरेको थिएँ। सम्झौताअनुसार स्टार स्पोर्ट्स‍्लाई ल्याउने अधिकार ब्रान्ड लजिकसँग भए पनि टीसीएमले ल्याइदियो। पैसा हामीले ब्रान्ड लजिकलाई तिर्‍यौँ, ब्रान्ड लजिकले स्टार स्पोर्ट्स‍्लाई। स्टार स्पोर्ट्स‍्लाई राम्रै पैसा तिर्‍यौँ, साढे दुई करोड। नेपाल राष्ट्र बैंकमार्फत तिरी पनि सक्यौँ।

बिनाप्रतिस्पर्धा खल्तीलाई टिकेटिङ पार्टनरको जिम्मा पनि दिइयो नि?

म अत्यन्तै व्यस्त भएर ब्रान्ड लजिकलाई नै बजारमा राम्रो रकम दिनसक्ने कम्पनीलाई ल्याउन जिम्मा दिएको थिएँ। उहाँहरूले ल्याएपछि खल्तीले जिम्मा पायो। एनपीएल शुरू हुन एक हप्ता बाँकी थियो, यसमा बिडिङ गराउने समय थिएन।

हाम्रोमा एउटा नराम्रो अभ्यास के छ भने, सानो छँदा कसैलाई मतलब नहुने, ठूलो भइसकेपछि सबै एकैपटक झम्टिन खोज्ने। एनपीएल शुरू नभएसम्म कसैले केही मतलब गरेन, सफल भइसकेपछि सबैले आँखा ठूल्ठूलो पार्दै छन्।

एनपीएल सकिएकै ६ महिना हुन लाग्यो, अर्को सिजनको तयारी पनि शुरू भइसक्यो। तर, पहिलो सिजनकै आम्दानी र खर्चविवरण सार्वजनिक भएको छैन नि!

सार्वजनिक कसलाई गर्नुपर्ने? किन गर्नुपर्ने? एनपीएलको मात्रै होइन, आजसम्म क्यानले गरेको कुनचाहिँ प्रतियोगिताको हिसाबकिताब सार्वजनिक भएको छ र?

कानूनी रूपमा व्यक्ति आमिर अख्तरको नाममा दर्ता रहेको एनपीएलमाथि भोलि अदालतले उनकै स्वामित्व स्थापित गरिदियो भने के गर्नुहुन्छ?

हालसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतले उहाँको कुरा नसुन्ने भनिसकेका छन्, फैसला आउन बाँकी छ। अदालतबाट के आदेश आउला, त्यो अदालतलाई नै छाडिदिऊँ।

२७ जेठ २०८२ को उकालाेमा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

नेताका लहडमा सभाहल : करको फुर्मास, अवस्था बेहाल

नेताका लहडमा सभाहल : करको फुर्मास, अवस्था बेहाल

सरकारले देशभर करीब रु. २६ अर्ब खर्चेर बनाएका सम्मेलन केन्द्र र सभाहलमध्ये अधिकांश सञ्चालनमा छैनन्। स्थानीय आवश्यकता र मागलाई बेवास्ता...
विदेशी जेलमा कहर काट्दै नेपाली श्रमिक

विदेशी जेलमा कहर काट्दै नेपाली श्रमिक

खाडी मुलुकहरू र मलेशियाका जेलमा एक हजारभन्दा धेरै नेपाली कामदार छन् । उनीहरूको वकिलसम्म पहुँच छैन, परिवारसँग सम्पर्क हुँदैन, कानूनी...
सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन

सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन

तरकारीको उत्पादनदेखि बजारसम्मको नेटवर्क निर्माण गरी किसानलाई उचित मूल्य र उपभोक्तालाई सुपथ मूल्यमा तरकारी उपलब्ध गराउने भनी झण्डै एक अर्ब...