खोज रिपोर्ट

पोखराको सडकमा एक्लै भौंतारिंदै थिइन् सपना नेपाली। गर्भवती जस्ती देखिने बालिका रुग्ण अवस्थामा देखेपछि स्थानीय एक दम्पतीले उनलाई सहारा दिए। १४ वर्ष नपुगेकी बालिकाले त्यो घरमा खान र बस्न पाइन्।
व्यथा लागेपछि उनलाई अस्पताल लगियो। अस्पतालमा दर्ता गरिएको सपनाको उमेरले उनलाई बालिग देखाउँथ्यो। तर, उनको शारीरिक अवस्था नाबालिग देखिएपछि अस्पतालका कर्मचारीले केरकार गरे। त्यसपछि थाहा भयो, उनी १३ वर्ष नपुग्दै बलात्कारमा परेकी रहिछन्।
बलात्कार पीडितलाई समाजमा पुनस्र्थापनाको प्रयास गर्नु परिवार, समाज र राज्यको दायित्व हो। न्यूनतम मानवीय संवेदना पनि यही हो। तर, नेपालमा न कसैले यो दायित्व निर्वाह गरिरहेको छ न त सपनाको अभिभावकत्व ग्रहण गर्ने नै कोही छ।
पुस महिनाको पहिलो साता संरक्षण गृहको आँगनमा उदास देखिएकी सपनाले काखको छोरातर्फ संकेत गर्दै भनिन्, “म यत्रै छँदा आमाले छाडेकी हुन्। सधैं रक्सी खाएर घर आउने बुवाले पिट्थे।”
तीनै बुवाले पनि घरमा अर्की महिला भित्र्याएपछि सपनाले गाउँ छाडिन्। हातमा एक पैसा थिएन, सोधखोज गर्ने कोही भएन। काम खोज्ने क्रममा शहरको सडकमा कैयौं रात बिताएपछि उनले होटलमा काम पाइन्। तर, तीनै होटल साहुबाट बलात्कृत हुनुपर्यो।
१४ वर्ष पनि नपुगेकी बालिका यति त्रासमा थिइन् कि, न भाग्न सकिन्, न त प्रतिकार गर्न नै। अलिक हिम्मत जुटाएर एक दिन साहुनीलाई सबै कुरा सुनाइन्। तर, साहुनीले उल्टै होटलबाट निकालिदिइन्। एकातिर खाने–बस्ने ठाउँ छैन, अर्कोतिर पेटको आकार बढ्दैछ। निराश, हतास उनी आफन्त खोज्दै मावली पुगिन्।
सपनालाई घरमा ल्याएका पोखराका ती दम्पतीका एक मात्र सन्तान अपाङ्गता भएका छन्। उनीहरूमा सपना सुत्केरी भएपछि शिशुलाई आफैंले लिने चाहना थियो। त्यसैले उनीहरू सपनाको उमेर बढाएरै विना कुनै झन्झट शिशु आफूसँग राख्न चाहन्थे। त्यसो हुन नसकेपछि उनीहरूले पनि पिठ्यूँ फर्काए।
संरक्षण गृहमा रहेकी सपना असाध्यै न्यास्रो लाग्दा मावली हजुरआमालाई फोन गर्छिन्। वृद्धावस्थाकी हजुरआमा उनलाई भेट्न आउन सक्दिनन्, उनी मावली जान पाउँदिनन्।
सपनाकै उमेरका बालिकाहरू विद्यालय गइरहेका छन्। तर उनलाई आफ्नो नाम समेत राम्रोसँग लेख्न आउँदैन।
अब स्कूल जाने कि ?
“बच्चाको आमा स्कूल जान शरम लाग्छ”, सपनाले भनिन्।
सपना जस्तै कलिलो उमेरमा बलात्कृत भएका बालिका र उनीहरूबाट जन्मिएका शिशुको संरक्षण र व्यवस्थापनमा सरकारले आँखा चिम्लिंदा उनीहरू समाजमा पुनस्र्थापित हुनु त परको कुरा आधारभूत आवश्यकताकै संकटमा छन्। अर्कोतर्फ बालिका बलात्कार र हिंसाका घटना कम पनि भएका छैनन्।
जताततै पीडक
“बुवा जेलमा, आमा पोइल गइन्” परिवारमा को को छन् भन्ने प्रश्नको उत्तरमा चितवनकी १३ वर्षीया ममता ठकुरीले भनिन्, “सानै हुँदा आमा अर्कैसँग गएपछि घरमा बुवा, म र भाइ मात्र थियौं।”
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतका अनुसार ११ देखि १६ वर्ष उमेर समूहका बालिकाहरू यौन हिंसाको जोखिममा छन्। र, यीमध्ये अधिकांश बालिका आफन्त र चिनजानकाबाटै हिंसामा पर्छन्।
ममतालाई आफू प्रहरी बन्ने इच्छा छ। तर, उनको परिवार र आफन्त कोही पनि साथमा छैनन्। बुवा जेल परेपछि आफन्त सबैले उनैलाई गाली गरिरहेका छन्।
बलात्कारको अर्थ नबुझेका कलिला नानीलाई आफ्नै परिवार र समाजको साथ नहुँदा पीडा झन् धेरै खेप्नुपर्छ। “हाम्रो समाज महिलाद्वेषी छ” महिला अधिकारकर्मी बिना सिलवाल भन्छिन्, “पीडित बालिकालाई दोष दिएर बलात्कारी जोगाउन सिंगो समाज लागिपर्छ ।” उनले बालिकाहरू परिवारबाटै असुरक्षित रहेको बताइन्।
नेपाल प्रहरीको तथ्यांक अनुसार आ.व. २०७९/८० मा १८ वर्ष मुनिका १ हजार ५१५ वटा बालिका बलात्कारका मुद्दा दर्ता छन्। यसमध्ये १० वर्षमुनिका २५९, ११–१६ उमेर समूहका ९४४ र १७–१८ उमेर समूहका ३१२ छन्।
यो तथ्यांकबाट स्पष्ट हुन्छ– नेपालमा हरेक दिन औसतमा ४ जना बालिका बलात्कृत भइरहेका छन्। यस वर्ष मात्रै बालिकामाथि जबरजस्ती करणी उद्योग अर्थात् बलात्कारको प्रयासका मुद्दा २२८ वटा दर्ता भएका छन्।
बलात्कार र हिंसामा परेका बालिकाहरु डर र लज्जाको बोझले थिचिएर मौन भइदिन्छन्, र यस्तो मौनता निकै घातक हुनसक्छ। कास्कीकी सुनिताको हकमा पनि त्यस्तै भयो।
झ्यालमा झुन्डिएर आत्महत्याको प्रयास गरिरहेकी कास्कीकी १५ वर्षीया सुनितालाई छिमेकीले देखेर बचाए। बेहोश भइसकेकी उनलाई अस्पताल लगियो। उपचारपछि सोधपुछ गर्दा थाहा भयो– उनी लामो समयदेखि बलात्कारमा परेकी रहिछन्।
उनी काम गर्ने होटलका साहु एक रात सुनिताको कोठाको ढोका फोडेरै भित्र पसे। र, दुष्कर्म गरे। साहुको ज्यादती बढ्दै गयो, उनले आफ्नो पीडा सुनाउने भरपर्दो कोही भेटिनन् र आत्महत्याको प्रयास गरिन्।
गएको पाँच वर्षमा बालिका बलात्कारका ७ हजार ५५३ घटना प्रहरी कार्यालयमा दर्ता भए। यी घटनाबाट गर्भवती भएका र बच्चा जन्माएका बालिकाको अभिलेख भने कुनै निकायसँग छैन।
कसैलाई भनेमा बा–आमालाई मार्छु भन्दै धम्काएपछि उनले चुपचाप सहिन् र बारम्बार बलात्कारमा परिरहिन्।
पहिले पनि महीनावारी समयमा नहुने हुँदा सविताका परिवारले थाहा पाएनन्। नौ महिना लागेपछि एक दिन उनको पेट साह्रै दुख्यो। परिवारले अस्पताल पुर्याएपछि मात्रै थाहा भयो– उनलाई बेथा लागिसकेको रहेछ।
ती बलात्कारी अहिले थुनामा छन्। तर परिवारले सविता र उनको नवजात शिशुलाई घरमा ल्याएनन्। सविताको शिशु अर्कै कुनै निःसन्तान दम्पतीको जिम्मा दिए। सविता भन्छिन्, “नानी तीन महिनाकी भएपछि आमा–बाले नै लगे। राम्रो परिवार छ भनेर गुपचुप अर्कैको जिम्मा लगाएछन् ।”
बालबालिका ऐन २०७५ ले प्रत्येक बालबालिकालाई आफ्नो बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकबाट उचित हेरचाह, संरक्षण, पालनपोषण र माया प्राप्त गर्ने अधिकार हुने व्यवस्था गरेको छ। तर बलात्कृत बालिकाहरूले न संरक्षण न त उनीहरूका सन्तानले उचित स्याहार र स्नेह पाएका छन्।
हामीले भेटेका यस्ता बालिका आमामध्ये कतिपयले बच्चा आफैं हुर्काइरहेका छन्। कसैले आफ्ना सन्तान बालगृहमा छाडेका छन् त केहीले अरूलाई धर्मसन्तानका रूपमा दिएका छन्। आफैं बच्चा हुर्काउने आँट गरेका वा बाध्यतामा परेका बालिकाहरूको अवस्था साह्रै दयनीय छ। उनीहरू सानातिना कामदेखि मागेरैसम्म बच्चा हुर्काइरहेका भेटिए। बिहान बेलुका छाक टार्नकै संघर्षमा समय विताइरहेका बालिका आमाहरू आफैं मानसिक र शारीरिक अस्वस्थतामा छँदा उनीहरूले शिशुलाई उचित स्याहार र पोषण कसरी दिन सक्लान् ! धर्मसन्तानका रूपमा लगिएका शिशुको अवस्थाबारे पनि कसैले अनुगमन गरिरहेको छैन।
सुरक्षा घर सपना मात्रै
सरकारले हिंसापीडित महिला तथा बालिकाको सुरक्षाका लागि प्रदेशस्तरीय सुरक्षा घर निर्माणको अवधारणा ल्याएको थियो। सातै प्रदेशमा खोलिने सुरक्षा घरले महिला तथा बालिकाको आकस्मिक उद्धार गर्ने, अस्थायी संरक्षण दिई सुरक्षित बसोबासको व्यवस्था गर्ने भनियो। तर अहिलेसम्म कुनै पनि प्रदेशमा सुरक्षा घर बन्न सकेको छैन।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव इन्दु घिमिरे भन्छिन्, “एशियाली विकास बैंक र नेपाल सरकारको सहकार्यमा सेफ हाउस बनाउन खोजिएको हो तर, विविध कारणले सकिएको छैन ।”
प्रहरी प्रवक्ता कुवेर कडायत भन्छन्, “हिंसामा परेका बालिकाका लागि कानून बलियो छ, प्रहरीकोमा आएका घटनामा बालिकाले न्याय पाएका छन्, तर त्यसपछि के भन्ने प्रश्न जटिल छ। हामीकहाँ सेफ हाउस छैनन्; पढाइ, स्वास्थ्य, परिवार र समाजमा पुनस्र्थापनाका लागि बलियो संयन्त्र छैन ।”
मानवअधिकारको क्षेत्रमा कार्यरत अधिवक्ता मोहना अन्सारी महिला हिंसाका अधिकांश मुद्दामा पीडितले न्याय नपाएको बताउँछिन्। अन्सारी भन्छिन्, “नेपाली समाजमा महिलाहरू सुरक्षित छैनन्। उल्टै पीडितमाथि लाञ्छना लगाइन्छ ।”
हरेक क्षेत्रमा महिलालाई समान अवसर नदिए र सम्मानपूर्ण व्यवहार नभएसम्म महिला र बालिकाको सम्मानित जीवनको अधिकार टाढै रहेको उनी बताउँछिन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का गण्डकी संयोजक शिव खकुरेल महिलालाई दोस्रो दर्जाका रूपमा हेरिने सामाजिक संरचना रहेसम्म महिला र बालिकामाथि हुने हिंसाका घटना नरोकिने बताउँछन्। उनका अनुसार इन्सेकले गरेको अध्ययनमा पनि बालिकामाथि हुने हिंसाका घटनामा बलात्कारका घटना नै बढी छन्।
सुरक्षित र स्वस्थ जीवनको अधिकार संविधानले प्रत्याभूत गरे पनि सरकारले यो संवैधानिक र न्यूनतम मानवीय व्यवस्था कार्यान्वयन गर्न सकिरहेको छैन। हाम्रा नानीहरू डर, दबाव र हिंसामा बाँचिरहेका छन्।
थपखोज रिपोर्ट

सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन
तरकारीको उत्पादनदेखि बजारसम्मको नेटवर्क निर्माण गरी किसानलाई उचित मूल्य र उपभोक्तालाई सुपथ मूल्यमा तरकारी उपलब्ध गराउने भनी झण्डै एक अर्ब...
कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौंका डीपीआर
कोशी प्रदेश सरकारले करोडौं रुपैयाँ खर्च गरेर बनाएका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयनमा जानै नसक्ने अवस्थामा छन्। कार्यकर्ता पोस्न र...
प्रतिक्रिया दिनुहोस्