खोज रिपोर्ट
- ०६९ जेठमा सिराहाको औरहीमा भीषण आगलागी भयो । तत्कालीन औरही गाविस– ६ का सतन यादवको घरबाट सल्किएको आगो केहीबेरमै गाउँभर फैलियो । आगलागीबाट वडा नम्बर ३, ४, ५, ६ र ७ का ११ सयभन्दा बढी घर जले । आगलागीमा परी घाइते भएकी औरही– ५ का सुमेशकुमार यादवकी चार वर्षीया छोरी उषाकुमारीको उपचारका क्रममा दुई दिनपछि जिल्ला अस्पताल सिराहामा मृत्यु भयो । लहान नगरपालिकाले आफूसँग भएको एउटा दमकलबाट आगो निभाउने प्रयास गरे पनि बस्तीसम्म मोटरबाटो नहुँदा धेरै क्षति भयो । १४ वर्षअघिको त्यो भयावह घटनाको त्रास स्थानीयका आँखामा अहिले पनि ताजै छ । त्यसपछि नै हो, यहाँका गाउँबस्तीमा बाटो फराकिलो बनाउने र जस्तापाताको छानो हाल्ने अभियान सुरु भएको।
- २९ चैत ०८० मा जिल्ला सदरमुकाम सिराहामा रहेको सय शøयाको प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी भयो । अचानक विद्युत् आपूर्ति बन्द भएपछि डायलाइसिस गराउन आएका सिराहा बरियारपट्टी गाउँपालिका– २, खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भयो । दासको शरीरमा रगतको कमी भएकाले रगत चढाइएको थियो । आगलागीपछि स्वास्थ्यकर्मीले रगत चढाउने पाइप छुटाइदिए । तर, रगत चढाउन शरीरमा लगाइएको क्यानुलाको क्याप बन्द नगरिदिँदा त्यहींँबाटै रक्तस्राव भई उनको मृत्यु हुन पुग्यो । अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. सुनीलकुमार कुसवाह बजेट अभावका कारण आगलागी नियन्त्रणका लागि चाहिने पर्याप्त उपकरण जडान गर्न नसकिएको स्विकार्छन् ।
- २९ माघ ०७९ मा सिराहाको गोलबजार नगरपालिका– ६ मा रहेको सिराहा सुपरमार्केट प्रालिद्वारा सञ्चालित ‘एबी मल’को गोदाममा आगलागी भयो । आगलागी भएको करिब तीन घण्टापछि गोलबजार, सिराहा र लहान नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइयो । गोदाममा आगलागी हुँदा पाँच करोड ५० लाख रुपैयाँभन्दा बढीको सामग्री जलेर नष्ट भएको एबी मल व्यवस्थापन पक्षको दाबी छ । करिब २५ करोड रुपैयाँ लागतको सो मल ४ असोज ०७६ देखि सञ्चालनमा आएको थियो ।
- २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा मधेश प्रदेशका आठवटै जिल्लाका सरकारी कार्यालयमा आगजनी भयो । आगजनी र तोडफोडका कारण ९० वटा प्रहरी चौकी र २०७ सरकारी कार्यालयमा क्षति पुग्यो । त्यसवेला आन्दोलनकारीले सडकसमेत अवरुद्ध गरेपछि सिराहा नगरपालिकासँग भएको वारुणयन्त्र पनि प्रयोगमा आउन सकेन, नगरपालिकामै थन्कियो ।
-copy-1781586618.jpg)
जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा नापी कार्यालय (भूमि प्रशासन), प्रहरी कार्यालय, कारागार आदि सेवाग्राहीको बढी चाप हुने सरकारी कार्यालयमा पर्छन् । बैंक तथा वित्तीय संस्था, सपिङ कम्प्लेक्स, होटेल, अस्पताल पनि भिडभाड हुने कार्यालय हुन् । मधेशमा पछिल्लो समय बनेका सरकारी भवनमासमेत आगलागी भइहालेमा नियन्त्रणको उपाय छैन ।
पाँच करोड रुपैयाँ लागतमा नरहा गाउँपालिकाले बनाएको नयाँ प्रमुख प्रशासकीय भवनमा समेत आगलागीको जोखिमप्रति बेवास्ता गरिएको छ । ०८० वैशाखदेखि सेवा सुरु गरिएको नयाँ भवनमा पर्याप्त मात्रामा फायर एक्सटिङग्विसरलगायत सामग्री छैनन् । गत २४ भदौको जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा कार्यालयका कम्प्युटर, कुर्सी, टेबुल, ६ वटा मोटरसाइकलमा क्षति पुगेको थियो ।
१६ करोड लागतमा बनेको धनगढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय भवन १५ जेठ ०८० सञ्चालनमा आएको थियो । भवनमा जेन–जी आन्दोलनका क्रममा आगजनी भएको थियो । तर, भवनमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गर्नुपर्ने फायर अलार्म, स्मोक डिटेक्टर, फायर एक्सटिङग्विसर आदिको प्रबन्ध छैन । जिल्लाका सरकारी कार्यालय मात्र नभएर जनकपुरधामस्थित प्रदेश मन्त्रालयहरूको हालत पनि उस्तै छ । सानो–सानो कोठाका कार्यालयका केही ठाउँमा फायर एक्सटिङग्विशर मात्र राखिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया जोखिम अत्यधिक भएकाले आगलागीबारे पालिकाले सचेतना जगाउनुपर्ने बताउँछन् । जिल्ला विपत् व्यवस्थापन समितिका तर्फबाट आवश्यक सहयोग गर्न आफूहरू सधैँ तयार रहेको उनको भनाइ छ । गत भदौमा जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सारिए पनि आगलागी जोखिम नियन्त्रणका सामग्री जडान गरिएको छैन । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल सम्भावित सबै प्रकारका विपत् नियन्त्रणका लागि जिल्ला विपत् व्यवस्थापन समितिलाई तयारी अवस्थामा राखिएको बताउँछन् ।
मधेश जनसंख्या र जनघनत्वका हिसावले दोस्रो ठुलो प्रदेश हो । राष्ट्रिय जनगणना, २०७८ अनुसार मधेशका ११ लाख ५६ हजार ३८३ घरधुरीमध्ये ८२ हजार ९९९ घरमा अझै पनि फुस (पराल)को छानो छ । सप्तरीमा नौ हजार ५२५, सिराहामा १२ हजार ३१५, धनुषामा ६ हजार ४४१ र महोत्तरीमा ६ हजार ६८५ परिवारको घर फुसले छाएको छ । सर्लाहीमा १३ हजार ७७, रौतहटमा १३ हजार २३३, बारामा १२ हजार २८९ र पर्सामा १० हजार ४३४ परिवारको घरमा फुसको छानो छ ।
पूर्व–पश्चिम राजमार्ग विस्तारसँगै राजमार्गछेउछाउमा बस्ती सुरु भए पनि मधेशको ठुलो बस्ती राजमार्गदेखि दक्षिणमा हुलाकी राजमार्गवरिपरि केन्द्रित छ । घना बस्तीका कारण सप्तरी सदरमुकाम हनुमाननगर (हाल राजविराज), सिराहा सदरमुकाम सिराहा, धनुषा सदरमुकाम जनकपुरधाम, महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा, रौतहट सदरमुकाम गौर, बारा सदरमुकाम कलैया र पर्साको सदरमुकाम वीरगन्ज पनि दक्षिणमै पर्दछ ।
पाँच अर्ब ६६ करोडबराबरको क्षति
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो १४ वर्षमा सप्तरीमा आगलागीको सबैभन्दा धेरै घटना भएको छ । अगलागीका एक हजार ३१९ घटनामा १२ जनाको मृत्यु भएको थियो भने १४४ जना घाइते भएका थिए । त्यसबाट एक हजार ६१८ घर जलेर पूर्ण क्षति भएको थियो । भौतिक संरचना र पशु चौपाया गरी एक अर्ब एक करोडहाराहारी क्षति भएको थियो । सिराहामा आगलागीका एक हजार ११५ घटनामा २६ जनाको मृत्यु तथा १२१ जना घाइते भएका थिए । ४६३ घरमा पूर्ण क्षति भएको थियो । भौतिक संरचना र पशु चौपायामा गरी करिब ४९ करोड ५१ को क्षति भएको थियो । धनुषामा भएका एक हजार ३५ घटनामा ४६ जनाको मृत्यु र २११ जना घाइते भएका थिए । २०९ घरमा भएको पूर्ण क्षति र पशु चौपाया गरी ४२ करोड ७४ लाखबराबरको क्षति भएको थियो ।

बारामा भएका आगलागीका एक हजार आठ घटनामा १७ जनाको मृत्यु हुँदा १६१ जना घाइते भएका थिए । ३६८ घर र पशु चौपायासमेत करिब दुई अर्ब सात करोडको क्षति भएको थियो । सर्लाहीमा ९७९ आगलागीका घटनामा परी १५ जनाको मृत्यु र १०३ जना घाइते भएका थिए । ४०५ घर र पशुचौपायासहित ४६ करोड ४० लाखबराबरको क्षति भएको थियो । रौतहटमा ९६५ घटनामा १६ जनाको मृत्यु हुँदा १३२ जना घाइते भएका थिए । ४५१ घर र पशु चौपायासमेत करिब ५२ करोड २५ लाख क्षति भएको थियो । पर्सामा ९२० आगलागीको घटनामा २० जनाको मृत्यु भएको भने ४२० घर नष्ट भएको थियो । नष्ट घर र पशु चौपायासमेत करिब ७३ करोड क्षति पुगेको थियो । २१ जनाको मृत्यु भएको महोत्तरीमा भौतिक क्षति भने सबैभन्दा कम भएको थियो । २४६ घरमा पूर्ण क्षति तथा पशु चौपायासेमत करिब २३ करोड ५० लाख क्षति भएको थियो ।
छैनन् सुविधासम्पन्न बर्न अस्पताल
मधेश प्रदेशका आठ जिल्लामा ०७० पछिका आगलागीका घटनामा १७३ जनाले ज्यान गुमाएका छन् । एक हजार ११७ जना घाइते भए । तर, घाइतेहरूको उपचारका लागि मधेश प्रदेशमा सुविधासम्पन्न अस्पताल छैन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित जनकपुर अस्पतालको पुरानो भवनको जनरल वार्डमा आगलागीका बिरामीका लागि ६ वटा बेड छुट्याइएको छ । आगलागीमा परी घाइते भएकाको उपचार गर्न सर्जन डाक्टर, नर्ससहितको व्यवस्थापन भए पनि सुविधासम्पन्न भवन नभएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुनप्रसाद सिंहले बताए । चिसो मौसममा विद्युतीय कारणले आगलागीमा परी घाइते भएर आउने बढी हुने गरेको भन्दै उनले संक्रमणमुक्त (आइसोलेडेट वार्ड)को सुविधा हुनुपर्नेमा पुरानो भवनबाट सेवा दिन बाध्य भएको बताए ।
-copy-1781586855.jpg)
स्थानीय तह १३६, दमकल ४६
मधेश प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तह छन् । तर, प्रदेशमा आगलागी नियन्त्रणका लागि जम्मा ४६ वटा दमकल रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सा जिल्लामा १४ पालिकामध्ये चार पालिकासँग मात्र पाँचवटा वारुणयन्त्र छन् । वीरगन्ज उपमहानगरपालिकासँग दुई, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकासँग एक–एकवटा वारुणयन्त्र छन् । बाराका १६ पालिकाध्ये पाँच पालिकासँग मात्र वारुणयन्त्र छ । कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका र निजगढ नगरपालिकासँग एक–एकवटा वारुणयन्त्र छन् । रौतहटका १८ मध्ये चारवटा पालिकासँग पाँचवटा वारुणयन्त्र छन् । गौर नगरपालिकासँग दुई तथा गरुडा नगरपालिका, राजपुर नगरपालिका र चन्द्रपुर नगरपालिकासँग एक–एकवटा वारुणयन्त्र छन् ।

सर्लाहीका २० पालिकामध्ये जम्मा तीनवटा पालिकासँग मात्र वारुणयन्त्र छन् । मलंगवा नगरपालिका, बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकासँग एक–एकवटा वारुणयन्त्र छन् । महोत्तरीका १५ पालिकामध्ये ६ वटा पालिकासँग ६ वटा वारुणयन्त्र छन् । जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, रामगोपालपुर नगरपालिका, बर्दीबास नगरपालिका, गौशला नगरपालिका र सम्सी नगरपालिकासँग एक–एकवटा वारुणयन्त्र छन् । त्यस्तै, धनुषाका १८ पालिकामध्ये चारवटा पालिकासँग मात्र वारुणयन्त्र छन् । जनकपुरधाम उपमहानगनरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकासँग एक–एकवटा वारुणयन्त्र छन् । सिराहाका १७ पालिकामध्ये चारवटा पालिकासँग वारुणयन्त्र छ । सिराहा नगरपालिका, लहान नगरपालिका, गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकासँग एक–एकवटा वारुणयन्त्र छन् । सप्तरीमा १८ पालिकामध्ये चारवटा पालिकासँग वारुणयन्त्र छन् । राजविराज नगरपालिका, कञ्चनरूप नगरपालिका, शम्भुनाथ नगरपालिका र हनुमाननगर कंकालनी नगरपालिकासँग एक–एकवटा वारुणयन्त्र छन् ।
यसबाहेक मधेश प्रदेशमा सुरक्षा निकायलगायतसँग १० वटा वारुण यन्त्र रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांक छ । नेपाल आयल निगम, अमलेखगन्ज, सशस्त्र प्रहरी बेस क्याम्प, सन्तपुर रौतहट, कालीध्वज गण पाँचकुमारी ब्यारेक, सर्लाही, मध्यपृतना ब्यारेक, बर्दीबास, नन्द बक्स गण, सिराहा, बरख गण, सप्तरी, मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुरधाम हाल सप्तरी, मधेश प्रदेश विपत् व्यवस्थापन गुल्म, धनुषा, मधेश प्रदेश प्रहरी गण, धनुषा र नेपाल प्रहरी विशेष सुरक्षा गण, धनुषामा एक–एक वटा वारुणयन्त्र छन् ।
१७ भदौ ०७८ मा प्रदेश सरकारले स्थानीय तहलाई वारुणयन्त्रलगायत सामग्री हस्तान्तरण गरेको थियो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले धनुषाको गणेशमान चारनाथ नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, पर्साको प्रसौनी गाउँपालिका र महोत्तरीस्थित नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दीबासलाई वारुणयन्त्र हस्तान्तरण गरेको थियो ।
थपखोज रिपोर्ट
नेपाली युवा–सपनाको चिहान बन्दै मेघालयका कोइलाखानी
दुर्घटना हुँदा उद्धार टोली नआउने, घाइतेले उपचार वा मृतकका परिवारले क्षतिपूर्ति र कानूनी संरक्षणसम्म नपाउने मेघालयका ज्यानमारा र्याटहोलहरूमा किन छिरिरहेका...
लगानी जुटाउने नाममा वर्षौंदेखि कर्णालीका नदी ‘कब्जा’
१८ हजार मेगावाट क्षमताको कर्णालीमा अहिले करिब १० मेगावाट मात्रै उत्पादन भइरहेको छ । वर्षौंदेखि अनुमतिपत्र लिएर बस्ने, तर काम...
प्रतिक्रिया दिनुहोस्