मेनु

खोज रिपोर्ट

सुर्खेत चिनाउने बुलबुले ताल, कंक्रिटका संरचनाले बन्यो बेहाल

कर्णालीको राजधानी सुर्खेतको पहिचान बनेको बुलबुले ताल र त्यसको सीमसार क्षेत्र दिन प्रतिदिन संकटमा छ । तीनै तहका सरकारले सुन्दर सिमसार जोगाउन कुनै पहल गरेका छैनन् ।

‘सुर्खेत बुलबुले ताल,

माया, मै सानी हुनाले, छुट्यो माया जाल’

लोकगीत संकलक तथा वाद्यवादक प्रेमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरको यो गीत २०३० को सुरुवातताका रेडियो नेपालमा रेकर्ड भएको थियो । त्यही गीतले सुर्खेतलाई नयाँ पहिचान दियो ।

रेडियो नेपाल सुन्नेहरूले सुर्खेत र बुलबुले तालको नाम गुनगुनाउन थाले । गीतले बजार मात्रै पाएन, यहाँ नआएका मानिसहरूमाझ पनि सुर्खेत र बुलबुले ताल एकअर्काका परिपूरक हुन् भन्ने महसुस गरायो ।

‘२०३० सालमा मैले शब्द सङ्कलन गरेको थिएँ । २०३२ सालमा गीत रेकर्ड भयो,’ सुर्खेतका लोकगीत संकलक प्रेमदेव गिरी भन्छन्, ‘त्यही गीतले मलाई र यो क्षेत्रलाई नै नयाँ पहिचान दियो ।’ साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ ।

sukeka-dhara-at-bulbule-tal-copy-1782983828.jpg
२०२३ सालतिरको कुरा हो, सुर्खेतमा मोटर बाटो पुगेको थिएन । तर नियमित हवाई उडान हुन थालेको थियो । काठमाडौंबाट सुर्खेत आएको जहाज हेर्न वरपरका गाउँबाट मानिसको भिड लाग्थ्यो । त्यतिबेला १३ वर्षीय एउटा ठिटो हिलेखालीबाट हिँडेर साथीहरूसँग एयरपोर्ट पुग्यो ।

एयरपोर्ट नजिकै मुहानमा सानो ढुंगेधारा थियो । त्योभन्दा पर आँखाले भ्याएसम्म दलदले सिमसार देखिन्थ्यो । मान्छेहरू झाडीभित्र पस्न सक्दैनथे, पसे दलदलेले डुुबाउँथ्यो । साना प्लेन हेर्न जंगल, झाडी, बयरका झ्याङ छिचोल्दै एयरपोर्ट पुग्दा आधा दिन बित्थ्यो । त्यहाँ पुग्दा प्यास लागे तिर्खा मेट्ने ठाउँ थियो, बाँडगंगा ।

‘त्यतिबेलाको बाँडगंगा नै अहिलेको बुलबुले हो,’ वीरेन्द्रनगर–१ हिले खालीका प्रेमदेव गिरी (७२) ती दिन सम्झिँदै भन्छन्, ‘पछि राज नजर (राजाको नजर) पर्‍यो र बुलबुले नामकरण गरियो ।’

प्रेमदेव गिरी

Prem-Dev-Giri-Kalakar-1782984817.jpgलोकगीत संकलक गिरीको अनुभवमा, दिनभर सुर्खेत उपत्यकाका खेतहरूमा खेती–किसानी गर्ने र साँझ बास बस्न गोठीकाँडा जानेहरू बिस्तारै तल झर्न थाले । २०२४ सालपछि मानिसहरू सुर्खेत उपत्यकामा रहने र बसोबास गर्न थाले । २०२० को दशकको सुरुवातताका औलो उन्मुलन भएको प्रसंग कोट्याउदै उनी भन्छन्, ‘त्यसपछि मानिसहरू सुर्खेत उपत्यका (वीरेन्द्रनगर उपत्यका)मा बढ्न थालेका हुन् ।’

त्यति नै बेला वीरेन्द्रनगरमा तीन वटा गंगा थिए । उपत्यकाको पूर्वमा उत्तरगंगा, पश्चिममा पातालगंगा र दक्षिणमा बाँडगंगा (हालको बुलबुले) । यी तीन गंगा सिममार र हाँडी (पानीको मुहान) हुन् ।

‘तीन वटै गंगाको हाँडीमा पानी निस्कने तरिका एउटै थियो । जमिन मुनिबाट बुलबुल गर्दै पानी निक्लिन्थ्यो,’ गिरी भन्छन्, ‘यी सिमसार क्षेत्रबाट सञ्चित पानीले सुर्खेत उपत्यकामा बाह्रै महिना खेतीपाती गर्न मिल्थ्यो ।’

बुलबुलेले ‘राज नजर’ पाएपछि

राजा वीरेन्द्र शाह २०२८ सालमा मध्यपश्चिम क्षेत्रको भ्रमणमा सुर्खेत आए । त्यहाँ घुमेपछि उनकै इच्छाअनुसार वीरेन्द्रनगर बजार विकासको परिकल्पना गरियो । शहरी योजनाकार माधवभक्त माथेमाले वीरेन्द्रनगरको गुरुयोजना निर्माण गरे ।

राजा वीरेन्द्र सुर्खेत आएको बेला उनी बस्ने क्याम्प बुलबुलेको आडैमा राखिएको थियो । राजाको नजर परेको बाँडगंगालाई २०२९ सालमा बुलबुले उद्यानको रूपमा विकास गर्ने योजना बन्यो ।

राजा वीरेन्द्र २०३० सालमा आउँदा पनि बुलबुले नजिकै बसेको गिरी बताउँछन् । ‘राजालाई बुलबुले निकै मन परेको थियो,’ गिरीले भने, ‘जमिन मुनिबाट बुलबुल गर्दै पानी निस्किने विशेषताकै कारण बाँडगंगाको नाम फेरेर ताल र उद्यानको बुलबुले राखिएको हो ।’

२०३० सालको सुरुवातदेखि नै सरकारी संरक्षण पाएको बुलबुलेमा त्यतिबेलादेखि नै आधुनिकता, संरक्षण र पुनर्निर्माण युग सुरु भएको गिरी बताउँछन् । २०२९ सालदेखि सरकारी तवरबाट बुलबुले क्षेत्रको संरक्षण हुन थालेको हो ।

सुरुमा पुगेका राजा वीरेन्द्र रमणीय वातावरणमा लोभिएपछि बरोबर सुर्खेत आइरहे । गिरीको अन्दाजमा, २०२८ सालमा तत्कालीन राजा वीरेन्द्रले बुलबुलेलाई संरक्षित क्षेत्र घोषणा गर्नुको मुख्य उद्देश्य त्यहाँको हाँडी (मुहान) बचाउनु थियो ।

‘२०२८ सालपछि सुर्खेत उपत्यकाभित्र मान्छेहरूको बसोबास बढ्दै थियो,’ उनी भन्छन्, ‘बढ्दो बसोबासले एक दिन हाँडी मासिन्छ भन्ने राजालाई हेक्का हुनुपर्छ । सरकारले नै संरक्षित क्षेत्र घोषणा गरेपछि सिमसार बाँच्छ, हाँडी सुक्दैन भनेर योजना बनाइएको थियो ।’

bulbule-tal-construction-2-copy-1782985042.jpg
वरपर सिमसारले घेरिएको बुलबुले ताल चराचुरुङ्गीको बासस्थानसमेत हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन संकाय, हेटौंडाका विद्यार्थी सुगम गुरागाईँ र सुस्मिता चौधरीले गत वर्ष बुलबुले ताल क्षेत्रमै नेपालमा पहिलो पटक रातोकण्ठे डुबुल्की चरा फेला पारेका थिए ।

समुद्री सतहबाट ६५६ मिटर उचाइमा रहेको बुलबुलेमा नेपालमै पहिलो पटक उक्त चरा रेकर्ड भएको गुरागाईंले बताए । उनी भन्छन्, ‘अध्ययनका क्रममा फरक प्रजातिको चरा देखेपछि रातोकण्ठे डुबुल्की चरा हुन सक्ने आशङ्कासहित यसको तस्वीर र भिडियो बर्ड कन्जर्भेसन नेपालमा पहिचानका लागि पठाएका थियौँ ।’

गुरागाईँका अनुसार बुलबुलेमा सानो डुबुल्की, पोखरी बकुल्ला, सानो सेतो बकुल्ला, सिम कुखुरा, खुलाचुँडे सारस, कालो आइबिस, रातो लट्ठीटिउरी, गर्गेनी हाँस, रातोपुच्छ्रे बुलबुल, दहियल, कालो भँगेरा र कोइलीलगायत ९० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको बसोबास रहेको छ । उनी भन्छन्, ‘जसमध्ये ६–७ प्रजातिका चराहरू बसाइँसराइ गरेर केही खास सिजनमा आउने गरेका छन् ।’

Bulbule-Guru-Yojana-1024x599-1782985090.jpg
सिमसारमा कंक्रिटका गुरुयोजना

सुर्खेत उपत्यका नगर विकास समितिले बुलबुलेको संरक्षण, सम्वर्द्धन र विकासका लागि भन्दै २०७४ मा गुरुयोजना बनायो । २० वर्षे गुरुयोजनामा विभिन्न २२ वटा योजना छन्, जसको कार्यान्वयन गर्न ३१ करोड ६३ लाख रुपैयाँ लाग्ने अनुमान छ ।

ठूलो र फराकिलो पार्किङ, पक्की सडकसँगसँगै चक्रपथ । उद्यान क्षेत्रमा पक्की पर्खाल, छुट्टै स्विमिङ पुल, सुविधासम्पन्न रेस्टुरेन्ट, ग्रिन हाउस, विश्राम कक्ष, बालबालिका खेल्ने ठाउँदेखि महिला र पुरुषलाई छुट्टाछुट्टै नुहाउने ठाउँ, सोलार बत्ती र अहिलेको भन्दा करिब तीन गुणा ठूलो तालको विस्तार गर्ने गुरुयोजना समावेश भएको छ ।

पहिलो चरणमा ताललाई पक्की पर्खालले घेर्ने योजना छ । तालको आकार करिब तीन गुना बढेको छ । फैलिएको तालमा मोटरबोट सञ्चालनमा आएको छ । ताल क्षेत्रभित्र अन्य भौतिक संरचनासँगै पिकनिक स्पट, यात्रु विश्रामस्थल, इत्राम खोलामा तटबन्ध, पैदल मार्ग, तारबार, रेलिङ, सोलार बत्ती जडान लगायतका काम भएको छ ।

विस्तार भएको ठूलो तालको माथिल्लो भागमा अर्को सानो ताल निर्माण सुरु भएको छ । दोस्रो चरणको योजनाअनुसार, ४ हजार २०० वर्गमिटरमा अर्को ताल विस्तार हुनेछ । जसका लागि कर्णाली सरकारले करिब साढे दुई करोड खर्च गर्नेछ ।

बुलबुलेको विकासका लागि उपत्यका नगर विकास समितिले सिमसार क्षेत्रमा डोजर चलाएर निर्माणका कामहरू गरिरहेको छ । बुलबुले उद्यानको स्तरोन्नतिका लागि पनि भारी उपकरणहरूको प्रयोग भयो । त्यसपछि कंक्रिटका संरचनाहरू खडा भएका छन् ।

बुलबुलेको माथिल्लो छेउमा उद्यानभित्र टिकट घर, पिकनिक स्पट, डुंगा सवारी, रंगीन बगैँचा, धार्मिक कामका लागि छुट्टै भौतिक संरचना, विश्राम कक्ष लगायतका संरचना निर्माण गर्ने गुरुयोजना छ ।

Bulbule-tal-Photo-Rijan-Basnet-1024x599-1782985128.jpg
तस्वीर : रिजन बस्नेत

ताल निर्माणको काम पाएको कर्णाली प्रदेश सरकारको भू–जलाधार तथा व्यवस्थापन कार्यालय सुर्खेतका शिखर चपाई जैविक विविधताको अस्तित्व जोगाउने गरी ताल निर्माण, पर्खाल, नाली र फुटपाथ व्यवस्थापनको काम भइरहेको बताउँछन् ।

भू–जलाधार तथा व्यवस्थापन कार्यालय प्रमुख चपाई भन्छन्, ‘गुरुयोजनामा उल्लेख भएकै कुराहरूलाई आधार मानेर तालमा काम भइरहेको छ । सानो तालमा ढल पस्ने र पानी फोहोर हुने भएपछि डेढ/दुई मिटरको पर्खाल लगाइएको हो ।’

वीरेन्द्रनगर नगर विकास समितिका अध्यक्ष नारायण कोइराला आफ्नै पालामा गुरुयोजना बनेको तर त्यसमा कंक्रिट संरचनाहरू निर्माण गर्ने कुनै योजना नरहेको जिकिर गर्छन् । ‘मेरो पालामा बनेको गुरुयोजनामा पर्यावरणमैत्री पार्कको रूपमा विकास गर्ने सोच थियो,’ उनी भन्छिन्, ‘पछि आएको राजनीतिक नेतृत्वले त्यसलाई फेरेर यस्तो बनाएको हो ।’

सिमसारका अध्येता मनोज एमसी बुलबुलेको बृहत्तर विकासका लागि भन्दै बनाइएको गुरुयोजना कार्यान्वयनमा उपकरणहरूको प्रयोग र त्यसपछि कंक्रिटका संरचना बनाउनु आवश्यक नभएको बताउँछन् ।

उपत्यका नगर विकास समितिले बुलबुले क्षेत्रलाई पिकनिक खाने क्षेत्रको रूपमासमेत प्रवर्द्धन गरेको छ । पिकनिक खाँदा प्लास्टिकजन्य फोहोर बढ्ने र त्यसले सिमसार क्षेत्रमा ह्रास ल्याउने उनले बताए ।

surkhet-bulbule-tal-1024x599-copy-1782985253.jpg
बुलबुले ताल विस्तारका लागि भन्दै वरपरका कैयौं रुखहरू काटियो । तालमा मोटरबोट सञ्चालन भयो । मध्यपश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका सहप्राध्यापक डा. पुष्पराज आचार्य यस्ता क्रियाकलापपछि चराहरूको गतिविधि घट्न थालेको बताउँछन् । उनी भन्छन्, ‘कैयौं चराहरूको आहारा माछा हो । मोटर बोट चल्दा माछाहरू हराउन थालेका छन् । ताल आसपासका रुखहरूसमेत काटिएकाले चराहरूको बासस्थान संकटमा परेको छ ।’

नगर विकास समितिले बुलबुलेलाई पिकनिक क्षेत्रमा प्रवर्द्धन गरिरहेको छ । पिकनिकमा आउनेहरूको क्रियाकलापले त्यहाँ प्लास्टिकका फोहोर बढिरहेका छन्, जसले सिमसार संरक्षणमा प्रत्यक्ष असर गरेको स्थानीयवासी बताउँछन् ।

अध्येता एमसीका अनुसार, संवेदनशील सिमसार क्षेत्र संरक्षणका नाममा ल्याइएका गुरुयोजनामा पर्यावरण संरक्षणको ख्यालै नगर्नु हानिकारक हो ।

‘बुलबुलेको तल्लो गेट वरपर पूरै दलदले थियो । त्यहाँ पार्किङ बनाउने नाममा गिट्टी र बालुवाले पुरिएको छ,’ अध्येता एमसी भन्छन्, ‘त्यही ठाउँको दलदलेबाट संकलित पानी तल बगेर बुलबुल गर्दै निस्किन्छ । किन यस्तो मूर्खतापूर्ण योजना बनाएका होलान् ?’

बुलबुले संरक्षणको चिन्ता गर्नेहरू बुलबुले उद्यान नजिकै ठूलो पार्किङ आवश्यक नभएको बताउँछन् । उद्यानमा पक्की पर्खालका साथै पक्की सडक सहितको चक्रपथ, छुट्टै स्विमिङ पुल र सुविधासम्पन्न रेस्टुरेन्ट बनाउन खोजिएको छ ।

मनोज एमसी उपत्यका नगर विकास समितिको योजनामाथि प्रश्न गर्दै भन्छन्, ‘मुख्य बजारबाट पैदल गए पनि १५ मिनेटमा बुलबुले पुगिन्छ । गेटबाहिर सुविधासम्पन्न रेस्टुरेन्ट छन्, स्विमिङ पुल छन् । सिमसार मासेर यी संरचना बनाउन आवश्यक हो त ?’

bulbule-tal-construction-3-1024x599-copy-1782985298.jpg
बुलबुले तालको बुलबुल (मुल)बाट पानी बग्ने ठाउँमा १० वटा ढुंगेधारा छन् । बाह्रै महिना पानी बग्ने यी धाराहरू एक साता यता सुकेका छन् । ‘पहिलो पल्ट यी धाराहरू सुकेको थाहा पाएँ,’ वीरेन्द्रनगर–११ का खगेन्द्र अधिकारी भन्छन्, ‘चर्को खडेरीमा पनि यी धाराहरू सुकेका थिएनन् । अहिले त्यस्तो खडेरी पनि छैन । एकाएक धाराहरू सुक्दा अचम्ममा परेका छौं ।’

दलदल भित्र जग्गा दलाल

गत जेठको दोस्रो साता वीरेन्द्रनगर–९, लाटिकोइलीको कालीमाटी पुग्दा बस्तीको मुखैमा रहेको दलदलेमाथि डोजर चलिरहेको थियो । भित्र छिर्ने बाटोको आडैमा रहेको दलदले भएको ठाउँलाई अब छिट्टै घडेरी बनाउने र बेच्ने योजना छ ।

डोजरको काम हेरिरहेकी स्थानीय लक्ष्मी चौधरी (५४) लाई नजिकै रहेको पुरानो कुवाको चिन्ता थियो । लक्ष्मीले त्यही कुवाको पानी चलन गरेर ४० वर्ष गुजारिन् ।

Laxmi-Chaurari-1024x599-copy-1782985334.jpg
‘पातलगंगाबाट बिहे गरेर यहाँ आएको ४० वर्ष भयो । हामीले अहिलेसम्म यही कुवाको पानीले घर धान्दै आएका छौं,’ लक्ष्मी भन्छिन्, ‘यहाँ घडेरी बनाउन डोजर ल्याएका छन् । यसले कुवा नै पुरिदिन्छ कि भन्ने पिर लागेको छ ।’

२०४० को दशकसम्म कालीमाटीमा थारू समुदायको बाक्लो बस्ती थियो । जुम्ला, कालिकोटबाट छिटपुट रूपमा झरेका केही परिवार बसोबास गर्थे । माथिल्लो भागमा बस्ती थियो भने तल्लोमा ठूलो पोखरी थियो । वरपर पूरै दलदले र हाँडीले ढाकेको थियो ।

पोखरीमा वरपरका बासिन्दाले नुवाइधुवाइ गर्थे । बस्तुभाउले पानी खान्थे । स्थानीयले जाल हालेर माछा मार्थे, घोंगी खोज्थे र किनारमा पलाउने साग टिपेर खान्थे । त्यहींबाट बग्ने पानीले कालीमाटी आसपासका क्षेत्रमा बाह्रै महिना खेतीपाती गर्न मिल्थ्यो ।

Nar-bdr-Rawal-kalimati-1024x599-copy-1782985382.jpg
नरबहादुर रावल (५०) को परिवार २०४७ सालमा जुम्लाबाट कालीमाटी आएको थियो । त्यो बेला कालीमाटीको तल्लो क्षेत्र पूरै दलदले र हाँडीले भरिएको थियो । हाँडी आसपासमा अहिले पनि केही सार्वजनिक र निजी जग्गा छ भने अधिकांश ऐलानी हुन्् ।

लाटिकोइलीको कालीमाटीकै कल्ठु थारू (७६) १२/१३ वर्षको हुँदा दलदलेमा काठ बोकेका चार वटा लरिया ( परम्परागत दुईपाङ्ग्रे साधन, जो गोरु वा राँगाले तानेर चलाइन्छ) र राँगा फसेको उनलाई अहिले पनि सम्झना छ । पोखरी किनारको बाटोमा चिप्लिएपछि लरियासहित राँगा दलदलेमा फसे । राँगा जसोतसो निकालियो, तर लरिया र काठ दलदलमा गाडिए ।

जेठको खडेरीमा पनि आसपास सिंचाइ गर्न पुग्ने पानी भएको पोखरीको अहिले केही अवशेष मात्रै बचेको छ । कुनै बेला लरिया डुबाउने दलदलेमाथि अहिले घडेरी बनिरहेको देख्दा कल्ठुको मन पोल्छ । उनी भन्छिन्, ‘यहाँको पानीले जेठमा पनि धान रोप्न पुग्थ्यो । अहिले हेर्नुस् दुई गह्रा बिऊ राख्न पनि मुस्किल परिहेको छ ।’

Kalthu-Tharu-1024x599-copy-1782985421.jpg
तस्वीर : कल्ठु थारू (७६) लाटिकोइलीका स्थानीय

वीरेन्द्रनगरको इतिहास स्थानीय थारू समुदायसँग जोडिन्छ । वीरेन्द्रनगरका पूर्वमेयर मुकुन्दश्याम गिरीका अनुसार, २०१७ सालभन्दा पहिले सुर्खेतमा थारू र राजी समुदायको मात्रै बसोबास थियो । गिरी भन्छन्, ‘औलो पचाउने र उपत्यकामा बस्ती बसाउन सक्ने थारूहरू नै थिए । उनीहरूले नै बसालेको शहर हो, वीरेन्द्रनगर ।’

दाङ, बर्दिया र कैलालीबाट आएका थारूहरू विभिन्न ठाउँमा छरिएर बसेका थिए, एउटा समूह बुलबुलेभन्दा माथिल्लो भागमा थियो । बुलबुलेको सिमसार र हाँडीमा त्यो बस्तीले प्रत्यक्ष असर पारेको भनेर २०२९ सालमा उनीहरूलाई हटाइएको ‘हाम्रो थारू समाज र संस्कृति’ पुस्तकका लेखक मानबहादुर चौधरी बताउँछन् ।

बुलबुले क्षेत्र सुर्खेतका थारू समुदायको पहिचान र संस्कृतिसँग जोडिएको बताउने मानबहादुर बुलबुले र दलदलेको संकटसँगै थारूहरूको माछा मार्ने, घोंगी र पाने साग टिप्ने काम संकटमा परेको बताउँछन् । ‘आजभोलि बुलबुले छिर्न मन लाग्दैन । बाहिरबाट आएका साथीहरूलाई घुमाउनुपर्ने बाध्यताले मात्रै त्यतातिर जान्छु,’ उनी भन्छन्, ‘बुलबुलेको डोजरे विकासले मन रुन्छ । बुलबुले कस्तो सुन्दर थियो, अहिले डोजरले के बनाइदियो ?’

Man-Bdr-Chaudari-1024x599-copy-1782985493.jpg
तस्वीर : लेखक मानबहादुर चौधरी

स्थानीयवासीका अनुसार, वरपरबाट आउनेहरूले धमाधम दलदले मासिरहेका छन् । दुई महिनाअघि मात्रै एक जना आएर दलदलेमै डोजर चलाए । कालीमाटी टोल विकास संस्थाका अध्यक्षसमेत रहेका रावलका अनुसार, वडाध्यक्ष र अमिनको टोली बेलाएपछि मात्रै डोजर रोकिएको हो ।

उनका अनुसार, कालीमाटीका विशाल दलदले र हाँडीका केही भाग मात्रै अहिले बाँकी छन् । यसरी नै जग्गा कारोबारीहरूले डोजर चलाएपछि ती पनि छिट्टै मासिने उनको चिन्ता छ ।

कालीमाटीमा अहिले पनि तीन वटा मुहान छन्, जहाँबाट बाह्रै महिना पानी आउँछ । खडेरीमा त्यही पानीको प्रयोग गर्ने र वस्तुभाउलाई खुवाउने गरेको अध्यक्ष रावल बताउँछन् । ‘यी हाँडी र दलदले बचाइदेऊ भन्दै हामी कैयौं पटक वडाध्यक्ष र पालिकाहरूमा धायौं । कसैले सुनेनन्,’ रावल भन्छन्, ‘एउटा व्यक्ति जग्गा दलालहरूसँग कति दिन पो लड्न सक्छ र ?’

simsar_bulbule-tal-1024x599-copy-1782985524.jpg
तीन तहको सरकार, को जिम्मेवार ?

प्राकृतिक वा कृत्रिम रूपको पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको ओसिलो र दलदल बनेको क्षेत्र सिमसार हो । सिमसार विज्ञ शैलेन्द्र पोखरेलका अनुसार, सिमसार क्षेत्र पानीका स्रोतबाट सधैंभरि ओसिलो र धापिलो हुने भूमि हो ।

सिमसार क्षेत्रलाई सबैभन्दा उत्पादनशील, गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिक प्रणालीका रूपमा पनि लिइन्छ । प्रकृतिको मिर्गौला भनिने सिमसारले पानीका स्रोत संरक्षण गर्ने काम गर्छ । जल चक्र र जलवायुलाई नियमित गर्न, तापमानलाई सन्तुलन गर्न, पहिरो रोकथाम गर्न अनि माटोको निर्माण र पोषण तत्व कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

जैविक विविधताका लागि महत्वपूर्ण मानिने सिमसारहरू बजार र शहरी क्षेत्रका लागि झनै वरदान भएको बताउँछन्, त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञान केन्द्रीय विभागमा सहप्राध्यापक डा. सुदीप ठकुरी ।

उनका अनुसार, सीमसारको जलवनस्पती र वरपरका हरियालीले अक्सिजन उत्पादन गरी हावाको गुणस्तर सुधार्न मद्दत गर्छ । साथै सिमसारका वनस्पतीले प्रदूषक ग्यासहरू (नाइट्रोजन अक्साइड र सल्फर डाइअक्साइड) लाई पनि केही मात्रामा शोषण गर्छन् र हावाको गुणस्तर सुधार्न सहयोग गर्छन् ।

‘अमेरिकाको अर्काटा, सिंगापुर र भारतको कलकत्ता, इन्दोर जस्ता शहरहरूले पनि कृत्रिम सिमसार क्षेत्र निर्माण गरिरहेका छन्,’ सहप्राध्यापक ठकुरी भन्छन्, ‘हामीले यहाँका प्राकृतिक सिमसार पनि मासिरहेका छौँ ।’

उनका अनुसार, जग्गा–जमिनको अतिक्रमण, प्रदूषण, दलदलको उचित संरक्षणको अभाव र वरपर पक्की संरचना निर्माणले सिमसार क्षेत्र संकटमा परेको छ

संघीय, प्रदेश र स्थानीय तीन वटै सरकारले सिमसार क्षेत्र संरक्षण गर्ने नीति लिए पनि कार्यान्वयनमा उदासिन रहेको उनको निष्कर्ष छ । ‘हाम्रो राजनीतिक नेतृत्वमा सिमसार र पर्यावरण क्षेत्रका महत्वबारे बुझाइको कमी भएको देखिन्छ । त्यसैको उदाहरण बुलबले ताल पनि हो,’ उनी भन्छन्, ‘तीनै तहका सरकारको बेवास्ताको मार खेप्नेमा सुर्खेतको बुलबुले ताल र वरपरको सिमसार पनि हुन् ।’

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को)ले २ फेब्रुअरी १९७१ मा इरानको क्यास्पियन समुद्री किनारमा रहेको शहरमा रामसारमा विश्वभरको सिमसार क्षेत्रको संरक्षण र दिगो उपयोग गर्न अन्तर्राष्ट्रिय महासन्धि पारित पारित गर्‍यो । रामसार महासन्धिमा हस्ताक्षर गर्न अग्रसर हुने मुलुकहरूमध्ये नेपाल पनि एक थियो ।

क्लिन एन्ड ग्रिन सुर्खेत अभियानका संयोजक डा. नवराज केसी बुलबुलेमा निर्माण गरिएका अधिकांश संरचना अनावश्यक रहेको बताउँछन् । ‘विकास भनेकै गिट्टी, बालुवा र कंक्रिटबाट निर्मित संरचना हो भन्ने सोच छ,’ डा. केसी भन्छन्, ‘त्यहाँ प्राकृतिक तरिकाले बालुवा र सिमेन्टरहित संरचना निर्माण गर्न सकिन्थ्यो, कसैले बुझेनन् ।’

purano-bulbule-tal_surkhet-1024x599-copy-1782985679.jpg
पुरानो बुलबुले ताल

बुलबुलेको जैविक महत्व बुझाउन र त्यही अनुसारको संरचनाबाट संरक्षण गर्न स्थानी सरकारसमेत चुकेको डा. केसी बताउँछन् । उनी भन्छन्, ‘अहिले तालमा मोटरबोट चल्दा आम्दानी बढेको भन्दै उनीहरू खुसी देखिन्छन् । त्यो हाम्रा स्थानीय नेताहरूको दूरदर्शिताको अभाव हो ।’

अनि स्थानीय सरकार (वीरेन्द्रनगर नगरपालिका) ले पनि सिमसार क्षेत्रलाई अर्थतन्त्रसँग जोड्न सकेको छैन । स्थानीय स्तरमा ताल र पोखरी भन्नासाथ राजनीतिक नेतृत्वको दिमागमा माछा पाल्ने र मोटरबोट चलाउने लहड चलिहाल्ने सिमसार विज्ञ पोखरेल बताउँछन् ।

‘सिमसारमा आधारित पर्यटन जोड्न सके त्योभन्दा तीन गुणा बढी लाभ लिन सकिन्छ,’ पोखरेल भन्छन्, ‘सिमसारको संरक्षण तीनै तहको जिम्मेवारी हो । अझ बढी जिम्मेवार स्थानीय तह बन्नुपर्छ ।’

अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेपछि सिमसारको संरक्षण गर्नु हाम्रो देशको राष्ट्रिय जिम्मेवारी रहेको पोखरेल बताउँछन् ।

१५ असार, २०८३ को अनलाइन खबरमा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

मधेसमा अस्पतालजन्य फोहोरको संकट– संक्रमणको जोखिम बढ्दो

मधेसमा अस्पतालजन्य फोहोरको संकट– संक्रमणको जोखिम बढ्दो

मधेशका अस्पतालबाट निस्कने फोहोरको सुरक्षित व्यवस्थापन हुन नसक्दा अस्पतालभित्र सुरु भएको जोखिम समुदायसम्म फैलिएको छ । करोडौं रुपैयाँका संरचना प्रयोगविहीन...
अपराधको कठघरामा बाल्यकाल

अपराधको कठघरामा बाल्यकाल

कलिलैमा बालबालिकालाई अपराधमा धकेल्न पारिवारिक विखण्डन, मानसिक तनाव र कमजोर सामाजिक संरक्षण मुख्यरूपमा जिम्मेवार छन्। उनीहरूलाई जोगाउनुपर्ने परिवार, समुदाय र...
देशलाई गौरवको आयोजना, आदिवासीलाई थातथलोबाटै लखेटिने भय

देशलाई गौरवको आयोजना, आदिवासीलाई थातथलोबाटै लखेटिने भय

राष्ट्रिय गौरवको आयोजना, तनहुँ जलविद्युत् आयोजनाले ऊर्जा उत्पादनको लक्ष्य पछ्याइरहँदा प्रभावित आदिवासी समुदाय भने भूमि, संस्कृति र थातथलो गुम्ने त्रासमा...