खोज रिपोर्ट

महाकाली नदी छेउको डाँडामाथि छ, धौल्याली गाउँ। सिलेट ओछ्याइएको छाना र कमेरो पोतिएका घर टाढाबाट उज्याला देखिन्छन्। गाउँको सिरानमै छ, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर। गाउँको पूर्व–पश्चिम मोहडा हुँदै तन्किएको छ, मध्यपहाडी लोकमार्ग। उत्तर–दक्षिण भएर १२ मिटर चौडा महाकाली करिडोर अगाडि बढेको छ। यातायात, खानेपानी र सिंचाइ सुविधा छ। तर गाउँभित्रको कथा विरक्तलाग्दो छ।
दशरथचन्द नगरपालिका–८ त्रिपुरामा बाँदरको जोडी । तस्वीरहरु: लोकेस साउद
बैतडीमा बाँदरको उपद्रोले दशक अघिसम्म हराभरा गाउँहरू यसैगरी मानवविहीन बन्न थालेका छन्। ठूलो मात्रामा खेती हुँदै आएको जमीन बाँझिएको छ।
म औषधि किनेर पिथौरागढबाट आउँदैथिएँ, जाली लगाएको ठूलो ट्रकको पछाडिको भाग तीन–चार जना मिलेर खोलेपछि डेढ–दुई सय बाँदर हुरुरु जंगलतर्फ भागे।
गोविन्दराज जोशी
दशरथचन्द नगरपालिका–५ को तल्लीआयत गाउँका ५१ मध्ये ३७ परिवारले घर छोडिसकेका छन्। बाँकी १४ घरमा पनि उमेर ढल्केका मात्र बाँकी छन्। स्थानीय शिक्षक राजु लेखक देउताप्रति दृढ आस्था राख्ने वृद्धवृद्धाले मात्रै गाउँ छोड्न नसकेको बताउँछन्। उनी भन्छन्, “छोराछोरीले छोडेर गए पनि घरका देउतालाई पोखल (पूजा सामग्री) चढाउन छाड्नुहुँदैन भन्ने मान्यताले उनीहरू बसिरहेका हुन्।” घर रुँगेर बसेकालाई गएकाहरू फर्किएलान् भन्ने आशा पनि छैन। ७९ वर्षीय बिरपल दमाई भन्छन्, “१२ जना छोराबुहारी र २० जना नातिनातिना लाखापाखा लागिसके। म चाहिं सालनाल गाडेको ठाउँमा परान छोड्ने भनेर कुरिरहेको छु।”
‘पहिला बेच्थ्यौं, अहिले किनेको खान मुश्किल’
दशरथचन्द नगरपालिका–८ को नलतडीमा १० वर्ष अघिसम्म ३० परिवारको बसोबास थियो। महाकाली किनारको यो गाउँमा करीब १५०० रोपनी खेतमा खोलाको पानी लाग्छ।
गाउँकै एकछेउको ४० रोपनी जग्गामा फलफूल र तरकारी खेती गर्ने डम्बरसिंह थापाले पोलिहाउस बनाएर बेमौसमी तरकारी फलाउँथे। बगैंचामा आँप, केरा, कागतीलगायत फलफूल लटरम्म हुन्थे। तर, बाँदर आतंक शुरू भएपछि छिमेकीहरू गाउँ छोडेर हिंड्न थाले। हेर्दाहेर्दै पूरै गाउँ उठेपछि गएको हिउँदमा डम्बर पनि नजिकै भट्टाडमा बसाइँ सरे।
पछिसम्म जेनतेन गाउँमै बसिरहेका डम्बर भन्छन्, “गाउँले सबै हिंडेपछि त बाँदरको हूलले मलाई नै निशाना बनाए। बारीको तरकारी, फलफूल खाइदिने मात्रै होइन, घरभित्रको चिजबिज पनि जोगिएन।” अहिले गाउँ रित्तो छ। नलतडी गाउँका जीर्ण घरहरू झाडीभित्रै हराएका छन्। गाउँमा दिउँसै बँदेल, रतुवा, घोरल, चितुवा देखिन्छन्।
दशरथचन्द नगरपालिका–८ नलतडीमा डम्बरसिंह थापाले आधुनिक खेती शुर गरे पनि बाँदरकै कारण विस्थापित हुनपर्यो ।
केही वर्षअघिसम्म खेतीपातीबाट पर्याप्त आम्दानी गरिरहेकाहरू अहिले किनेर ल्याएको सामान पनि सन्तोषले खान पाउँदैनन्। १५ वर्ष अघि बिहे गरेर लीला गुरु आठबिसी आउँदा गाउँका सबैले खेतीपाती गर्थे। उनको परिवारले करीब १० रोपनी जमीनमा गरेको खेतीबाट वर्षभरि खान पुग्थ्यो। बढी भएको दाल र मकै बेच्दा अन्य गर्जो टथ्र्यो। दशरथचन्द नगरपालिका–८ कि वडा सदस्य लीला भन्छिन्, “अहिले जमीन बाँझै छ। किनेरै ल्याएको पनि बाँदरबाट जोगाउन सके मात्र खान पाइन्छ।”
यहाँका बासिन्दाले गाउँ छोडिसके, विद्यार्थी कहाँबाट हुनु, ६ जना शिक्षक छौं, नियमित विद्यालय आउने ६ जना विद्यार्थी पढाइरहेका छौं।
शिक्षक मञ्जु थापा भन्छिन्
दशरथचन्द नगरपालिकाको तथ्याङ्क अनुसार बाँदरले बढी सताएका चार वटा वडामा ७५ हजार १०४ रोपनी जग्गा बाँझो छ। यस क्षेत्रको एक हजार ३२३ रोपनी जमीनमा मात्र खेती गरिए पनि त्यसमा बाँदरले दुःख दिइरहेको नगरपालिकाका अमिन महादेव भट्ट बताउँछन्।
बाँदरले उपद्रो मच्चाउन थालेपछि बैतडीको दोगडाकेदार गाउँपालिका–४ का किसानले पनि खेतीपाती गर्न छोडेका छन्। किसान हरिशरण भट्ट भन्छन्, “घरभित्र पसेका बाँदर लखेट्न पनि गाउँलेको हूल नै चाहिन्छ। एक–दुई जनालाई टेर्दैनन्।”
बाँदरको उपद्रो कतिसम्म छ भने बाटोमा एक्लै हिंडेका महिला र बालबालिका भेटे झम्टिन्छन्। गाउँको पीपल चौतारीमा पनि बाँदरले बस्नै दिंदैन। पूर्व वडाध्यक्ष सुरेन्द्र भट्टले सुनाए, “मेरै खेतमा सात, आठ क्वीन्टल मकै फल्थ्यो। सरकारले मकै जोन घोषणा गरेको थियो। तर अहिले यहाँ मकैको रोटी खान पाइँदैन।” उनका अनुसार भारतीय सीमा क्षेत्रबाट शुरू भएको बाँदरको प्रकोप विस्तारै अन्य ठाउँमा फैलिएको हो
जनसंख्या घट्यो, विद्यालय बन्द भए
बाँदरको त्रासले सदरमुकाम समेत रहेको दशरथचन्द नगरपालिका– ५, ६, ८ र १० नम्बर वडामा पर्ने धौल्याली, साङडी, पुजरगाउँ, त्रिपुरा, पल्लाचौंडाली, आईत, भटाला, झाका, बुड्डा, खडेनी लगायत गाउँबाट सयौं परिवारको उठिबास लागिसकेको छ। बाँदरको प्रकोप छिमेकी दोगडाकेदार गाउँपालिकामा पनि शुरू भएको छ।
“पहाडबाट हुनेखानेहरू तराई झर्ने चलन त पुरानै हो तर, सदरमुकाम भएकोले हाम्रोतिर निकै कम थियो” दशरथचन्द नगरपालिकाका पूर्वप्रमुख नरेन्द्र थापा भन्छन्, “बाँदर आतंकले बसाइँ सर्नेहरू किसान नै बढी छन्।” यसरी गाउँ छोड्नेमध्ये आर्थिक अवस्था राम्रो भएकाहरू तराईतिर बसाइँ सरेको र नहुनेहरू मजदूरीका लागि भारत जाने गरेको उनले जानकारी दिए। भन्छन्, “तराई झर्नेभन्दा भारततिर जानेकै लर्को ठूलो छ।”
धौल्यालीको कैलपाल आधारभुत विद्यालयमा पढाउँदै शिक्षिका
नेपाल–भारतको सीमा नदी महाकालीसँग जोडिएका यी गाउँहरू रित्तिंदै जाँदा नगरपालिकाको जनसंख्याको ग्राफ ओरालो लागेको छ। २०७४ सालमा साबिकका थप पाँच वटा गाविस मिलाएपछि दशरथचन्द नगरपालिकाको जनसंख्या ३६ हजार ९४७ पुगेको थियो। तर, २०७८ को जनगणनामा ३१ हजार ७८६ मा झरेको छ। नगरपालिकाको पञ्जीकरण शाखाको अभिलेख अनुसार वडा नं. ५, ६, ८ र १० बाट पछिल्लो ५ वर्षमा ४८३ परिवारले बसाइँसराइको प्रमाणपत्र लिएका छन्। नेपालभित्रै बसाइँ सरेर गएकाले यी परिवारहरूको अभिलेख नगरपालिकासँग भएको तर, गाउँ चटक्कै छाडेर स–परिवार मजदूरी गर्न भारत जानेको अभिलेख नरहेको नगरपालिकाका सूचना अधिकारी राजु बिष्टले बताए।
भारतबाट आए बाँदर !
बैतडीमा आतंक मच्चाइरहेका बाँदर नेपालका नभई भारतबाट ल्याएर छोडिएका स्थानीय बासिन्दा बताउँछन्। “इन्डियाबाट ट्रकमा ल्याएर झुलाघाटमा छोड्ने गरेका छन् भन्ने सुनिन्छ। तिनै बाँदर यहाँ आएका हुन्”, दशरथचन्द–१० का वडाध्यक्ष त्रिलोक सिंह बिष्ट भन्छन्।
१९ फेबु्रअरी २०२२ मा भारतीय पत्रिका द टाइम्स अफ इन्डिया मा प्रकाशित एक रिपोर्टमा हरिद्वारबाट बाँदरहरू समातेर सीमा क्षेत्रमा छोड्ने गरिएको उल्लेख छ।
पछिल्लो समय गाउँमा देखिएका बाँदर बढी आक्रामक भएको दशरथचन्द नगरपालिका–५ का वासुदेव भट्ट बताउँछन्। “यहाँका रैथाने बाँदर साना हुन्छन् र मान्छेसँग डराउँछन्” उनी भन्छन्, “अहिलेका बाँदर दाह्री भएका, कसैसँग नडराउने हट्टाकट्टा छन्।” रैथाने बाँदर कुकुरसँग डराउने गरेको तर, अहिलेका बाँदर तीन चारवटा मिलेर कुकुरलाई समेत तर्साउने गरेको उनले सुनाए।
बाँदर आतंकबाट प्रभावित दशरथचन्द नगरपालिका–८ को धौल्याली गाउँ
चार वर्षअघि पिथौरागढ–झुलाघाट सडकको खरक्यौडा भन्ने ठाउँमा दुई ट्रक बाँदर ल्याएर छाडिएको वडा नम्बर ६ का गोविन्दराज जोशीले बताए। उनले भने, “म औषधि किनेर पिथौरागढबाट आउँदैथिएँ, जाली लगाएको ठूलो ट्रकको पछाडिको भाग तीन–चार जना मिलेर खोलेपछि डेढ–दुई सय बाँदर हुरुरु जंगलतर्फ भागे।”
भारतीय बजार झुलाघाटवासी र त्यहाँका जनप्रतिनिधिले पनि भारतका विभिन्न ठाउँबाट बाँदर ल्याएर यहाँ छोड्ने गरिएको बताएका छन्। “मैले पनि सुनेकी छु, हरिद्वार, हल्द्वानीबाट ल्याइएका बाँदर यहाँको वनमा छोडिदिन्छन् अरे। आफैंले देखेकी त छैन” भारत उत्तराखण्डको मजिरकाँडा ग्राम पंचायतकी अध्यक्ष किरन भट्टले हिन्दीमा भनिन्, “सीमाको छेकबार नलाग्ने तीनै बाँदर नेपालतर्फ गएका हुनसक्छन्।” बाँदरको उपद्रो भारततर्फ पनि नेपालमा जस्तै रहेको र नियन्त्रणका प्रयास सफल हुन नसकेको उनले बताइन्।
उत्तराखण्ड राज्यको वन एवं पर्यावरण विभागका एडिसनल सेक्रेटरी डा. धरम सिंह मिणाका अनुसार हिमाञ्चल र उत्तराखण्डमा दश वर्षयता लाखौंको संख्यामा बाँदरलाई पक्रेर ‘बन्दरबाडा’ (ठूलो क्षेत्रमा थुनेर) मा पाल्ने गरिएको छ।
‘बन्दरबाडा’मा राखिएका ती बाँदरमध्ये केही फुत्किएर सीमा क्षेत्रका पहाडमा गएको हुनसक्ने उनी बताउँछन्। भन्छन्, ‘बन्दरबाडाबाट निस्किएका बाँदरहरू नेपालतर्फ पनि पुगेका होलान्।’
बाँदरकै कारण महाकाली नदीको तटीय क्षेत्र झुलाघाटको मलिलो खेतमा खेती हुनै छाडेको भारतीय नागरिक निशा भट्ट बताउँछिन्। उनको भनाइलाई समर्थन गर्दै झुलाघाटकै बासिन्दा हरिबल्लभ भट्ट थप्छन्, “२० वर्ष अगाडि यहाँ बाँदर थिएनन्, यी बाँदर बाहिरबाट ल्याइएका हुन्।”
नियन्त्रणका प्रयास
भारतका उत्तराखण्ड, हिमाञ्चल लगायत ठाउँमा बाँदरको आतंक बढ्दै गएपछि नियन्त्रणका लागि बाँदर मार्ने, बन्ध्याकरण गर्ने, पक्रेर सीमा क्षेत्रमा छोड्ने जस्ता प्रयास भए। तर, बाँदर नियन्त्रणका लागि भएका यस्ता प्रयास सफल हुन नसकेको बीबीसी, द गार्जियन लगायत अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। सन् २०१८ सम्ममा भारतको हिमाञ्चल प्रदेशमा मात्रै १ लाख ४३ हजार बाँदरको बन्ध्याकरण गरिएको बीबीसी हिन्दीले लेखेको छ।
बाँदर आतंक नियन्त्रणका लागि भारतमा थुप्रै प्रयास भइरहे पनि ती आंशिक सफल मात्र भएको भारतीय अधिकारीहरू बताउँछन्। उत्तराखण्डका वन एवं पर्यावरण विभागका एडिसनल सेक्रेटरी डा. मिणा उत्तराञ्चल र उत्तराखण्डमा दश वर्ष यता लाखौंको संख्यामा बाँदर पक्रिएर बन्ध्याकरण गरेपछि त्यसले बाँदरको संख्या घटाउन केही मद्दत पुगेको बताउँछन्। पछिल्लो समय बाँदरलाई गर्भनिरोधक औषधि (पिल्स) खुवाउने परियोजना परीक्षणको क्रममा रहेको उनले जानकारी दिए। “तर बाँदर एक वर्षमा दुई पटक ब्याउने भएकाले यिनीहरूको संख्या निकै छिटो बढ्छ”, उनी भन्छन्।
बाँदरलाई तर्साउने ‘मङ्की गन’ वितरण गर्दै दशरथचन्द नगरपालिकाकी तत्कालीन उप प्रमुख मीना चन्द र ‘मङ्की गन’ लिएर घरतर्फ जाँदै एक महिला ।
बाँदरलाई तर्साउने ‘मङ्की गन’ वितरण गर्दै दशरथचन्द नगरपालिकाकी तत्कालीन उप प्रमुख मीना चन्द र ‘मङ्की गन’ लिएर घरतर्फ जाँदै एक महिला ।
“त्यहाँका बाँदरहरू बढी आतंकित जस्ता छन्। मानिसले बन्दूक वा गुलेली हान्ने गरेका कारण तर्सिएर बढी आक्रामक भएका हुनसक्छन्। भारतबाट समातेर यता छाडिएका कारण पनि त्यसो भएको हुनसक्छ”, उनले भने। भारत, उत्तराखण्डका वन एवं पर्यावरण विभागका एडिसनल सेक्रेटरी डा. मिणा पनि पक्रिएर छोडिएका बाँदर बढी आक्रामक हुने गरेको बताउँछन्।
बाँदरका कारण मानिस विस्थापित हुन थालेपछि २०७५ साल वैशाखमा सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बाँदर र मानव बीचको द्वन्द्वबारे अध्ययन गरेको थियो। वन्यजन्तु विज्ञहरू सम्मिलित उक्त टोलीले तयार गरेको अध्ययन प्रतिवेदनमा बैतडीमा भेटिएका बाँदरहरू सामान्य बाँदर भन्दा बढी चतुर र आक्रामक भएको उल्लेख छ।
प्रतिवेदनमा बाँदर बाह्रैमास गाउँकै आसपास बस्ने गरेको, खेतबारीमा लगाएको अन्न र फलफूल पाक्नु अगावै नष्ट गर्ने र बारम्बार आक्रमण गर्ने गरेकोले यहाँको अवस्था गम्भीर रहेको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ– बाली वा खाद्यान्न जोगाउन मानिस चौबीसै घण्टा सतर्क रहनुपर्ने अवस्था छ। महिला र बालबालिकाप्रति बाँदर बढी आक्रामक छन्, दिउँसै झ्यालढोका बन्द गरेर बस्नुपर्ने अवस्था छ।
बाँदरको उपद्रोबाट आजित भएर दशरथचन्द नगरपालिका–८ धौल्यालीका धेरैले बसाइँ सरेका छन् ।
उक्त प्रतिवेदनमा पनि भारतका धेरै ठाउँबाट बाँदरलाई समातेर अन्यत्र छोड्ने गरिएको उल्लेख छ। उपयुक्त पुनस्र्थापना प्रोटोकल विना स्थानान्तरण गर्दा समस्याको समाधान नभई मानव र वन्यजन्तु बीचको द्वन्द्वको स्थानान्तरण मात्रै हुने पनि प्रतिवेदनमा उल्लेख छ।
बैतडी क्षेत्रमा जंगलको अनुपातमा बाँदरको संख्या धेरै भएकाले समस्या आएको अध्ययन टोलीका सदस्य समेत रहेका वन्यजन्तुविज्ञ धीरेन्द्रबहादुर चन्द बताउँछन्। रातो बाँदर सामान्यतया ३० देखि ३५ वटाको समूहमा देखिने गरेको भए पनि बैतडीमा एउटै समूमा ८०/९० वटासम्म देखिएको छ। चन्द भन्छन्, “यस्तो विरलै हुन्छ, वनजंगलको खण्डीकरण भएका कारण बाँदरहरू बस्तीतर्फ आएका हुन्।”
उपाय प्रयोगशाला
बाँदरलाई रोक्न स्थानीय सरकारहरूले प्रयास नगरेका होइनन्। यद्यपि, ती प्रयास सफल भएका छैनन्। दशरथचन्द नगरपालिकाले २६ साउन २०७४ मा पहिलो नगरसभाबाट बाँदर नियन्त्रणका लागि रु.१० लाख विनियोजन गरेको थियो। सोही अनुसार २६ फागुनमा स्थानीय अगुवा राजेन्द्र भट्टको नेतृत्वमा बाँदर लखेट्ने योेजना बन्यो। नगर प्रमुख नरेन्द्र थापा, वडा नं. ५ का अध्यक्ष नारायण भट्टसहित करीब ४०० स्थानीय बासिन्दा दशरथचन्द नगरपालिका–५ को कलुवाडको मोडमा भेला भए। धेरैका हातमा गुलेली र मट्याङ्ग्रा थिए। कसैले भाला बोकेका थिए। उक्त हूलमा केही थान भरुवा बन्दूक पनि थिए। सबैको एउटै लक्ष्य थियो, नगर क्षेत्रबाट बाँदर लखेटेर १५ किलोमिटर पश्चिम महाकाली कटाउने।
कलुवाड मोडमा धूप–बत्ती बालेपछि बाँदर लखेट्न शुरू गरियो। त्यसक्रममा भरुवा बन्दूकबाट केही बाँदर मारिए। यो खबर प्रहरी हुँदै तत्कालीन प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीसम्म पुग्यो। प्रजिअ जोशीले मेयर थापालाई तत्काल फोन गरेर बाँदर लखेट्ने कार्य बन्द गर्न निर्देशन दिए। त्यसपछि त्यो कार्यक्रम त्यसै तुहियो।
१३ साउन २०७७ मा पनि दशरथचन्द नगरपालिकाकी उपमेयर मीना चन्दलगायत जनप्रतिनिधि र कर्मचारी वडा नं. ५ को कार्यालयमा भेला भए। दुईवटा बोलेरो जीप पनि भरुवा बन्दूकजस्तै देखिने यन्त्र बोकेर त्यहीं आइपुगे। ठूलो आवाज निकालेर पड्कने त्यो यन्त्र किसानहरूलाई दिइयो। स्याङ्जा भीरकोट नगरपालिकाका भविश्वर कोइरालाले बनाएको ‘बाँदर धपाउने यन्त्र’ अर्थात् ‘मङ्की गन’ शुरूमा रु.५ लाख खर्च गरेर १०० वटा र त्यसपछि थप २५ वटा वितरण गरियो।
“शुरूमा त मंकी गनको आवाजले बाँदर भागे” दशरथचन्द नगरपालिका–५ का शिक्षक राजु लेखक भन्छन्, “केही दिनपछि डराउनै छाडे, बरु चलाउन नजानेर केही व्यक्ति घाइते भए।”
शिक्षक राजेन्द्र भट्टको अगुवाइमा बाँदर विशेषज्ञ डा. मुकेशकुमार चालिसे सहितको टोली ल्याएर मानव–बाँदर द्वन्द्वको कारण तथा व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम पनि गरियो।
मेयर पुष्करराज जोशीले बाँदर आतंक नगरपालिकाभित्रको ठूलो समस्या भएकाले विज्ञ र स्थानीय बासिन्दासँग छलफल गरेर अगाडि बढ्ने योजना सुनाए।
बाँदर लखेट्न दशरथचन्द नगरपालिका–५ को कलुवाडमा जम्मा भएका स्थानीय बासिन्दा ।
“परम्परागत बाली जोगाउन सम्भव देखिएन। अब कृषिको बजेट वैकल्पिक खेती प्रणालीमा खर्च गर्नेे सोचेका छौं”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द भन्छन्। नगरपालिकाको यो योजनामा स्थानीय युवाहरू पनि सहमत छन्। पाखो जमीनमा टिमुर, कागती, निबुवा जस्ता काँडा हुने प्रजातिका वनस्पतिको खेती गर्ने हो भने बाँदरले पनि असर नपार्ने हिम्मत चन्द बताउँछन्। चन्द भन्छन्, “नगरपालिका, कृषक र लगानीकर्ता मिलेर वैकल्पिक खेतीतर्फ लाग्ने हो भने सफल हुनसक्छ।” बाँझो खेतमा घाँस रोपेर बाख्रापालन गर्न सकिने विकल्प समेत रहेको उनको भनाइ छ।
विज्ञहरू भने बाँदर आतंक नियन्त्रण गर्न वन्यजन्तु पाल्ने स–साना चिडियाखाना बनाएर वा प्रत्येक प्रदेशमा औषधि विज्ञान प्रयोगशाला स्थापना गर्न सकिने बताउँछन्। विज्ञ डा.मुकेश चालिसे भन्छन्, “प्रत्येक प्रदेशमा एउटा औषधि विज्ञान सम्बन्धी अध्ययन गर्ने प्रयोगशाला सञ्चालन गर्ने हो भने नेपालमा भएका सबै बाँदरले पनि पुग्दैन। नभए स्थानीय तहले साना चिडियाखानामा हुलेर बाँदर पाल्न सक्छन्।”
थपखोज रिपोर्ट

सहकारी बजार विकास कार्यक्रमः एक अर्ब स्वाहा, काम भएन
तरकारीको उत्पादनदेखि बजारसम्मको नेटवर्क निर्माण गरी किसानलाई उचित मूल्य र उपभोक्तालाई सुपथ मूल्यमा तरकारी उपलब्ध गराउने भनी झण्डै एक अर्ब...
कोशी प्रदेश : नबन्ने आयोजनाका लागि करोडौंका डीपीआर
कोशी प्रदेश सरकारले करोडौं रुपैयाँ खर्च गरेर बनाएका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्यान्वयनमा जानै नसक्ने अवस्थामा छन्। कार्यकर्ता पोस्न र...
प्रतिक्रिया दिनुहोस्